शुक्रबार, वैशाख १४, २०८१

रुघाखोकी, कोरोना संक्रमण र मानवता हराउँदै गएको समाज

सुवाश शर्मा २०७७ कार्तिक २० गते १४:५२

चीनको वुहानबाट शुरु भएको कोभिड–१९ कोरोना भाईरसले विश्व आतंकित बनाएको करीव एक वर्ष नजिक पुग्न लागिसकेको छ । तर, नेपालमा यसको प्रभाव हेर्ने हो भने शारीरिक अस्वस्थता भन्दा मानिसक अस्वस्थताले मानिसलाई गाँजेको छ ।

यतिखेर नेपालको सन्दर्भमा भन्ने हो भने गर्मीबाट चिसो मौसम शुरु हुने बेला हो । तर, यो बेला अधिकांश मानिसमा रुघाखोकीले सताउने मौसम भएता पनि नेपाली समाजले कोरोनाको निहुँमा मानिसहरुलाई मानवीय व्यवहार नै गर्न छाडिसकेको देखिन्छ ।

अहिले छिमेकमा कोही रुघाखोकी लागेको व्यक्ति देखियो भने त्यसलाई सकारात्मक दृष्टिकोणले हेर्न छाडेका छन् । अझ घरभाडामा बस्ने मानिस छ भने त घरबेटीले तत्काल उपचार गर्न जान दवाव दिने, कोरोना भएको भन्दै अस्पताल गएर बस्न धम्की दिने जस्ता समस्या शुरु भएको देखिन्छ ।

रुघाखोकी लाग्नु भनेको वा कोरोना संक्रमण देखिनु भनेको ठूलो पाप गरे जस्तै गरिरहेको छ आजको समाजले । पहिले कुष्ठरोग लागेका व्यक्तिहरुलाई छिछि र दुरदुर गरेजस्तै कोरोना होस् नहोस् रुघाखोकीकै भरमा मानिसलाई मानसिक तनाव दिने समाज मौलाउँदै गएको छ ।

यसले विगतको नेपाली समाज र अहिलेको नेपाली समाजमा धेरै नै परिवर्तन गराईदिएको छ । लाग्छ यतिखेर नेपाली समाजमा मानवता हराउँदै गएको छ । हुनपनि कोरोनाले यस्तो त्रासदी वातावरण बनाईदिएको छ कि मानवलाई पशुपन्छीभन्दा पर पु¥याईदिएको देखिन्छ । कोरोना एक किसिमको भाईरस भएपनि यसलाई यसरी प्रचारप्रसार गरियो कि कोरोना संक्रमण देखियो भने मान्छे मरि नै हाल्छ । कोही व्यक्तिले छुन पनि हुँदैन । अनेक रोगले मरेका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि गरिँदिँदा आफ्नो परम्परा र संस्कृति विपरित दाहसंस्कार गर्न मृतकका परिवार वाध्य भएका छन् ।

पाँच बर्ष अघिदेखि मृगौलाले काम नगरेको, मुटुको रोगका कारण मृत्यु भएको व्यक्तिलाई पनि कोरोना पुष्टि गरिदिने संस्कार बसिसकेको विगतले प्रष्ट पारेको छ ।

नेपालमा कोरोना संक्रमण न्यूनिकरण गर्नका लागि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेको करीव ८ महिना वितिसक्दा पनि कोरोना संक्रमण न्यूनिकरण हुनुभन्दा बढ्दो क्रममा छ । यो अवस्थामा नेपाली समाजलाई परिवर्तन गराउन सकिएन भने कोरोनाको संक्रमणले मृत्युको मुखमा पु¥याउनु भन्दा पनि समाजले वा छिमेकीले दिने मानसिक तनावका कारण मानिसलाई मृत्युको मुखमा पु¥याउने सम्भावना बढ्दै गएको छ ।

हिजो कहाँबाट आए र कसरी काठमाडौंमा घर ठड्याए कुन्नी, ती आयातित घरधनी देख्दा लाग्छ अमृत पिएर हुर्किएका छन् जसलाई कुनै पनि रोगले छुँदैछुँदैन अजम्वरी हुन् । त्यस्ता घरधनीहरुले अहिले रुघाखोकी लागेको आफ्नो घरमा पैसा तिरेर बसेका व्यक्तिलाई अपराधी जस्तो व्यवहार गरिरहेका प्रशस्त उदाहरणहरु छन् ।

संघीय संरचना अनुरुप बनेको स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र कोरोना संक्रमणका नाममा भईरहेका दानवीय कार्यलाई रोक्नु अवको आवश्यकता छ । सरकारले लकडाउन खुकुलो गरेसँगै आमनागरिक जिवीकोपार्जनका लागि आफ्नो पेशा व्यवसायमा सुरक्षित तवरले हिँडिरहेका छन् । तर, पनि भाईरस हो सर्न सक्छ । यद्यपी तीललाई पहाड बनाउने घरबेटीहरुका कारण भाडामा बस्ने व्यक्ति वा छिमेकीलाई कोरोनाका नाममा सास्ती दिने काम हुनु दुर्भाग्यपूर्ण हो ।

कोरोनाका नाममा रुघाखोकी लागेका वा साधारण ज्वरो आएका व्यक्तिलाई मानवीय व्यवहार हुनु जरुरी छ । विगतमा जस्तै समाज एकत्रित हुन पर्नेमा अहिले विखण्डनतर्फ उन्मुख देखिन्छ । अहिले समाजमा देखिएको व्यवहारले द्वन्द्व फैलने संकेत पनि देखिएको छ । यस्तै नकारात्मक व्यवहारका कारण कोरोना तथ्यांक सार्वजनिक गर्ने स्वास्थ्य मन्त्रालयले मिथ्यांक सार्वजनिक गर्नु पर्ने अवस्था देखिन्छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण भित्रभित्रै भुसको आगो जस्तै सल्किरहेको छ । जसलाई सरकारले नजरअन्दाज नै गर्न सकिरहेको छैन । कोरोना परीक्षण गर्नु भन्दा नगर्नु नै वेस भन्ने सोच बनाउन वाध्य बनाइदिएको छ नेपाली समाजले । त्यसैले पनि कोरोनालाई साधारण रुघाखोकी जस्तै लिन थालिसकेका छन् नागरिकहरुले । अवस्था भयावह हुन नदिने सरकारले बेलैमा सोच्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया