कसरी भईरहेको छ काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन

पूजा गिरी २०७७ कार्तिक २३ गते १६:००

काठमाडौं । सरकारले फोहोरमैला व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ । फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र नियमावली २०७० अनुसार फोहरमैलाको व्यवस्थापन गर्न स्थानान्तरण केन्द्र, ल्याण्डफिल साइट, प्रशोधन प्लाण्ट, कम्पोष्ट प्लाण्ट र बायोग्यास प्लाण्टलगायत फोहरमैलाको संकलन र अन्तिम विसर्जन तथा प्रशोधनका लागि आवश्यक पर्ने पुर्वाधार तथा संरचनाको निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहको हुने कानुनी व्यवस्था रहेको छ ।

२०६२ साल जेठ २२ गते विश्व वातावरण दिवसका दिनबाट काठमाडौं उपत्यकामा उत्पादन भएको फोहोर संकलन तथा ढुवानी गरेर नुवाकोट जिल्लाको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साईटमा व्यवस्थापन गरिँदै आएको छ । २०६२ साल देखि काठमाडौँ उपत्यकाका तिनवटै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपरसहित काभ्रे र नुवाकोट जिल्लाका गरी २२ वटा स्थानीय तहले ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साईटमा फोहोरको विसर्जन गर्दै आएका छन् । हाल फोहोर व्यवस्थापन हुँदैं आएको सिसडोल ल्यान्डफिल साईटमा फोहोर व्यवस्थापनको कार्य चुनौतिपुर्ण हुँदैं गएकाले सिसडोल भन्दा २ किलोमिटर टाढा रहेको बन्चरे डाँडामा नयाँ ल्यान्डफिल साईटको निमार्ण कार्य भईरहेको छ । सो साईटको निमार्णको जिम्मा सहरी विकास मन्त्रालय अन्र्तगतको सहरी विकास तथा भवन निर्माण विभागले लिएको छ ।

काठमाडौं उपत्यकाकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगरपालिका क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । यस बाहेक उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगरपालिका बाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइटमा पुर्याउने गरिएको महानगरको वातावरण व्यवस्थापन विभागको फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख निर्मल राज बरालले जानकारी दिएका छन् ।

उपत्यकाका नगरपालिकाहरुमध्ये गोकर्णेश्वर नगरपालिका धेरै फोहोर उत्पादन हुने पालिका मध्ये तेस्रो स्थानमा पर्दछ । यस पालिकाबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । त्यसपछि नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ नगरपालिकाबाट ३५–३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको तथ्याङ्कले देखाएको छ । त्यसपछि काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट३०–३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ ।

ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट १५–१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ । काठमाडौंको शंखरापुर नगरपालिका क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरपालिकाबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ ।उपत्यकाका यि नगरपालिकाहरु बहेक ल्यान्डफिल साइटमा ४ टन सगरमाथा क्षेत्रको फोहोर पनि विर्सजन गर्ने गरेको विभागले जनाएको छ ।

ल्यान्डफिल साईटमा उपत्यकाका प्राय सबै नगरपालिकाको फोहोर विर्सजन गर्ने गरिए पनि ल्यान्डफिल साईट व्यवस्थापनको काम भने काठमाडौं महानगरपालिकाले मात्र गदैं आएको छ । त्यसकारण उपत्यकाका सम्पुर्ण नगरपालिकाहरुलाई फोहोरमैला व्यवस्थापन र ल्यान्डफिल साईट व्यवस्थापनको दायरामा ल्याउन काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका नगरपालिकाको सहभागितामा एकिकृत रुपमा फोहोरमैला व्यवस्थापन गर्ने तयारी सुरु गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोईरालाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी फोहोरमैला व्यवस्थापन सम्बन्धि अध्ययन भई प्रतिवेदन पनि तयार पारिसकिएको महानगरको वातावरण व्यवस्थापन विभागको फोहोरमैला व्यवस्थापन महाशाखाका प्रमुख निर्मल राज बरालले जानकारी दिए ।

विगत १५ वर्षदेखि फोहोर फलिँदै गरिदैं आएको सिसडोल ल्यान्डफिल साईटमा अर्गानिक फोहोर ७०.८७ प्रतिशत, प्लास्टिक जन्य फोहोर ९.१८ प्रतिशत, कगज ८.५१ प्रतिशत, रबर ०.५४ प्रतिशत, कपडा ३.०२ प्रतिशत, धातु ०.९२ प्रतिशत, सिसा २.५० प्रतिशत, निष्क्रिय सामाग्री ४.३३ र लेदर ०.१२ प्रतिशत विर्सजन हुने गरेको छ । प्रतिशतको आधारमा हेर्ने हो भने ल्यान्डफिल साईटमा अर्गानिक फोहोर अर्थात कुहिने फोहोरको मात्रा अत्याधिक देखिएको छ । कुहिने फोहोरलाई मात्र व्यवस्थित गर्न सक्ने हो भने ल्यान्डफिल साईटमा फोहोरको मात्रा निकै कम हुने देखिएको छ । साथै स्रोतमा नै कुहिने र नकुहिने फोहोरलाई छुट्याएर फाल्ने हो भने फोहोर व्यवस्थापनमा धेरै सहज हुने देखिएको छ ।

स्रोतमै फोहोरको व्यवस्थापन गर्न घर, पसल वा कुनै पनि व्यवसायबाट संकलित फोहोर कुहिने र नकुहिने छुट्याई कुहिने फोहोरलाई मल बनाई घरको कौसीखेती, तरकारी करेसाबारी वा खेतीयोग्य जमिनमा कम्पोष्ट मलको रुपमा प्रयोग गर्न सकिन्छ भने पुनः प्रयोग हुने फोहोर, कवाडीलाई घरवाट नै विक्री वितरण पनि गर्न सकिन्छ ।

लकडाउनको समयमा जति सफा र प्रदुशण मुक्त शहर भएको थियो त्यसलाई लकडाउन खुकुलो भए पश्चात भने निरन्तरता दिन सकिएको छैन । काठमाडौं उपत्यकालाई नै प्रदुषण र फोहोर मुक्त बनाउनका लागि उपत्यकाका सवै स्थानीय तहहरुले थालनी गरेको एकीकृत फोहोर व्यवस्थापनले दीर्घकालिन रुपमा नै समस्या समाधान हुने संकेत देखाएको छ । फोहोर व्यवस्थपनमा स्थानीय सरकारले गरेको आग्रह अनुरुप आम उपत्यकाबासीहरुले पनि हातेमालो गर्दैै अगाडि बढ्ने हो भने पक्कै पनि सुन्दर उपत्यकाको परिकल्पना गर्न सकिन्छ ।

प्रतिक्रिया