शुक्रबार, वैशाख ७, २०८१

लागुऔषध दुर्व्यसनलाई जित्न सफल आशाको कथा

सन्तोषी रुम्बा २०७७ कार्तिक १४ गते १४:३४

विश्वमा नै लागुऔषधको प्रयोग एक जटिल समस्या तथा चिन्ताको विषय बनेको छ । विश्वव्यापी रुपमा नै साझा समस्याको रुपमा रही आएको लागुऔषधको प्रयोग नेपालमा पनि राष्ट्रिय चुनौतीको रुपमा रहेको छ । मदिरा, सुर्तिजन्य पदार्थ, गाँजा, चरेसका साथै हेरोइन तथा अफिमलगायत अन्य विभिन्न प्रकारका लागुऔषधको प्रयोगले नेपालका युवावर्ग नराम्रोसँग प्रभावित भएको छ । जघन्य सामाजिक विकृतिको रुपमा रहेको लागुपदार्थको दुर्व्यसनले दुर्व्यसनीको मात्र अहित गर्दैन, यसले देशको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थालाई पनि नराम्रोसँग प्रभाव पार्दछ ।

विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार लागुऔषध भनेको कुनैपनि किसिमको रासायनिक पदार्थ हो जुन स्वस्थ शरीरको लागि प्रयोग गर्नु आवश्यक छैन । यसले प्रयोग गर्ने व्यक्तिको केन्द्रीय स्नायू प्रणालीमा असर गरी मानिसको बानी व्यहोरामा परिवर्तन ल्याउँछ र अन्ततः उक्त व्यक्तिलाई दुर्व्यसनी बनाउँछ । लागुऔषध ऐन, २०३३ का अनुसार लागुऔषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात र अफिम तथा कोकाको सारतत्व, मिश्रण तथा लवणसमेत मिसाई तयार गरिने कुनै पदार्थ भन्ने बुझिन्छ ।

नेपालमा लागुऔषध दुर्व्यसनको समस्या दिनानुदिन भुसको आगोझैँ फैलिरहेको छ । नेपालमा कुल जनसङ्ख्याको ४०.४ प्रतिशत युवा (१ करोड ७ लाख) छन् । झण्डै आधा जनसङ्ख्या युवा रहेको मुलुकमा बढ्दै गइरहेको बेरोजगारीको समस्याले उनीहरूलाई प्रभाव पारेको त छ नै, यसबाहेक लागुपदार्थ दुर्व्यसनीमा फस्ने युवाको संख्यामा भइरहेको वृद्धिले मुलुकको भविष्य नै अन्धकारमा पार्ने सम्भावना पनि रहन्छ । वि.सं. २०६३ मा गरेको सर्वेक्षण अनुसार नेपालमा ४६,३०९ लागुऔषध दुर्व्यसनी रहेको थियो भने वि.सं. २०६९ मा गरेको सर्वेक्षणले यो सङ्ख्या बढेर ९१,५३४ पुगेको देखाएको छ । यसले ६ वर्षभित्रमा दुर्व्यसनीको सङ्ख्यामा ९८ प्रतिशत वृद्धि भएको देखाउँछ भने वार्षिक रुपमा ११.४ प्रतिशतले बढिरहेको देखिन्छ । महिला र पुरुष दुर्व्यसनी सङ्ख्याको तुलना गरी हेर्दा ८५ हजार २०४ जना (९३.१%) पुरुष दुर्व्यसनी छन् भने ६ हजार ३३० जना (६.९%) महिला रहेका छन् । उमेरका हिसाबले हेर्दा २०–२४ वर्ष उमेर समूहका सबैभन्दा बढी (३३.२%) दुर्व्यसनी छन् भने दोस्रोमा २५–२९ उमेर समूह (२२.४%) र तेस्रो बढीमा १५–१९ वर्षको उमेर समूह पर्दछ, जुन समूहमा १९.९ प्रतिशत दुर्व्यसनी पर्दछन् । (स्रोत : Survey Report on Current Hard Drun Users in Nepal – 2069.)

विशेष गरी दुर्व्यसनबाट युवा किशोर किशोरी तथा स्कुले बालबालिका बढी प्रभावित हुन पुगेका छन् । देशका कर्णधार युवायुतीहरू लागुऔषध जुटाउनको लागि चोरी, डकैती, लुटपाट, हत्या बलात्कारतर्फ उन्मुख हुँदै गएका छन् । अर्कोतर्फ लागुपदार्थ प्रयोगकर्ताहरूको स्वास्थ्य कमजोर हुदै जाने भएकाले यसबाट व्यक्ति, परिवार, समाज तथा राष्ट्रलाई नै ठूलो क्षती पुर्याएको छ ।

पारिवारिक वातावरण राम्रो नहुनु पनि लागुपदार्थ दुर्व्यसन समस्या बढ्नुको प्रमुख कारण हो । परिवारका सदस्यहरूबीच झैझगडा, कलह निरन्तर हुने गरेमा त्यो परिवारका बालबालिका र किशोरकिशोरीमा मानसिक असर पर्दछ । परिवारका अभिभावकहरूले आफ्ना छोराछोरीलाई पर्याप्त समय दिन नसक्दा, उनीहरूलाई अनावश्यक रुपमा गालीगलोज र कुटपिट गर्दा उनीहरूमा चिन्ता र नैराश्यता बढ्दछ । यस्तो अवस्थामा उनीहरू गलत व्यक्तिको प्रभावमा परी लागुपदार्थको प्रयोग गर्न पुग्छन् । यसको अन्य कारणमा गलत साथीसंगत र चेतनाको कमी पनि पर्दछ । त्यस्तै, युवाहरूमा आफुले सोचेअनुरुप सफलता हासिल हुन नसक्दा वा कुनै नजिकका मित्र तथा प्रेमी (वा प्रेमीका)सँगको विछोड आदि जस्ता कारणले पनि उनीहरू लागुऔषध दुर्व्यसनीको संगतमा पुग्न सक्छन् । समाजमा विद्यमान असमान व्यवहार, भेदभाव र गरिबी तथा अभावले पनि यो समस्या बढाउन भूमिका खेलेको देखिन्छ । लागुपदार्थको ओसार–पसार तथा बेचविखन जस्ता निकृष्ट कार्य गर्नेहरूको सञ्जाल पत्ता लगाउन नसक्नु वा पत्ता लागे तापनि उनीहरूलाई कानुनी कार्यवाही नहुँदा दुर्व्यसनीहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

जिज्ञासु स्वभावका कारण लागु पदार्थको कुलतमा किशोरकिशोरी सहजै फँस्न सक्छन् । फसिसकेपछि उनीहरूलाई त्यो जालोबाट मुक्त गराउन अत्यन्तै कठीन हुन्छ । माथि भनिएझैँ यसले मानिसको केन्द्रीय स्नायू प्रणालीमा नै प्रभाव पार्ने हुँदा यसको लत लागेपछि यसबाट मुक्त हुन कठीन हुन्छ । तर, मानिसले चाहेमा असम्भव केही पनि छैन । दुर्व्यसनबाट मुक्त हुन्छु भन्ने उसको दृढ अठोट र उसका परिवार तथा साथीभाइको सहयोग भएमा दुर्व्यसनबाट मुक्त गराउन सकिन्छ । त्यस्तै दृढ अठोट लिएर कुलतबाट निस्किन सफल एकजना युवतीको जीवनमा आधारित घटना यहाँ प्रस्तुत गरिएको छ ।

घटना मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका बस्ने आशा विश्वकर्माको (सूचनादाताको अनुरोधमा नाम परिवर्तन गरिएको छ) हो । गलत साथीहरूको संगतको कारण कथा ६ मा अध्ययनरत हुँदा नै लागुपदार्थको दुर्व्यसनमा फँस्न पुगेकी थिईन् आशा । त्यतिबेला उनको उमेर १३ वर्ष मात्र थियो । एकदिन सँगै बेन्चमा बस्ने अत्यन्तै मिल्ने साथीले ‘चुरोट खाउ’ भनेर आग्रह गरिन् । आशाले पहिलो आग्रह त तत्कालै अस्विकार गरिन् । तर, साथीले गरेको पटकपटकको जिद्धि र किशोरीमनमा जागेको ‘एकपटक खाइहेरौँ न त’ भन्ने जिज्ञासाले अन्ततः उनलाई चुरोटको अम्मली बनाइदियो । आर्थिक हिसाबले निम्नवर्गीय परिवारमा जन्मेकी आशाको घरमा आमा, दुई दिदी र एकजना भाई छन् । हाँस्ने खेल्ने कलिलो उमेरमा साथीको लहलहैले उनलाई दुर्व्यसनीको बाटोमा डोर्याएको थियो । लगभग २ वर्षसम्म त उनको दुर्व्यसनबारे कसैले थाहा पाएनन् । कक्षा ८ भन्दा माथिको अध्ययनको लागि नयाँ स्कुलमा भर्ना भएपछि उनको दुव्यर्सनबारे साथीहरूले थाहा पाएर घरमा भनिदिएपछि आमाबाट गालि मात्र होईन पिटाइ पनि खानुपर्यो । त्यसपछि त तनावका कारण उनको दुर्व्यसन गर्ने मात्रा झनै बढ्न थाल्यो । घरमा आर्थिक अभाव थियो । मजदुरी गर्ने आमा शान्ता विश्कर्माले घर धानेकी थिईन् । चुरोटबाट सुरु गरेको उनको दुर्व्यसनको यात्रा गाँजासम्म पुगिसकेको थियो । नियमित गाँजा खान पैसा नपुग्दा घरबाट पैसा चोर्न थालेकी थिइन् । आशाको बालापन गाँजा र चुरोटको दुर्व्यसनले सकाईरहेको थियो । मनमा अनेकथरी नकारात्मक भाव आईरहन्थ्यो । धेरैपटक ‘मर्न पाए पनि हुने’ भन्ने पनि लाग्यो र दुई/तिन पटक त आत्महत्या गर्नेबारे सोँचेकी पनि थिइन् ।

त्यहीबेला उनको टोलमा सडक बालबालिकाका सवालमा कार्यरत सिविन संस्थाको ‘बाल हेल्पलाईन’ कार्यक्रममार्फत् किशोरी समूह गठन भयो र संयोगवश आशा पनि उक्त समूहको सदस्य बन्न पुगिन् । त्यही समूहको सदस्य बन्नु आशाको जीवनमा एक महत्वपूर्ण घुम्ती सावित हुन पुग्यो । दुव्र्यसनीको कुलतबाट छुट्न सिविन संस्थाको बाल हेल्पलाईनमा २ महिना बसिन् । बाल हेल्पलाईनमा बस्दा दिन कटाउन सहज थिएन । लामो समयसम्म चुरोट, गाँजा खाने बानी परेको उनलाई खान नपाउँदा बिरामी जस्तै हुन्थिन् । उनलाई कहिले ज्वरो आएको जस्तो तातो त कहिले जीउ बरफमा राखेको जस्तो चीसो भएझैँ लाग्थ्यो । हेल्पलाईनमा बस्दा ‘अब म फेरी खान्छु’ भन्ने कुरा पनि पटकपटक दिमागमा आएको थियो । तर, त्यति नै बेला कुलतमा लाग्दा आमा रुनु भएको अनुहार, कुलतमा फँस्दा साथीभाई र छिमेकीबाट भएको दुर्व्यवहारको सम्झना आउँथ्यो । सिविन संस्थाका सर र मिसहरूले गर्नुभएको माया र उहाँहरूको ‘कुरा बुझाउने तरिका’ले आशाको मन फेरियो र उनलाई पुनः दुर्व्यसनीको बाटोमा जानबाट रोक्यो । दुई महिना हेटौँडाको सिविन संस्थामा र ३ महिना काठमाडौंको बालिका ‘पीसहोम’मा बसेपछि आशाको जीवनमा ठूलो परिवर्तन आयो । काठमाडौंको पीसहोममा बस्दा त्यहाँ आमाबुबा नभएका गरिब परिवारका बालिकाहरू पनि भेटिए । त्यहाँ बस्दा उनलाई ‘समस्या सबैको परिवारमा हुनेरहेछ’ भन्ने महसुस भयो । त्यहाँ रहेका अन्य बालिकाको तुलनामा आफ्नो समस्या त केही पनि होइन रहेछ भन्ने लाग्यो र ‘लागुऔषधको सेवन नै चिन्ता हटाउने माध्यम होईन रहेछ’ भन्ने बुझिन् ।

जीवनको महत्वपूर्ण ४ वर्ष लागुपदार्थ दुर्व्यसनमा परेको आशा अहिले १७ वर्षकी भईन् । पिस होममा बसेर फर्कींदा आशाले दुर्व्यसनलाई पछाडि छाडिसकेकि थिईन् । आशा अहिले आफू सदस्य भएको किशोरी समूहको जिम्मेवार पदमा रही अरु साथीलाई दुर्व्यसनीमा फँस्न हुन्न भन्ने कुरा सिकाईरहेकी छिन् । समूहमार्फत् लागुपदार्थ दुर्व्यसन, बालविवाह तथा महिला हिंसा विरुद्ध चेतनामुलक नाटकहरू गर्नु र यसबारे सिकाउनु नै उनको मुख्य दिनचर्या बनेको छ । कुलतमा लागे पनि पढ्न नछाडेकी आशा अहिले एक उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा कानुन विषय अध्ययनरत छन् । उनको लक्ष्य भनेको असल मान्छे बनेर आफ्नो आमा र परिवारलाई खुसी बनाउदै दुर्व्यसनमा नलाग्न सबै किशोरकिशोरीलाई प्रेरणा दिनु रहेको छ । दुर्व्यसनको लतबाट निस्किँदा आशाको आमा र सिविनका सहजकर्ताहरू सबैभन्दा खुसी भएका छन् । आशा भन्छिन्, “परिवारको माया र सिविन संस्थाको सहयोग नभएको भए कुलतले मेरो जीवन कस्तो हुन्थ्यो होला, अहिले त सोँच्दा पनि मन आत्तिएर आउँछ । जे होस् म दुव्र्यसनको दलदलबाट उम्किन सकेँ, अब मेरो बाँकि जीवन अरुको भलाईको लागि बिताउन चाहन्छु । वास्तवमा नै मैले नयाँ जीवन पाएकि छु । यसको लागि म ‘सिविन हेल्पलाईन’ र ‘काठमाडौं पिस होम’लाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । यी दुई संस्था नभएको भए म अझै दुर्व्यसनी भएर नारकीय जीवन बाँचिरहेकी हुन्थेँ होला ।”

आशा जस्तो दुर्व्यसनमा फँसेकाहरू नेपालमा हज्जारौँ छन् । आशा त एक प्रतिनिधि पात्र मात्र हुन् । परिवारको लागि आर्थिक जोहो गर्न अभिभावकहरू व्यस्त हुनुपर्ने स्थिति छ । किशोरकिशोरीहरूको मनमा कौतुहलता हुन्छ । उनीहरू नयाँनयाँ कुराहरूको प्रयोग गर्न चाहन्छन् । उनीहरूलाई साथीसंगतको दवाव हुन्छ । विद्यालयमा पठनपाठन बाहेक विद्यार्थीहरूले के गरिरहेका छन्, उनीहरूबीच कस्तो नकारात्मक प्रतिष्पर्धा चलिरहेको छ भन्नेबारे सोधखोज गर्ने व्यवस्था छैन । त्यसमाथि किशोरकिशोरीलाई कुलतमा फँसाउने गिरोह सँधै सक्रिय भइरहेको हुन्छ । उनीहरू जसरी पनि लागुऔषधको व्यापारबाट नाफा कमाउन चाहन्छन् । त्यस्ता गिरोहहरूलाई नियन्त्रण गर्न प्रशाशन जति सक्रिय हुनुपर्ने हो त्यति हुन सकेको छैन । दुर्व्यसनमा फँसेका किशोरकिशोरीलाई दण्डसजायँ होइन, उनीहरूलाई त माया, सद्भाव र परामर्शको आवश्यकता पर्दछ । अभिभावकले आफ्ना छोराछोरीहरूलाई समय दिनुपर्छ, उनीहरूको कुरा सुन्नुपर्छ, उनीहरूको मनका भावनाहरू बुझ्न सक्नुपर्छ । विद्यालय तहमा हुने लागुऔषधको कूव्यापार र यस्ता व्यापारमा सङ्लग्न गिरोहहरूबारे विद्यार्थीहरूलाई सचेत बनाउनु पर्दछ । र, लागुऔषधको वसारपसारसम्बन्धी कडाभन्दा कडा कानुन ल्याई त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्दछ । हैनभने लागुऔषधको दुर्व्यसनमा फँस्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै जानेछ । यसले सभ्य, सुसंस्कृत र खुसी समाज निर्माण गर्न सक्दैन । यसबारे सम्बन्धित निकाय सचेत हुनैपर्छ ।

लेखिका मकवानपुर वहुमुखी क्याम्पस, हेटौडामा समाजसाश्त्र विषयमा अध्ययनरत विद्यार्थी हुन्

प्रतिक्रिया