बिहीबार, वैशाख १३, २०८१

विश्वमा करीब १० करोड मानिस अति गरीब हुन सक्ने आंकलन

एक व्यक्तिको रोजगारी गुम्नु भनेको चार जनाको पेट भोक हुनु हो, भोको पेटले द्वन्द्व बढाउँछ

सुवाश शर्मा २०७७ कार्तिक २२ गते १५:१४

सन् २०१९ डिसेम्वरमा चीनको बुहान सहरमा पहिलो पटक कोरोनाभाईरस (कोभिड–१९) देखा पर्यो । अहिले हामी नोभेम्वर महिनाको पुर्व सन्ध्यामा रहेका छौं । यस अर्थमा आगामी महिना अर्थात डिसेम्वरमा कोभिड–१९ को महामारी फैलिएको एक वर्ष पुग्छ ।

यो अवधिमा कोभिड–१९ ले एकाध बाहेक बिश्वको सबैजसो देशलाई प्रभावित बनाएको छ अर्थात सबै देशमा यो महामारी फैलिएको छ । यो लेख तयार पार्दाको अवस्थासम्ममा अर्थात ७ अक्टोवर २०२० सम्ममा बिश्वमा चार करोड ९६ लाख ६७ हजार ६ सय ९७ जना कोभिड १९ बाट संक्रमित भईसकेका छन् । कुुल संक्रमित संख्या मध्ये १२ लाख ४८ हजार सात सय ७९ जनाको मृत्युु भईसकेको छ भने यस अवधिमा तीन करोड ५२ लाख ५४ हजार ७ सय २४ जना कोभिड–१९ को संक्रमणबाट मुुक्त भईसकेका छन् ।

जहाँसम्म नेपालको कुरा छ, नेपालमा २०७६ माघ ९ गते पहिलोपटक कोभिड–१९ को संक्रमित फेला परेको थियो । त्यसपछि आजको दिनसम्म अर्थात कात्र्तिक २२ गते यो लेख तयार पार्दाको अवस्थासम्म नेपालमा एक लाख ८८ हजार आठ सय ८३ जना कोभिड–१९ बाट संक्रमित भईसकेका छन् । सरकारले यस अवधिमा १५ लाख १७ हजार ३ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा कोभिड–१९ का संक्रमितहरु भेटिएका हुुन् । यस अवधिमा कोभिड–१९ कै कारण १ हजार ७० जनाको मृत्य भईसकेको तथ्यांक स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरिसकेको छ । यद्यपी नेपाली सेनाले कोभिड–१९ को संक्रमणबाट मृत्य भएका नागरिकको शव व्यवस्थापन गरेको आधारमा भने नेपालमा कोभिडकै कारण १४ सय जनाको मृत्युु भईसकेको सेनाले बताउँदै आएको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट संक्रमित भएकाहरु मध्ये १ लाख ५२ हजार ९ सय ८ जना संक्रमण मुक्त भईसकेका छन् । यो संख्या भनेको कुुल संक्रमित मध्येको झण्डै ८० प्रतिसतको हाराहारीमा हो ।

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार विश्वका विभिन्न क्षेत्रमा अहिले लगभग ३ अर्ब ३० करोड मानिस प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोजगार रहेका छन् । तर, कोभिड–१९ कै कारण आजको दिनसम्म एक अर्ब ६० करोड मजदुर प्रत्यक्ष रुपमा प्रभावित भएका छन् अथार्त यो संख्याले आशिंक वा पुर्णरुपमा रोजगारी गुमाएका छन् । विश्वमा कोभिड–१९ को सबैभन्दा बढी प्रभाव अनौपचारिक क्षेत्रमा परेको छ । होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, यातायात, उद्योग, पर्यटन क्षेत्रमा कोभिड–१९ को सबैभन्दा बढी प्रभाव परेको छ । यसले गर्दा पनि यि क्षेत्रमा काम गर्ने ठुुलो जनसंख्या अहिले आंशिक वा पुुर्णरुपमा बेरोजगार बनेका छन् । बिश्व बैंकको प्रक्षेपण अनुसार कोभिड–१९ कै कारण रोजगारी गुुम्दा विश्वमा करिब १० करोड मानिस अति गरीब हुनेछन् । अनौपचारिक श्रम बजारका श्रमिक तथा गरीब मजदुरमा यसको असर परेको कारण अधिकांश दरमा गरीबी देखिन्छ । बिश्व बैंकले कोभिड–१९बाट परेको असरहरुको बारेमा एक सय ६६ वटा राष्ट्रहरुमा गरेको अध्ययन अनुसार सबैभन्दा बढि असर अफ्रिकी मुलुकहरुका पर्ने देखिन्छ । ति मुुलुकहरुमा मात्र २२ दसमलव ६ प्रतिशतले गरिबी बढ्न सक्ने बिश्व बैंकले अनुुमान गरेको छ भने दक्षिण एसियामा १५ दसमलव ६ प्रतिशत, ल्याटिन र क्यारेबियन क्षेत्रमा दुुई दसमलव ७ प्रतिशत, मध्यपूर्व र दक्षिण अफ्रिकामा दुुई दसमलव ८ प्रतिशत र पूर्वी एसिया र प्यासिफिकमा चार दसमलव पाँच प्रतिशत गरीबी वृद्धि हुने अनुमान बिश्व बैंकले गरेको छ ।

जहाँसम्म नेपालको कुरा छ, सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामको लागि भन्दै २०७६ चैत्र १० को मध्यरातदेखि देशव्यापीरुमा लक डाउनको घोषणा गर्यो । त्यो लकडाउन २०७७ साउन ६ गतेपछि मात्र आंशिकरुपमा खुुकुलो भएको थियो । नेपालमा पनि लकडाउन कै कारण २० लाख मानिसको प्रत्यक्षरुपमा रोजगारी खोसिएको छ । यसरी रोजगारी खोसिनेमा अनौंपचारिक क्षेत्र अर्थात होटल, रेष्टुरेन्ट, यातायातलगायतका क्षेत्रमा काम गर्ने श्रमिकहरु बढी रहेका छन् । कोभिड–१९ कै कारण बिकरालरुपमा बेरोजगारी बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार अहिले नेपालको कुुल जनसंख्या दुई करोड ९३ लाख २७ हजार ८३ रहेको छ । यसमध्ये झण्डै ५५ लाख जनसंख्या अहिले पनि चरम गरिबीको रेखामुुनी रहेका छन् । तर, कोभिड–१९ कै कारण थप ३४ लाख जनसंख्या गरिबीको रेखामुुनी धकेलिने अनुुमान गरिएको छ । कुुल जनसंख्या मध्ये १८ दसमलव सात प्रतिसत जनता गरिबीको रेखामुुनी रहेकोमा कोभिड १९ कै कारण यो संख्या बढेर २२ प्रतिसतको हाराहारी पुग्ने छ ।

कोभिड–१९ को संक्रमण पछिल्लो समय तिव्र रुपमा बढेका कारण कहिलेदेखि यो नियन्त्रणमा आउँछ भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था छैन । यो अवस्थामा सरकारले कोभिड–१९ कै कारण रोजीरोटी गुमाएका आम नागरिकको जीवन सुरक्षाको लागि, रोजगारीको लागि प्रभावकारीरुपमा काम गर्न सकेको छैन । यसको फलस्वरुप आम नागरिकमा चररुपमा निराशा छाएको छ । निराशाका कारण आत्महत्याको दर बढ्दै गएको छ । दैनिकरुपमा अहिले नेपालमा १७ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । यसको प्रमुुख कारण नै कोभिड–१९ हो । अर्कोतर्फ कोभिड–१९ कै कारण आम नागरिकको रोजगारी गुम्दा समाजमा धनी र गरिबबिचको खाडल बिकरालरुपमा बढ्दै गएको छ । यसले गर्दा समाजमा थप आपराधिक क्रियाकलापहरु बढ्दै गएका छन् । समाज अशान्त हुुँदै गएको छ । कोभिड कै कारण रोजगारी गुमाएका आम नागरिकको रोजीरोटी र रोजगारीको ग्यारेन्टी सरकारले गर्न नसक्ने हो भने यसले मुलुुकलाई आर्थिक अपराध, आन्तरिक द्वन्द्वको भुमरीमा धकेल्न सक्छ । यो अवस्था आउन नदिनको लागि पनि सरकारले सबै नागरिकलाई रोजगारी दिनुुपर्छ, जसले कोभिड–१९ कै कारण रोजगारी गुमाएका छन् ।

नेपालमा एक व्यक्ति बराबर चार जना आश्रित रहेका छन् । यस अर्थमा कोभिड–१९ कै कारण एउटा व्यक्तिको रोजगारी गुुम्नु भनेको त्यो व्यक्तिसँग सम्वन्धित चार जनाको पेट भोक हुुनु हो । भोको पेटले कहिले पनि राम्रो नराम्रो सोच्दैन, उसले एक पेट खाना मात्र सोच्छ, त्यो खानाको ग्यारेन्टी सरकारले गर्नुपर्छ, गर्न सक्नुुपर्छ । यदि सरकारले त्यो ग्यारेन्टी गर्न सक्दैन, अथवा चाहँदैन भने यसले समाजलाई अशान्त बनाउँछ, अपराध बढाउँछ ।

प्रतिक्रिया