मंगलबार, वैशाख ११, २०८१

भारतीयलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष रिहा

नेपालखोज २०७७ कार्तिक १८ गते १६:४१

गोदावरी । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन् । वंशजका आधारमा भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिएको आरोपमा पक्राउ परेका वडाध्यक्ष जोशी रु २५ हजार धरौटी बुझाएर छुटेका हुन् । जिल्ला अदालत कैलालीमा सोमबार भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी रु २५ हजार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

जोशीले धनगढी उपमहानगरपालिका–१२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुबा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । प्रहरीले जोशीलाई नागरिकता ऐन, २०६३ बमोजिम कारबाही गर्न राय दिएको थियो ।

नक्कली विवरण बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेका रु ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जनाइएको छ ।

प्रतिक्रिया