जेलबाट छुटेर आएका सुन्दर यातायातका अध्यक्ष थापा फेरि प्रहरीको नियन्त्रणमा

नेपालखोज २०७७ कार्तिक २६ गते २०:४८

काठमाडौं । विद्युतीय सवारी सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । चीनबाट विद्युतीय सवारी साधन खरिद गरी ल्याउने र सरकारी अनुदान लिन सहज हुने भन्दै थापाले धेरै व्यक्तिसँग रकम असुल्दै आएका थिए ।

थापाले रकम लिएका व्यक्ति मध्ये झविन्द्र बन्जाडेले थापालाई बस खरिद गर्नका लागि दिएको रकम फिर्ता मागेपनि उनले चेक उपलब्ध गराएका थिए । थापाले दिएको चके बाउन्स भए पछि बन्जाडेले प्रहरीमा उजुरी गरेपछि उनलाई प्रहरील पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले नेपालखोजलाई बताए ।

करिब डेढ महिनाअघि थापाले बन्जाडेलाई दिएको एक करोड रुपैयाँको चेक बाउन्स भएको थियो । बुटवलका थापाले आफूलाई काठमाडौ् कालोपुलको स्थायी बासिन्दा भएको बताउँदै आएका छन् । यस अघि पनि पटक पटक प्रहरी हिरासतमा परिसकेका थापा विगतमा पनि ठगि मुद्दा खेपेका व्यक्ति हुन् ।

थापा शाही शासन कालमा पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाईँ राजीव शाहीलाई भेटाएर उनको नाम भजाउँदै अमेरिका पठाईदिने भन्दै धेरै व्यक्तिसँग ठगी गरेका व्यक्ति हुन् । नेपाली चलचित्र क्षेत्रकी केसी थरकी नायिकाबाट समेत अमेरिका पठाउने भन्दै १५ लाख ठगी गरेका थिए । त्यस बेला उनले राजीव शाहीको नजिकको पत्रकारका रुपमा आफूलाई परिचय दिने गर्दथे । शाही कालमा थापाको प्रकाशकत्वमा नयाँविचार दैनिक केही महिना प्रकाशन भएको थियो । पछि नायिकले प्रहरीमा उजुरी गरेपछि थापा लामोसमय जेल परेका थिए ।

जेलबाट निस्केको केही समय पछि थापा चीनबाट विजुली बस खरिद गरी सञ्चालन गर्ने अभियानका जुटेका थिए । सोही सिलसिलामा थापाले नाम चलेका मिडियाका पत्रकारलाई चीन भ्रमणमा समेत लगेका थिए । उनले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई समेत साझा यातायातलाई जस्तै विजुली बसमा महानगरको लगानी गर्नका लागि निकै पहल गरेका थिए । तर थापा विगतमा ठगीमा जेल परेको जानकारी पाए पछि महानगर सुन्दर यातायातमा लगानी गर्नबाट पछि हटेको थियो ।

प्रतिक्रिया