अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् ।
शनिबार स्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम गाइघाटस्थित टाइम्स पोलिल्किनिकमा उपचारका क्रममा मृत्यु भएको थियो । अवैध रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालक डा. रामजीवन यादवले गलत औषधी दिँदा थापाको मृत्यु भएको उनका आफन्तको आरोप छ ।
सञ्चालक यादवलाई कारवाही गर्नुपर्ने तथा अवैध रुपमा सञ्चालित सो क्लिनिक बन्द गर्नुपर्ने माग गर्दै थापाका आफन्त आन्दोलनमा उत्रिएका छन् । क्लिनिक सञ्चालक यादवलाई कारवाही नगर्दासम्म मृतकको शव नबुझ्ने उनीहरुले अडान लिएका छन् । शनिबार दिउँसो बिरामी भएपछि थापालाई उपचारका लागि यादवको क्लिनिकमा भर्ना गरिएको थियो ।
उपचारपछि पनि थापाको अवस्था झन जटिल बनेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको जिल्ला अस्पतालमा मृत्यु भएको बिरामीका आफन्त विक्रम थापाले बताए । अवैध रुपमा सञ्चालित क्लिनिकका सञ्चालक डा. यादवको लापरवाहीका कारण ति युवतीको मृत्यु भएको उनले आरोप लगाए ।
मृतक युवतीको शव जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले अवैध रुपमा सञ्चालित डा. यादवको क्लिनिकको विषयमा छानबिन थालिएको जानकारी दिए । क्लिनिकका सञ्चालक डा. यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । हाल उक्त क्लिनिक बन्द गराइएको छ ।
प्रतिक्रिया