शनिबार, वैशाख १५, २०८१

शहरी विकास र वित्तीय क्षेत्रको स्थिरताका लागि विश्व बैंकले ४२ अर्ब सहयोग गर्ने

नेपालखोज २०७७ मंसिर ३ गते १९:१४

काठमाडौ । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको स्थिरतालाई सहयोग पुर्याउँदै आर्थिक पुनरुत्थानलाई बढावा दिन नेपाल सरकार र विश्व बैंकद्वारा ३५ करोड अमेरिकी डलर (करिब ४२ अर्ब नेपाली रुपैयाँ) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजना र ‘वृद्धिका लागि वित्त’ विकास नीति सहायता दुई सम्झौताहरुमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका हुन् ।

“नेपालमा सहरी विकासको सुदृढीकरण र वित्तीय क्षेत्रको स्थिरतामा सुधारका लागि प्राप्त भएको विश्व बैंकको सहयोगप्रति हामी आभारी छौं,” अर्थ मन्त्रालयका सचिव ढुंगानाले भने । “यी आयोजनाहरूले नेपालमा संघीयताको कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिदैं सरकारको कोभिड १९ पश्चातको आर्थिक पुनरुत्थानका प्रयासमा योगदान पुर्याउने छन् ।

१५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) बराबरको नेपाल शहरी शासकीय सुधार र पूर्वाधार आयोजनाले दुई रणनैतिक शहरी समूहहरुमा अवस्थित विभिन्न नगरपालिकाहरूलाई सहयोग गर्नेछ जसमा पूर्वी तराई क्षेत्र (प्रदेश १ र २) र पश्चिमी क्षेत्र (गण्डकी प्रदेश र लुम्बिनी प्रदेश) का नगरपालिकाहरू पर्छन् ।

यो आयोजनाले कार्यक्षेत्र अन्तर्गतका नगरपालिकाहरू र त्यहाँ बसोबास गर्ने नागरिकहरूको प्राथमिकतामा आधारमा लक्षित शहरहरूका रणनैतिक पूर्वाधारमा नेपालमा पहिलो पटक अनुदान श्रोतको सुनिश्चितता सहित आर्थिक सहयोग पुर्या्उनेछ । आयोजनाले सुधारिएको शहरी व्यवस्थापनका लागि नगरपालिकाहरूको क्षमता अभिवृद्धि गर्न र नागरिकहरुको संलग्नतामा लक्षित नगरपालिकाहरूलाई उत्तम योजना बनाउन, व्यवस्थापन गर्न र सेवा प्रवाह तथा शहरी व्यवस्थापनका क्रियाकलापहरूको उचित कार्यान्वयन गर्न सक्षम बनाउनेछ ।

आयोजनाले साना खालका श्रम केन्द्रित सार्वजनिक कामका लागि आर्थिक सहयोग पुर्यााउनेछ, जसले आर्थिक पुनरुत्थानलाइ टेवा दिदैं देशका विभिन्न ठाउँहरूमा महिला र जोखिममा परेका समूहका व्यक्तिहरू समेत गरी कम्तिमा २० हजार मानिसहरूका लागि अस्थायी रोजगारी सिर्जना गर्नेछ ।

आयोजनामा आकस्मिक आपतकालीन प्रतिकार्य संरचना पनि समाविष्ट छ । यस अन्तर्गत राष्ट्रिय आपतकालको अवस्थामा प्रतिकार्य र पुनरुत्थानका गतिविधिहरूमा आर्थिक सहयोग पुर्याउनका लागि यस आयोजनाको कोष पुनर्विनियोजन गर्न सकिनेछ ।

यसैगरी, नेपालको वित्तीय क्षेत्रको स्थिरतालाई सुदृढ बनाउन, वित्तीय समाधानका उपायहरुमा विविधता ल्याउन र वित्तीय सेवाहरूको पहुँचमा वृद्धि गर्नका लागि नेपाल सरकारले अंगीकार गरेका विभिन्न सुधारका प्रयासहरु र व्यक्त गरेका बलियो प्रतिवद्धता को सह्राहना गर्दै विश्व बैंकले २० करोड अमेरिकी डलर (करिब रु २४ अर्ब) बराबरको ‘वृद्धिका लागि वित्त नीति विकास सहायता मार्फत बजेट सहयोग प्रदान गरेको हो । आयोजनाले खासगरी महामारीको प्रभावको सन्दर्भमा, बैंकिङ र वित्तीय संस्थाहरूले सामना गर्नुपर्ने जोखिमहरूको उचित सुपरीवेक्षणमा सहयोग पुर्यारउनेछ । यसले निजी क्षेत्रमा जाने पूँजी प्रवाहमा अभिवृद्धि गर्दै लगानीका नयाँ अवसरहरु उपलब्ध गराउन सहयोग पुर्याउनेछ ।

आयोजनाले नियामक सुधारहरू मार्फत पूँजी, बीमा, उद्यम पूँजी, निजी इक्विटी र प्रकोप जोखिम सम्बन्धी वित्त बजार निर्माण गर्न मद्दत गर्नेछ । यसले बजारका साझेदारहरूका लागि नयाँ लगानीका अवसरहरूको ढोका खोल्न र निजी लगानी बढाउन पनि मद्दत गर्नेछ । नियामक र अन्य सुधारहरू मार्फत यो आयोजना––घरपरिवार, महिला र फर्महरूका लागि वित्तीय पहुँच विस्तार गर्नमा पनि केन्द्रित हुनेछ जसले अन्तर्राष्ट्रिय वित्तको थप प्रवाहलाई आकर्षित गर्नेछ र विद्युतीय सेवाहरू, कर्जा पूर्वाधार र साक्षरता कार्यक्रमहरू पनि परिचालन गर्नेछ ।

“ राहत, पुनरुत्थान र उत्थानशिल योजना कार्यान्वयनका लागि नेपाल सरकारको प्रयासमा सहयोग पुर्यापउँदै तत्कालका आवश्यकताका साथसाथै दीर्घकालिन उद्देश्यहरू प्राप्त गर्न र महामारी पश्चात पहिले भन्दा सबल र उत्तम पुनर्निमाणका अवसरहरू सुनिश्चित गर्नका लागि विश्व बैंक प्रतिवद्ध छ,” माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने । “ यी नयाँ आयोजनाहरुमार्फत हामी संघीयता कार्यान्वयन प्रक्रियाको एक हिस्साका रूपमा प्रभावकारी सेवा प्रवाहका लागि संस्थाहरूलाई सुदृढ पार्न र आर्थिक पुनरुत्थानलाई बढावा दिदैं उत्थानशिल वित्तीय क्षेत्रको निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गर्न उत्साहित छौं ।“

उक्त हस्ताक्षर समारोहमा शहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिह, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र शहरी विकास विभागका महानिर्देशक मणिराम गेलाल लगायत अन्य पदाधिकारीहरु तथा नेपाल, मालदिभ्स र श्रीलकाका लागि विश्वबैकका अपरेशन मैनेजर लाडा स्ट्रेलकोभा र वरिष्ठ अपरेशन अफिसर विज्ञान प्रधानको समेत उपस्थिति थियो ।

प्रतिक्रिया