शनिबार, वैशाख ८, २०८१

जलन व्यवस्थापनमा वारुणयन्त्रको भूमिका : एक सङ्क्षिप्त विवेचना

पुण्यश्वरी सुवाल २०७७ कार्तिक १९ गते १९:३४

ऐतिहासिक पृष्ठभूमि
अग्नि नियन्त्रणका लागि नेपालमा सर्वप्रथम वि.सं. १९९४ साल भाद्र महिनामा जुद्ध वारुणयन्त्रको स्थापना भएको थियो । संस्थाको नामैबाट प्रष्ट हुन्छ कि यस संस्थाको स्थापना तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले गरेका थिए । वि.सं. १९९० सालको महाभूकम्पका कारण दरबारमा ठुलो आगलागी भएको र त्यस आगलागी नियन्त्रण गर्न निकै कठिनाई भई अत्यधिक क्षति वेहोर्नु परेको घटनाबाट प्रभावित तत्कालिन श्री ३ जुद्धशमशेर राणाले बेलायत भम्रणका बेला वारुण यन्त्रको सेवा देखेर त्यसको महत्व महसुस हुँदा फर्केर आएपछि नेपालमा पनि अग्नि नियन्त्रण सेवा उपलब्ध गराउन बेलायतबाट दमकल झिकाई यस सेवाको सुरुवात गरेको कुरा बताउँछन् बिज्ञहरू । त्यतिबेलाको दमकल हालको जस्तो सुविधासम्पन्न नभई पानीतान्ने पम्पजडित ‘ट्रेलर पम्प’ यन्त्र थियो । भिमफेदीबाट मानिसले बोकेर काठमाडौं ल्याएको सो यन्त्र नै नेपालको पहिलो वारुण यन्त्र भएको बताउँछन् भक्तपुर वारुणयन्त्र कार्यालयका अग्नि नियन्त्रक तथा सूचना अधिकारी श्री विजय प्रसाद धौवडेल । सोही वारुण यन्त्रबाट काठमाडौंको बसन्तपुर केन्द्रले वि.सं. १९९४ मा सुरु गरेको अग्नि नियन्त्रण सेवा भक्तपुर र ललितपुरमा भने २००१ सालमा एकैसाथ सुरु भएको थियो ।

टेलिफोन सेवा उपलब्ध नभएको त्यस वखतमा आगलागीको खबर कसरी पाइन्थ्यो होला भन्ने जिज्ञासामा काठमाडौं वारुण यन्त्र कार्यालयका प्रमुख श्री लीलाराज थापामगर भन्नुहुन्छ, “उतिबेलाका अग्नि नियन्त्रकहरू काठमाडौं वारुणयन्त्र कार्यालयमा अवस्थित अग्लो टावरमा ‘ड्युटी’ गर्नुहुन्थ्यो र कतैबाट धुवाँको मुस्लो देखियो भने आगलागी भएछ भन्ने बुझेर चारपाँच जना मान्छेहरूले तानेर ट्रेलर पम्पलाई आगलागी भएको ठाउँमा लगिन्थ्यो र नजिकैको पोखरीबाट पानी तानेर आगो नियन्त्रण गरिन्थ्यो । त्यसवखत प्राय बस्तीहरूको नजिकै पोखरीहरू बनाइएका हुन्थे र आगलागनी नियन्त्रण गर्न सजिलो हुन्थ्यो । तर, अहिले त धेरै पोखरी पुरिएका छन् भने केही पोखरी सुकिसकेका छन् । साथै, उतिबेला काठमाडौंमा ‘हाईड्रेन्ट लाईन’को व्यवस्था गरी चौबिसै घण्टा जमिन मुनिबाट ‘प्रेसराइज्ड् पानी’ उपलब्ध हुने व्यवस्था मिलाएको हुन्थ्यो । काठमाडौं वारुण यन्त्र कार्यालयका प्रमुख श्री लीलाराज थापामगर भन्नुहुन्छ, “हाल ती ‘हाईड्रेन्ट लाईन’का धाराहरू कुनै पनि सञ्चालनमा छैनन्, तर त्यसलाई फेरी सञ्चालनमा ल्याउनु पर्छ” ।

अहिले वारुण यन्त्रका सम्बन्धमा पनि प्रविधिका कारण ठुलो परिवर्तन आईसकेको छ । नेपालमा पनि आधुनिक वारुणयन्त्र भित्री सकेको छ । तापनि पानीको कमीले गर्दा काठमाडौं उपत्यकामा ठुलाखाले आगलागी हुँदा समस्या हुने गरेको छ । वारुण यन्त्र सेवा मूलतः काठमाडौं र ठुला शहरहरूमा मात्र केन्द्रित छ । यो सेवा अन्य स्थानमा सेवा विस्तार गर्न नेपाल सरकारको ध्यान नपुगेको देखिन्छ । स्थापना कालको ८२ वर्षपछि भर्खरै २०७६ साल मंसिर २९ गतेबाट काठमाडौं वारुणयन्त्र कार्यालयले काठमाडौ महानगरपालिका वडा–६, रामहिटीमा नयाँ केन्द्र स्थापना गरी सेवा विस्तार गरेको छ । अन्तराष्ट्रिय मापदण्डअनुसार प्रत्येक ५०,००० मानिसका लागि एक वारुण यन्त्र सेवाकेन्द्र हुनुपर्नेमा नेपालमा भने घनाबस्ती भएको काठमाडौं, ललितपुर र भक्तपुर जस्ता शहरहरूमा पनि एकै केन्द्रले सेवा पु¥याउनु पर्ने स्थिति छ । आगलागी नियन्त्रण जस्तो अति सम्वेदनशील र अत्यावश्यक सेवाको व्यवस्थित रुपमा विस्तार गर्नुका साथै वैज्ञानिक तरिकाले परिचालन गर्नुपर्ने देखिन्छ ।

स्थानीय सरकारले यस विषयमा चासो राखी विभिन्न ठाउँमा यस सेवाको विस्तार पनि हुन थालेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका तीनैवटा कार्यालयले विभिन्न स्थानीय निकायहरूलाई अग्नि नियन्त्रण सेवा सुरु गर्न आवश्यक तालिम प्रदान गर्ने र अन्य प्राविधिक सहयोग गर्ने गरेका छन् । हालको अवस्थामा काठमाडौं उपत्यकामा नेपाली सेना र नेपाल प्रहरीसँग पनि वारुण यन्त्र रहेकोले ठुलो आगलागी हुँदा ती केन्द्रहरूको समेत सहयोग लिई जुद्घ वारुण यन्त्रको चारवटै केन्द्रले आगो नियन्त्रण गर्ने गरेका छन् । जुद्घ वारुण यन्त्रले दमकल, अग्नि नियन्त्रण मोटरवाइक, भ¥याङ र हरूमार्फत् आवश्यकता अनुसारका सेवा उपलब्ध गराईरहेको छ ।

आगलागी घटनाको आँकडा
नेपालमा हालसम्म जलन रोकथाम तथा आगलागी नियन्त्रणसम्बन्धी कुनै छुट्टै नीती छैन र यसको लागि सरकारी संयन्त्रहरू प्रभावकारी रुपमा सञ्चालनमा भएको पनि छैनभन्दा फरक नपर्ला । आगलागी भईहालेमा वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइन्छ । यस्ता घटनाहरूमा मानवीय क्षती समेत भएका कयौं उदाहरणहरू नभएका होइनन्, तर यस्ता घटनाहरूको लेखाजोखा गरी तथ्याङ् राख्ने छुट्टै निकाय नभएकाले होला, वारुणयन्त्रले सेवा पु¥याएको घटनाहरूको मात्र आंकडा उपलब्ध छ । कतिपय घटना त जुद्घ वारुण यन्त्र कार्यालयको सम्पर्कमै नआइकन समाधान हुन्छन् । यी घटनाहरूसम्बन्धी विवरण कतै अभिलेखन हुँदैनन् । काठमाडौं जिल्लामा प्रत्येक वर्ष ३५० देखि ४०० वटा साना–ठुला आगलागीका घटना हुने कुरा वारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख बताउँछन् । त्यसैगरी ललितपुरका अग्नि नियन्त्रक श्री राजकुमार ठकुरीका अनुसार ललितपुरमा वर्षमा करीव १५० वटा जति आगलागीका घटना भएको पाइएको छ । ललितपुर जिल्लामा यो वर्ष श्रावणदेखि पुष महिनासम्ममा ५० वटा आगलागीका घटनाहरू भईसकेका छन् । जुद्घ वारुण यन्त्र कार्यालय भक्तपुरको तथ्याङ्कअनुसार वार्षिक करीव १६० देखि १७५ वटा घटनाहरूमा अग्नि नियन्त्रण सेवा पु¥याइएको देखिन्छ ।

आगलागीको कारण र परिणाम
तीनवटै कार्यालयका अग्नि नियन्त्रकहरूका अनुसार नेपालमा लगभग सबैजसो आगलागीका घटनाहरू दुर्घटनावस हुने गरेको देखिन्छ । तिनको अनुभवमा मानिसहरूको सानो हेलचेक्य्राई वा वेवास्ता र गैरजिम्मेवारीपूर्ण कामले गर्दा आगलागीको घटना घट्ने गरेका छन् । जस्तैः अव्यवस्थित विद्युतिय हाईटेन्सन लाईन, अव्यवस्थित विद्युतिय सर्किटहरू, घरमा प्रयोग गरिने विद्युतिय उपकरणहरूको सही व्यवस्थापन हुन नसक्नु, विद्युतीय उपकरणहरूको असावधानीपूर्ण प्रयोग, ग्याँस सिलीन्डरमा सुरक्षित रेगुलेटरको प्रयोग नहुनु, आदी कारणहरूले गर्दा ठुला–ठुला आगलागीको घटना भएको पाइएको छ । ग्रामीण परिवेशमा अन्य कारण हुनसक्छन्, तर शहरी क्षेत्रमा भएका घटनाहरू हेर्दा सबैभन्दा बढी आगलागीका घटनाहरू विद्युतिय सर्किटहरू पड्केर या त ‘सर्ट्’ भएर आगजनी भएको देखिन्छ । दोस्रो कारणमा ग्याँसको सिलिन्डर पड्केर या ग्याँस चुहिएर आगलागीको घटना भएका छन् । आगलागीबाट भौतिक र आर्थिक क्षति मात्र नभई मानवीय क्षति पनि हुनेहुँदा यस्ता घटनाहरूलाई न्यूनिकरण गर्ने मात्र नभई पूर्ण रुपमा नै रोकथाम गर्नु पर्दछ । आजभन्दा करीव दश वर्षअघि धुलिखेलको पुरानो बजारमा भएको आगलागीले सातआठ घरसहित ठुलो धनराशी नष्ट गरेको थियो । त्यस्तै २०७३ सालमा भक्तपुरस्थित यति–कार्पेटको कारखानामा भएको आगलागीलाई पूर्ण रुपमा नियन्त्रण गर्न झण्डै एकहप्ता लागेको थियो । त्यस्तै, करिव २३ घण्टा लगाएर नियन्त्रणमा लिएको पाटन औद्योगिक क्षेत्रको आगलागीले ठुलो धनराशी नष्ट गरेको थियो । केही वर्षअघि मात्र काठमाडौं, वडा नं २५ स्थित केलटोलमा आगलागी हुँदा उक्त स्थानमा दमकल जान सक्ने स्थिति थिएन । असजिलो साँघुरो गल्ली भएकोले उद्दार कार्य सम्भव भएन । काठमाडौंको साँघुरा गल्लीहरू अग्नि नियन्त्रणको लागि सबैभन्दा ठुलो बाधा रहेको कुरा अग्नि नियन्त्रण शाखा प्रमुख बताउँछन् ।

वारुणयन्त्रको परिचालन प्रक्रिया
टेलीफोन सेवाअन्तर्गत् ‘१०१’ कोडमा फोन गरी जुद्घ वारुण यन्त्रको सेवा लिन सकिन्छ । यसका साथै हटलाइनको फोन नम्बरहरू (भक्तपुरका लागी ६६१००४९, ललितपुरका लागी ५५२११११ र काठमाडौं ४२२७२१५) मार्फत् पनि अग्नि नियन्त्रण सेवाको लागी सम्पर्क गर्न सकिन्छ । तर जनसमुदायमा जानकारीको कमीका कारण घटनाको सूचना सम्बन्धित निकार्यमा पुग्नमा ढिलाई हुनगई आगोले ठुलो रुप लिईसकेको हुन्छ । कहिले काहिँ त १०१ मा फोन गर्नुपर्नेमा १०० मा डायल गर्नाले फोन प्रहरीकोमा पुग्ने र प्रहरीमार्फत् खबर पुग्दा अग्नि नियन्त्रक टोली घटनास्थल पुग्न ढिलो हुन्छ । त्यसैगरी मोबाइलबाट १०१ मा फोन गर्दा सिधै काठमाडौंको कार्यालयमा पुग्ने हुँदा भक्तपुर र ललितपुरमा भएको आगलागीको खबर काठमाडौं कार्यालयले दिनुपर्ने हुन्छ, जसको कारण सेवा पु¥याउन ढिलाई हुने गर्दछ । अतः जनसमुदायले ध्यानपूर्वक बुझिदिनु प¥यो कि आगलागी हुनेवित्तिकै यथाशिघ्र १०१ वा सोझै ६६१००४९ भक्तपुर, ५५२११११ ललितपुर र ४२२७२१५ मा फोन गरेर आगलागीको अवस्थाबारे वारुण यन्त्र कार्यालयलाई खबर गर्नु पर्दछ ।

खबर पाएलगत्तै वारुण यन्त्र कार्यालयमा अग्नि नियन्त्रकहरूलाई तयार हुनका लागि आपतकालीन घण्टी (साइरन) बजाइन्छ र घटनास्थलको पहिचान पक्कागरी लगभग दुई मिनेटभित्र अग्नि नियन्त्रण टोली प्रस्थान गर्दछ । अग्नि नियन्त्रण टोलीका साथमा घटनास्थलको अवस्था हेरी दमकल, फाइर बाइक, रेस्क्यु भ्यान र भ¥याङ लगिन्छ । घटनास्थल र आगलागीको प्रकृती हेरी दोस्रो टोली तयारी अवस्थामा रहको हुन्छ भने तेस्रो टोली समेत सचेत अवस्थामा रहन्छ । त्यतिले पनि नभ्याउने अवस्थामा अर्को कार्यालयको समेत सहयोग मागी वारुण यन्त्रको व्यवस्थापन गरिन्छ । पानीको व्यवस्थापनका लागी वारुण यन्त्र कार्यालयहरूले आफ्नै कार्यालयभित्र ३२,००० लिटरसम्मको पानी ट्याङ्कीको व्यवस्था गरेको हुन्छ । सबै किसिमका आगोको नियन्त्रण पानीले नहुने हुँदा आगलागीको स्वरुप हेरी नियन्त्रणको तरिका निर्धारण गरिन्छ । रसायनका कारण आगलागी भएको छ भने पानीले नभई अन्य रसायन (फोम) बनाएर मात्र आगोको नियन्त्रण गरिन्छ । त्यसैले आगलागीबारे खबर दिँदा आगलागीको कारण र त्यसको स्वरुपबारे विस्तृत रुपमा बताउनु पर्दछ ।

प्रभावकारी उपयोगको लागि सुझाव
वारुण यन्त्र सेवाको प्रभावकारी उपयोगको लागि के सुझाव दिनुहुन्छ भने प्रश्नमा, काठमाडौं वारुण यन्त्र कार्यालयका प्रमुख श्री थापा मगर भन्नुहुन्छ, “कुनैपनि आगलागीले सुरुको अवस्थामा ठुलो रुप नलिँदै सेवा पुर्याउन सकियो भने आगलागी नियन्त्रणको काम सजिलो हुनुका साथै त्यसबाट हुने क्षतिलाई पनि कम गर्न सकिन्छ । वारुण यन्त्रको सेवा स्टेशन अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्छ । हाल काठमाडौं महानगरपालिकामा भएका दुई स्टेशन यसै क्षेत्रको लागि त अपुग छ भने अझ वरिपरिका क्षेत्रमा समेत सेवा पुर्याउनु पर्दा प्रभावकारी हुन सक्दैन । सम्पूर्ण स्थानीय सरकार र अन्य सरोकारवाला निकाय पनि यस विषयमा सम्वेदनशील हुनुपर्छ । काठमाडौं र वरपरका साँघुरो गल्लीबाटोलाई फराकिलो बनाउनु पर्दछ भने टोल–टोलमा सानै भए पनि पोखरी बनाउनु उपयुक्त हुन्छ ।”

त्यसैगरी, ललितपुरका अग्नि नियन्त्रक श्री राजकुमार ठकुरी भन्नुहुन्छ, “स्थानीय सरकारले दमकल र एम्बुलेन्स पनि नछिर्ने बाटोमा घर बनाउन स्विकृती दिनु हुँदैन । स्थानीय सरकारले समुदायलाई आगलागीसम्बन्धी जनचेतना जगाउनु पर्दछ । बिजुलीका तारहरू सुरक्षित राख्ने, हाइटेशन लाइनको निरन्तर मर्मत सम्भार गर्ने, ग्याँसको सिलिन्डरको सही र सुरक्षित प्रयोग गर्न जनसमुदायलाई सिकाउने हो भने घरायसी तहमा हुने जुनै पनि आगलागीको घटनालाई रोक्न सकिन्छ” । त्यति मात्र नभई उद्योग तथा कल–कारखानाहरूमा आगजनी हुन नदिन सुरक्षकाका उपायहरू अपनाउने हो भने ठुला आगलागीका घटनाहरू निर्मूल गर्न सकिन्छ । आगो लागी हालेमा तुरुन्त नियन्त्रण गर्न ‘एक घर एक फायर एक्सटिङ्गुइसर’ (आगो निभाउने साधन) को व्यवस्था गर्नु पर्दछ ।

जुद्घ वारुण यन्त्र भक्तपुरका अग्नि नियन्त्रक तथा सूचना अधिकारी वारुण यन्त्र सेवाको प्रभावकारी उपयोगको लागि जनसमुदायलाई “१०१” र ६६१००४९ हटलाइनको सही प्रयोग गर्न सिकाउनु पर्ने बताउनु हुन्छ । अति नै आपतकालीन सेवाको रुपमा रहेको यस अग्नि नियन्त्रण सेवाको सम्वेदनशीलताको समेत ख्याल नराखी जुद्घ वारुण यन्त्र कार्यालयमा कहिलेकाहिँ झुठो खबर पनि आउने गर्दछ । खबरलाई विश्वास गरी जाँदा कतिपटक घुमेको घुमै फर्किनु परेको अनुभव पनि छन् अग्नि नियन्त्रण टोलीसँग । आगलागीले विपद् मात्रै निम्त्याउँछ । त्यसकारण आगोको महत्व बुझौँ र आगलागीबाट बचौं–बचाऔं ।

सगुन नेपाल र क्ष्लतभचदगचलक द्वारा संयुक्त रुपमा सञ्चालित जलन रोकथाम अभियानका क्रममा
यस लेख तयार पारिएको हो । यस लेखका लेखिका लेखक पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध
नेपाल स्वास्थ्य अध्ययन संस्थानमा प्राध्यापन गर्नुहुन्छ

प्रतिक्रिया