शुक्रबार, वैशाख १४, २०८१

जलनको प्राथमिक उपचार के, किन र कसरी ?

डा. रोजिना शिल्पकार २०७७ कार्तिक २२ गते ७:०६

जलन र प्राथमिक उपचारको अर्थ
आगोको ज्वाला, तातो झोल पदार्थ, तातो वस्तुको सम्पर्कबाट हुने पोलाई, विद्युतीय झट्का र रसायनिक पदार्थ छोइएर हुने चोटहरुलाई ‘जलन’ भनेर बुझिन्छ । नेपालमा जलनको समस्या प्रत्येक वर्ष, विशेषगरी जाडो मौसममा ज्यादा हुने गरेको देखिन्छ । जलनको उपचार कठीनाईपूर्ण, खर्चिलो र समय लाग्ने हुँदा यसले नेपाल जस्तो आर्थिक रुपमा कमजोर मुलुकलाई गम्भीर असर पार्न सक्छ ।

कुनै पनि चोटपटक लागेको अवस्थामा वा कुनै रोगमा परेकालाई जीवन बचाउनको लागि गरीने तत्कालिक उपचार तथा समस्याबाट प्रभावित कुनै पनि व्यक्तिलाई तत्काल दिइने सहायतालाई प्राथमिक उपचार भनिन्छ । साथै, रोगको अवस्था बिग्रनबाट रोक्न गरिने उपचारलाई पनि प्राथमिक उपचार भनिन्छ ।

सामान्यतया जलन हुनेबित्तिकै घाउ बिग्रन नदिन वा जलनको बिरामीलाई थप खतराबाट मुक्त गर्नका लागि तत्कालै गरिने उपचारलाई प्राथमिक उपचार भनिन्छ । सबै प्रकारका जलनको पूर्ण उपचार स्वास्थ्यचौकीमा मात्र सम्भव नहुन सक्छ । सानोतिनो जलनका बिरामीहरु प्राथमिक उपचारपश्चात् घर फर्कन सक्छन् । तर, जलन गहिरो भएमा त्यस्तो बिरचामीलाई थप उपचारको लागि अस्पतालमा पठाउनु पर्ने हुन्छ । यस्तो बेलामा बिरामीको घाउ सफा गरी वा अन्य आवश्यक प्रारम्भिक उपचार गरी थप उपचारको लागि अस्पताल पठाउनु पर्छ । जलनको प्राथमिक उपचारका लागि तत्कालै निम्न कुराहरु गर्नु पर्दछ :

प्राथमिक उपचार सुरु गर्नुअघि जलनमा परेका व्यक्तिलाई जलनबाट उद्दार गर्नु पर्दछ । यसको लागि सर्वप्रथम जलिरहेको व्यक्तिलाई जलनको स्रोतबाट हटाई सुरक्षित स्थानमा पुर्याउनु पर्दछ । तर, जलन भएको अवस्थामा आत्तिएर दगुर्नु हुँदैन ।

जलेको पोलाईलाई कम गर्न जलन हुनेबित्तिकै जलनको घाउमा चिसो पानी खन्याउनु पर्छ । यसरी जलेको भागमा लगभग आधाघन्टा लगातार चिसो पानी खन्याउदा जलनको कारण उत्पन्न भएको पोलाई चिसो गराउँछ भने यसले जलनको गहिराई र फैलावटलाई पनि रोक्ने कार्य गर्दछ । तर, यस्तो भागमा आईस/वरफको प्रयोग गर्नु हुँदैन । स–साना बालबालिका र वृद्धवृद्धामा जलन भएको अवस्थामा उनीहरुको शरीरलाई न्यानो राखी जलन भएको भागमा मात्र पानी खन्याउनु पर्दछ ।

रासायनिक पदार्थको सम्पर्कबाट भएको जलनको परिप्रेक्ष्यमा जलेको ठाउँमा धेरै र छिटोछिटो पानी खन्याएर रासायनिक तत्वहरु हटाउनु पर्दछ । उदाहरणको लागि यदि शरीरको कुनै भागमा एसिड परेर जलन भएको छ भने उक्त भागमा सकेसम्म धेरै पानी खन्याउनु पर्दछ ।

जलन भएको भागलाई सफा कपडाले छोपेर यथाशिघ्र अस्पताल लैजानु पर्छ ।

कतिपय स्थानमा जलन भएको भागमा माटो, गोबर वा दाँत माझ्ने मञ्जन लगाउने गरिन्छ । तर, यस्तो गर्नु हुँदैन । यसले घाउ सङ्क्रमण हुने सम्भावना हुन्छ ।

जलनको समस्या सामान्यदेखि गम्भीर प्रकारका पनि हुन्छन् । सामान्य जलनलाई घरमा वा स्वास्थ्यचौकीमा उपचार गर्न सकिन्छ । तर, गम्भीर प्रकृतिका जलनलाई आपतकालीन उपचार चाहिन्छ र यस्तो प्रकारका जलन प्रभावित व्यक्तिलाई अस्पतालमा नै पठाउनु पर्ने हुन्छ ।

मानौँ एकजना गृहिणी महिलाले खाना पकाउँदा उनको सारीमा आगो टिपेर दुवै खुट्टा पुरै जल्यो भने सर्वप्रथम त उनको शरीरमा लागेको आगो निभाउनु पर्दछ । यसको लागि जलीरहेको व्यक्तिलाई भुइँमा लडिबुडी गर्न लगाई आगो निभाउन सकिन्छ वा उनको शरीरमा कम्बल वा सुतीको कपडाले छोपेर आगो निभाउनु पर्दछ । त्यसपछि जलेको भागमा लगभग ३० मिनेट जति चिसो (बगिरहेको पानी) खन्याउनु पर्दछ र ढिलो नगरी बिरामीलाई तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । यदि बिरामीलाई गाउँकै स्वास्थ्यचौकीमा लगिएको छ र बिरामीको जलनको घाउ ठूलो छ भने स्लाईन पानी दिँदै सकेसम्म छिटो अस्पताल पठाउनु पर्दछ । यदि जलनको घाउ सामान्य भएको अवस्थामा प्राथमिक उपचारका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले निम्न कुराहरु गर्नु पर्दछ :

प्राथमिक उपचार गर्ने तरिका

सर्वप्रथम बिरामीलाई सफा स्थानमा सुताउने ।

जलन भएको भाग नजिक कुनै कपडा वा गहना भए सुस्तरी हटाउने, तर यसलाई जबरजस्ती तरिकाले हटाउनु हुँदैन । जबरजस्ती हटाउन खोजिएमा यसले बिरामीको घाउमा अधिक क्षति पुर्याउँछ ।

जलनको घाउ छिटै सङ्क्रमण हुनसक्ने हुँदा जलेको भागलाई सफा कपडाले छोप्ने वा सफा ड्रेसिङ लगाउने ।

संवेदनशिल भाग जस्तै: टाउको, घाँटि, मेरुदण्ड, छाती, पेट र यौनअङ्गहरूमा जलन भएको छ भने यस्तो जलन उपचारका लागि विशेष सेवाको आवश्यक पर्ने हुँदा तत्कालै अस्पताल पठाउने ।

जलेको प्रतिशत र जलनको कारण वा प्रकारको सही आंकलन गर्ने ।

आवश्यकताअनुसार स्लाईन पानी दिने ।

आवश्यक परेमा वा बिरामी आफैले पिसाब गर्न नसक्ने स्थिति छ भने वा उक्त भागमा जलन भएको छ भने पिसाबको पाईप (फोलिज क्याथेटर) राख्ने ।

आवश्यकता अनुसार जलनको दुखाई कम गर्ने औषधि दिने ।

यदि सास फेर्न कठिनाई भएको छ भने र अनुहारमा जलन भएको छ भने अक्सिजन दिने ।

यदि गम्भीर प्रकारको जलन भएको छ भने माथि उल्लेख गरिएको व्यवस्थापनपश्चात् बिरामीलाई अस्पताल पठाउने ।

यदि छालाको सतहमा मात्र जलन भएको छ र यसको फैलावट पनि छैन भने स्वास्थ्यचौकीमा प्राथमिक उपचार गरी बिरामीलाई घर पठाउन सकिन्छ । ड्रेसिङ गर्नको लागि बिरामीलाई स्वास्थ्यचौकीमा बोलाउनु पर्दछ वा बिरामीको हेरालुलाई ड्रेसिङ गर्ने तरिका सिकाएर घरमै ड्रेसिङ गर्ने व्यवस्था मिलाउन सकिन्छ ।

सगुन नेपाल र Interburns द्वारा संयुक्त रुपमा सञ्चालित जलन रोकथाम अभियानका क्रममा
यस लेख तयार पारिएको हो । यस लेखका लेखिका सुषमा कोइराला मेमोरियल अस्प्ताल,
साँखुमा सर्जनको रुपमा कार्यरत हुनुहुन्छ

डा. रोजिना शिल्पकार

सर्जन, सुषमा कोईराला मेमोरियल अस्पताल

प्रतिक्रिया