सोमबार, वैशाख १५, २०८२

सिद्धार्थ बैंक, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक जर्मनीबिच सहकार्य

नेपालखोज २०७७ कार्तिक २५ गते १४:१३

काठमाण्डौं । दिगो आर्थिक विकासका लागि सिद्धार्थ बैंक, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक जर्मनी बीच त्रिपक्षीय सहकार्य भएको छ । जर्मन सरकारको सहयोगमा ग्रामिण क्षेत्रको दिर्घकालीन आर्थिक विकास (एसईडिआरए) प्रोजेक्टका लागि सिद्घार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंकबिच हालै एक त्रिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैकका अनुसार यो प्रोजेक्ट नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको सहयोगमा भएको हो । यसमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मार्फत वाणिज्य बैंकमध्येबाट सिद्धार्थ बैंक र जर्मन सरकारको तर्फबाट के.एफ.डब्लु डेभलपमेन्ट बैंकद्वारा कार्यान्वयन गर्ने गरी नेपालको ग्रामीण तथा अर्धशहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरुलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्श लगायत आवश्यक प्राविधिक सेवाहरु प्रदान गर्नेछ ।

यो परियोजना अन्तर्गत जर्मन आर्थिक सहयोग कार्यान्वयन गर्दै बैंकले लघु, साना तथा मझौला उद्यम वित्तीयका लागि दुई लाख देखि ४० लाख रुपैयाँसम्मको कर्जा सुबिधा उपलब्ध गराउने छ । १० वर्ष सम्मको कर्जा अवधि रहनेछ भने लघु, साना तथा मझौला उद्यमीहरुलाई सिपमुलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोग पनि बैंकले गर्नेछ । यो योजनाले ग्रामीण तथा अर्धशहरी क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरुलाई उद्यमशिलता विकासको लागि आवधिक कर्जाका साथै सिपमुलक तालिम प्रदान गर्ने बैंकको मुख्य उद्देश्य रहेको छ ।

विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्ने बैंकको मुख्य प्राथमिकता रहेकाले यस सम्झौताले सिद्धार्थ बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक बिचको सहकार्य अझ सुदृढ बनाउने र नेपालको लघु, साना तथा मझौला उद्यम वर्गहरुको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया