बुधबार, चैत १५, २०७९

भारतका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आगमन

नेपालखोज २०७७ कार्तिक १९ गते १४:४३

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा आज बधुबार काठमाडौं आईपुगेका छन् । सैनिक जन सम्पर्क निर्देशनालयका अनुसार उनको साथमा उनकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी वाईभ्स वेलफेयर एसोसिएसन (आवा) की अध्यक्ष श्रीमती विना नरवणे पनि आएकी छन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रभुराम शर्मा र श्रीमती सुनिता शर्माले स्वागत गरेको निर्देशनालयले जनाएको छ ।

तीन दिवसीय भ्रमणको क्रममा जनरल नरवणेलाई कार्तिक २० गते (तदनुसार ५ नोभेम्बर २०२०) राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जानकारी पनि निर्देशनालयले दिएको छ ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं वृहत्तर पार्न थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया