शनिबार, वैशाख १५, २०८१

छाउगोठको विकल्प छाउमहल

हरिकृष्ण खतिवडा 'अपरूष' २०७७ मंसिर १४ गते २०:५४

हरेक वर्ष विश्वभरि नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसा हुन नदिन र लैङ्गिक हिंसा विरुद्ध ऐक्यवद्धता जनाउन १६ दिन विभिन्न कार्यक्रम आयोजना गरन्छि । यसवर्ष लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नारा दिएर मनाउने निर्णयसहित कार्यक्रम आायोजना गरिएको छ ।

सन् १९९१ मा राष्ट्रसंघीय महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धका दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । यो अत्यन्तै राम्रो निर्णय थियो । नीतिगत रुपमा यो जति राम्रो थियो कार्यगत रुपमा फगत् यो राष्ट्रसंघमा गोरा महिलाहरुको राजनीति गर्ने एजेन्डा भएको छ । विगत २९ वर्षमा राष्ट्रसंघले महिला हिंसा विरुद्ध खासै उन्नति गर्न सकेको छैन । राष्ट्रसंघकै एक प्रतिवेदनमा संसारभरका तीन महिलामा एक महिलाले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको यौनजन्य वा घरेलु हिंसा भोग्नुपरेको डरलाग्दो तथ्य प्रस्तुत छ । त्यस्तै, अर्को प्रतिवेदनमा विश्वका पैंतिस प्रतिशत महिलाले कुनै न कुनै किसिमको हिंसा भोगेको हुने जनाइएको छ ।

लकडाउनको समयमा महिला हिंसामा अझै बढोत्तरी भएको राष्ट्रसंघको अर्को प्रतिवेदनमा जनाइएको छ । छिमेकी मुलुक भारतका महिला हिंसाका धेरै घटना लकडाउनका बेला विभिन्न छापामार्फत बाहिरिए । बलात्कारका घटना बढ्नाका कारण नाइजेरिया तथा दक्षिण अफ्रिकामा महिलाहरु घरबाट बाहिर निस्कन समेत डराउनुपर्ने अवस्था छ । अर्जेन्टिनामा २५ प्रतिशत, साइप्रस र फ्रान्समा ३० प्रतिशत एवं सिंगापुरमा ३३ प्रतिशत महिला हिंसाका घटनामा लकडाउनका कारण बढोत्तरी भएको राष्ट्रसंघको अर्को प्रतिवेदनमा जनाइएको छ ।

नेपालमा पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तर, यो कार्यक्रम फगत् काठमाडौं केन्द्रित हुने कुरामा दुई मत छैन । मंसिर १० मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसा हुन नदिन, अपराधको घटना दोहोरिन नदिन र दोषीलाई कडा सजाय दिन सम्बद्ध सबै पक्षलाई आह्वान गरेकी छिन् । आज मुलुकको सर्वोच्च पदमा महिला आसीन हुँदा पनि समस्या ज्यूँका त्यूँ छ । समस्या हल गर्न नीति कार्ययोजना नबनेका होइनन् तर तीनको कार्यान्वयन गर्न तदारुकता नदेखाउनाले अपराधका घटना बढ्दै छन् ।

नेपालमा यसवर्ष महिला हिंसा हुन नदिन र महिला शसक्तीकरणका लागि झापाकी श्वेता श्रेष्ठ एक्लै साइकल र्यालीमा निस्केकी छिन् भने अन्य महिलाहरुको समूह पनि साइकल र्यालीमा निस्केका छन् । नेपालमा महिला शसक्तीकरणको प्रयास सहरी क्षेत्रमा त्यति नराम्रो छैन तर ग्रामीण महिलाको अवस्था अत्यन्तै नाजुक छ । यसो हुनुमा ग्रामीण स्तरमा चेतना फैलन नसक्नु एवं छोरा र छोरीमा बाबुआमाले गर्ने नजाँनिदो भेदभाव हो । जनचेतनाको कमी तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि ग्रामीण क्षेत्रमा बलात्कार जस्ता घटना बढ्न गएका छन् । कतिपय घरेलु हिंसाका घटना समाजिक प्रतिष्ठाका कारण भित्रभित्रै लुकाइन्छन् र बाहिर आउन दिइदैंन । समाजमा प्रतिष्ठित परिवारले आफ्नो सामाजिक चरित्र बिग्रने कारण घरभित्रका महिलाहरु कुनै किसिमको हिंसामा पर्दा पनि त्यसलाई बाहिर आउन दिंदैनन् यसो गर्दा शिक्षित तथा प्रतिष्ठित परिवारका महिला पनि पीडित हुनुपरेको तथ्यहरु बहिरिएका छन् ।

जङ्गबहादुर राणा प्रधानमन्त्री रहँदा उनका धेरै रानी, उपरानी, पटरानी एवं भित्रीनीहरु रहेको एैतिहासिक प्रमाण हामीले पढ्दै आएका छौं । सत्ताको मुतको न्यानोमा निदाएका नेतृत्ववर्गका केही मानिसमा आज पनि त्यही जङ्गबहादुर प्रवित्ति छँदै छ । यदाकदा घरमा श्रीमती हुँदाहुँदै बजारमा कोठा लिएर अर्की श्रीमती राखेको घटना नबाहिरिएका हैनन् । गत वषर््ाको सभामुख प्रकरण जङ्गबहादुर प्रवृत्तिको महिला हिंसा थियो । त्यस्तै अर्को प्रकरण पर्खाल काण्डका नामले प्रचलित छ । त्यस्ता प्रकरणमा दोषीलाई कारबाही नगरी उन्मुक्ति दिएर कानुनको धज्जी उडाउने गरिएको छ ।

निर्मला हत्याकाण्ड आज गुमनाम जस्तै भइसकेको छ । दोषीलाई कारबाही गर्न कुनै विषेश व्यक्तिले रोक्ने र महिला अधिकारकर्मीहरु निदाउनाले समस्या भयावह बनेको तथ्य हाम्रै अगाडि छँदै छ ।

महिला अधिकार र शसक्तिकरणको नाममा सूदुरपश्चिममा हरेक वर्ष छाउ गोठ भत्काउने गरिन्छ । यो काम हरेक वर्ष नयाँ आइएन्जिओ नेपाल पसेपछि फोटो खिचाउन र विदेशमा नेपालमा भएको प्रगति विवरण देखाउन गर्ने गरिएझैं भएको छ तर महिला अधिकारकर्मीकै घरमा स्वयं छाउकोठामा बस्ने र छुट्टै वेडमा सुत्ने छाउप्रथालाई कतै उल्लेख गरिँदैन त्यसलाई अघोषित रुपमा उत्तराधुनिक छाउकोठाको नाम दिइएको छ ।

छाऊ गोठलाई विगत २० वर्षदेखि भत्काइँदै आँउँदा पनि त्यो प्रथा किन निर्मूल हुन सकेन भन्ने तर्फ कुनै निकायको ध्यान नजानु र छाउगोठ भत्काउनतर्फ मात्र ध्यान जानु निकै दुःखको विषय हो । मेहनत र परिश्रम गरी बनाइएका छाप्रो गोठ भत्काउनाले गरिबको सम्पत्तिको नाश मात्र हो । के हामी कुनै घरानियाँ महिलाको छाउकोठामा रहेको छाउवेड फुटाएर छाउकोठाको अन्त्य गर्न सक्छौँ ? निश्चय पनि सक्दैनौँ । छाउगोठ भत्काउँदा पनि सुदूरका महिला त्यही भत्किएका गोठमा महिनावारी हुँदा गएर सुत्ने गर्दछन् र हावा, वर्षा र जाडोका कारण मर्ने गर्दछन् । छाउगोठको विकल्प जनचेतना नजागेसम्मके लागि छाउ महल हुन सक्छ ।
व्यवस्थित घर बनाइदिने हो भने हाम्रा आमा दिदीबहिनीको ज्यान जानबाट रोकिन्थ्यो कि ! कमसेकम छाउगोठ र छाउकोठा बराबर हुनेथियो, निकै व्यवस्थित उत्तरआधुनिक । छाउगोठको विकल्प अहिलेलाई छाउमहल हुनसक्छ । जहाँ छ सात जना महिलाहरु सुत्न सकुन् । खाना, पानी, तथा व्यवस्थित आवास होस् र आनन्दसँग आराम गर्न सकून् ।

प्रतिक्रिया