शुक्रबार, वैशाख १४, २०८१

धुवाँसँगको आक्रोश

सुमन न्याैपाने २०७७ मंसिर ५ गते २०:३२

ललितपुरका नख्खुवासीले स्वच्छ हावा लिन पाइरहेका छैनन् । हरेक पल धुवाँको मुस्लो पिउछन् , धुवाँमै बाँचेका छन् । स्वच्छ हावामा सबैको अधिकार हुनुपर्ने हो, तर उनीहरुको त्यसमा अधिकार छैन । जसोतसो सास बाँकी छ । बृद्ध अवस्थाका मानिसहरु, केटाकेटीहरु, दमका रोगीहरु मुस्किलले सास फेर्छन् ।

ललितपुरको सुनाकोठीस्थित मानव वस्तीको छेवैमा रहेको अलकत्र कारखानाले फाल्ने हानिकारक धुवाँका कारण स्थानीयको जनजीवन कष्टकर बनेको छ । कुनै घर छैनन् जहाँ दमका रोगी नहुन् , कुनै युवा बाँकी छैनन् जसलाई स्वासप्रस्वासको समस्या नहोस् ।

मानिसहरुको स्वस्थ्यमा त गम्भीर असर गरेकै छ , नख्खुवासीलाई छोडि जाऊ भने आफ्नो ठाउँ छोडेर कता जाउँ ? नछोडौ भने धुवाँले जीवन र मरणको दोसाँधमा र्पुयाएको छ । बिचल्लीमा परेका छन् नख्खुवासी ।

२०७१ सालमा स्थापना भएको अलकत्र कारखाना, १८औं सार्क शिखर सम्मेलनमा काठमाडौंको सडक कालोपत्रे गर्न भन्दै नख्खुमा स्थापना गरिएको थियो । छोटो अवधिका लागि भनेर सञ्चालनमा आए पनि कारखानाले त्यहीँ दीर्घकालीन रुपमा सञ्चालन गर्न थाल्यो । कारखानाबाट निस्किने हानिकारक धुवाँले मानिसहरुको स्वास्थ्यमा मात्रै होइन जनजीविका समेत प्रभावित भयो । युवाहरुले सञ्चालन गरेको कृषि फार्मदेखि कुखुरा फार्मसम्म विस्थापित भए । अन्ततः गाउँ नै उजाड भयो । स्थानीयहरुले आवाज उठाए विरोध गरे । तर, बलिया राजनीति शक्तिसँग साधारण जनताको केही चलेन । कारखानाका मालिक प्रचण्डका घरबेटी सारदा प्रसाद अधिकारी हुन् । आवाज उठाउने युवाहरुलाई धम्काइयो, केहीलाई कुटपिट पनि गरियो । स्थानीय थाके, जसोतसो धुवाँ पिउने बानी बसाले ।

नख्खुवासीले नख्खु वातावरण संरक्षण समिति भनी समितिको निमार्ण गरेर न्यायका लागि संघर्ष नगरेका होइनन् । तर सुनुवाइ कतैबाट पनि भएन । अवस्था उस्तै छ, समस्या जहाँको त्यहीँ छ ।

औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ५५ अनुसार मानववस्ती देखि न्यूनतम एक किलोमिटर दुरी हुनुपर्ने शर्त रहेको छ । तर, यो अलकत्र कारखाना मानव वस्तीभित्रै छ । शक्ति र सत्ताको आडमा उच्च वर्ग पोषित भइ निमुखा वर्ग पिल्सिएको यो भन्दा गतिलो उदाहरण अरु के हुनसक्छ र ?

यो लडाइँ प्रचण्डका घरबेटी विरुद्धको लडाइँ होइन । यो त धुवाँ विरुद्धको लडाइँ हो । हामीलाई विकास चाहिन्छ । चिल्लो कालो बाटो चाहिन्छ । त्यसका लागि अलकत्र कारखाना अत्यावश्यक छ । तर मानववस्ती बिच होइन, मानववस्ती देखि टाढा । सरकारले तय गरेको वातावरण मापदण्ड अनुसार कारखाना सञ्चालन हुनुपर्छ । तर, शक्तिको आडमा कानुनको धज्जि उडाउँदै, जनताको स्वास्थ्यमा खेलवाड गर्न कसैलाई छुट छैन ।

प्रतिक्रिया