शनिबार, पुष ५, २०८२

घट्दै गएको औद्योगिक बस्तु तथा पेट्रोलियम पदार्थको आयात बढ्न थाल्यो

नेपालखोज २०७७ मंसिर १७ गते १४:३७

काठमाडाैं । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को प्रत्यक्ष असर मुलुकको बैदेशिक व्यापारमा परेको छ । नेपाल राष्ट्र बैंकले कोभिड -१९ ले पारेका प्रवाभका बारेमा गरेको बिश्लेषण अनुसार महामारीको असर वाह्य व्यापार, राजश्व परिचालन, पुँजीगत खर्च र बैंकिङ्ग क्षेत्रको कर्जा लगानीमा बढी देखिएको हो ।

कोभिड–१९ महामारीका कारण लकडाउनको सुरुवाती महिनादेखि आर्थिक गतिविधि प्रभावित भई औद्योगिक कच्चा पदार्थ, ईन्धन, पूँजीगत वस्तु, यातायातका साधन तथा पार्टस् लगायतका वस्तुहरुको आयात घटेकोमा असोज महिनामा त्यस्ता वस्तुहरुको आयात बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार २०७६ चैतमा लकडाउन सुरु भएको अवस्थामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरको खाद्य तथा पेय पदार्थ आयात भएकोमा २०७७ बैशाख, जेठ, असार, साउन, भदौ र असोज महिनामा यस्तो रकम क्रमश १६ अर्ब ७० करोड, १९ अर्ब ९० करोड १८ अर्ब २० करोड, १९ अर्ब ५० करोड, २० अर्ब ६० करोड हुँदै २० अर्ब १० करोड रुपैयाँमा सिमित भएको छ ।

यसैगरी २०७६ चैतमा १९ अर्ब १० करोड रुपैयाँ बराबरको औद्योगिक बस्तुहरुको आपुर्ती भएकोमा त्यसदेखि यता अर्थात २०७७ बैशाख, जेठ, असार, साउन, भदौ र असोजमा क्रमश १० अर्ब ४० करोड, २६ अर्ब २० करोड, ३५ अर्ब २० करोड, २८ अर्ब २० करोड, ३३ अर्ब र ३८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । यसैगरी २०७६ चैत महिनामा १० अर्ब ९० करोड रुपैयाँ बराबरको इन्धन तथा लुब्रिकेन्टस आयात भएकोमा २०७७ असोजमा यस्तो बस्तुको आयात १० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार २०७६ चैतमा पुंजीगत बस्तु पार्टस तथा अन्य सामान अन्तर्गत आठ अर्ब रुपैयाँको आयात भएकोमा यस्तो आयात २०७७ असोज मसान्तसम्म आईपुग्दा १८ अर्ब रुपैयाँ पुगेको छ ।

यातायातका साधन पार्टस तथा अन्य सामान शिर्षक अन्तर्गत भने २०७६ चैतमा दुई अर्ब ५० करोड रुपैयाँको आयात भएकोमा यस्ता बस्तुको आयात रकम पछिल्लो समयमा बढेर १२ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । कोभिड १९ का कारण थला परेको अर्थतन्त्र बिस्तार चलायमान हुँदै जाँदा बस्तुहरुको आयात बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

२०७६ चैत देखि २०७७ असोजसम्म भएको आयातको बिवरण (रकम रु अर्बमा)

प्रतिक्रिया