सोमबार, असार ३२, २०८१

राजावादी र गणतन्त्रवादीको लिँडेढिपी

हरिकृष्ण खतिवडा (अपरुष) २०७७ मंसिर २० गते १८:३१

पङ्तिकार राजा नै चाहिन्छ या गणतन्त्र नै चाहिन्छ भन्ने लिँडेढिपीबाट मुक्त रहेको जानकारी पहिले दिइहालौं र कुरा सुरु गरौं । मंसिर पहिलो साता विराटनगरबाट राजावादी समर्थकले जुलुस निकालेको कुरा सर्वविदितै छ । त्यसपछि यो विस्तार हुने क्रममा पुग्यो । नेपालगञ्ज पोखरा, वीरगञ्ज हेटौंडा हुँदै काठमाडौंसम्म आइपुग्यो । काठमाडौंसम्म आइपुग्दा र्‍याली, प्रदर्शन, आन्दोलन, खबरदारी या चेतावनी जे नाम दिऊँ यसले धेरैवटा सन्देशहरु दिएको छ ।

यो प्रदर्शन दलहरुप्रतिको तीव्र वितृष्णा थियो । जस्तो दोस्रो जनआन्दोलनमा राजाको निरंकुशताप्रति जनताको वितृष्णा थियो । त्यस्तै वितृष्णा र आक्रोश यसमा पनि समाहित छ । नभए कोरोनाको यो ज्यादतीमा भिडभाड नै गरेर प्रदर्शन गर्नु आवश्यकता किन रहन्थ्यो होला र ? जनताका चासोहरुमा सरकारको असफलता पनि यसमा समाहित रहेको छ । एकातिर जनताले सरकारलाई खबरदारी गर्न पठाएको नेपाली कांग्रेस कानमा तेल हालेर सुतेको छ भने अर्कोतिर सत्तापक्ष घरझगडा र बेमेलको स्थितिमा छ । खबरदारी गर्ने काम कसको हो र जनताका भावना र संवेदना कसले बुझिदिनु पर्ने हो ?यी दुवै प्रश्नको उत्तर जनताले बुझ्न सकेका छैनन् । जनताको आक्रोशलाई कतिपय बुद्धिमान् मानिएकाहरु राजावादी झुण्ड, पश्चगामी, रैती आदि शब्दले सम्बोधन गरेर आक्रोशितहरुलाई आलो घाउमा नुन दल्ने काममा व्यस्त छन् ।

सरकारको दुई वर्षे कार्यकाल उदासीनतामा वित्यो । प्रतिपक्षका संसदीय दलका नेताको कुम सँधै प्रधानमन्त्रीको कुममा जोडिइरह्यो । गणतन्त्रमा जनताले यस्तै प्रपिक्षको चाहाना राखेका त पक्कै थिएनन् कि ! गणतन्त्रमा पनि नेपाली जनताले जनता हुन पाएका छैनन् । जस्तो राजतन्त्रमा नेपाली जनताले जनता हुन पाएका थिएनन् । राजतन्त्रमा एउटा मात्र राजा थिए । आज गाउँ गाउँमा छोटा राजाहरु उत्पन्न भएका छन् । तिनको नाटकीय रुपले दुनियाँ छलेको छ । नीतिगत रुपमा नै तिनीहरु भ्रष्टाचारमा लिप्त छन् । केन्द्रीय सरकारका राजाहरु पनि त्यसैमा लिप्त छन् ।

अहिले निर्मल निवासमा ज्ञानेन्द्रको मुहारमा छुट्टै चमक छ । उनलाई लागेको छ अब राजतन्त्र फर्कनेवाला छ । त्यस्तै गणतन्त्रवादी भनिएकाहरुको निधार र मुहार बेसरी चाउरिएको छ । गणतन्त्रका रखवाली गरिरहेकाहरु ओली दरबारमा पाँच छ सय जनाको हुलले यसो गरिरहेछन् महाराज ! भनेर खबर लगिरहेका छन् । ओलीजीको सरकार विश्वकै अभूतपूर्व सफल सरकार भएकोले चिन्ता नलिन ढाडस दिइरहेका छन् । प्रष्ट हुनुपर्ने कुरा चाँहि अर्को छ गणतन्त्र न नेपाली जनताको चाहानाले आयो । न त राजतन्त्र फर्कियो भने पनि नेपाली जनताको चाहनाले फर्किने छ । त्यो चाहाना राख्ने मालिक यहाँ अर्कै छ । खेल खेल्ने जोसुकै होउन् खेल खेलाउने आयोजक अर्को नरहेसम्म यस देशमा व्यवस्था फेरिन सक्दैन । खेल खेलाउनले फाइदा हुने भयो भने राजतन्त्र फर्काउला नभए केहि समय गणतन्त्रको मजा लुट्ला ।

काठमाडांै प्रशासन र नेपाल सरकारले राजावादीलाई आन्दोलन नगर्न र आन्दोलन गरे कारबाही गर्ने धम्की पनि दियो । स्थानीय प्रशाशन ऐन २०२० र २०२८ को कानुनी ऐनमार्फत् कारवाही गर्न सकिने अवस्था नभएको होइन तर महामारीकै बीच ओलीजीको समर्थनमा निकाालिएको शक्ति प्रदर्शनकारीलाई त्यही ऐनले कारबाही गर्ला नगर्ला त्यो हेर्न भने बाँकी छ ।

नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्ष समेत रहेका विपीन कोइराला पनि काठमाडौंको ¥यालीमा सहभागी भए । उनले आफ्नो पार्टीले आफूलाई स्वतन्त्र रुपमा बिचार राख्न छुट दिएको बताए । कांग्रेसभित्र व्यक्तिको स्वतन्त्र बिचारलाई स्वतन्त्रतापूर्वक राख्न पाउने मौलिक हक रहेको कोइरालाले बताए । दिपक मनांगेले पनि एउटा अन्तर्वातामा सबैभन्दा बढी राजावादी नेकपाका सांसद रहेको तर पार्टीको सिद्धान्तले खुल्न छुट नदिएकाले नेकपाका संसद बाहिर आउन नसकेको बताएका थिए । यसले नेकपाभित्र राजावादीहरु प्रशस्त रहेको जनाउँछ । तिनीहरु गणतन्त्रमा लुट मच्चाउन पाएसम्म मच्चाउँछन् र राजा फर्किए भने पूmलमाला लिएर स्वागतको अग्रपङ्तिमा रहनेछन् ।

कतिपय विश्लेषकहरुले राजावादीहरुलाई बयलगाढाको समर्थन रहेको पनि बताएका छन् । त्यसो हो भने बालुवाटारमा पनि मीठो मुस्कान छाएकै होला ।

यसपटकको प्रदर्शनका नाराहरु खासै विशेष रहेनन् । राजा र जनता एक हौं । यसको मतलब राजा र जनता छुट्टाछुट्टै थिए भन्ने रह्यो । लगभग जनता र नेता एक हौं भने जस्तै । दुई समानान्तर रेखा कुन ठाउँमा गएर मिल्ने हो थाहा छैन । राष्ट्रिय एकता कायम गरौं । राष्ट्रियता र राष्ट्रिय शब्द पनि सारै फिका अनुभव हुन थालेको प्रष्टै छ । नेतृत्वमा रहन चाहने हरेकले राष्ट्रियताको बेसरी हाउगुजी फैलाएजस्तै र।जावादीहरुले पनि त्यो सिकेका रहेछन् भनौं । अतिराष्ट्रवाद एउटा अर्को खतारा हो । संसारमा हिटलर जति राष्ट्रवादी को थियो होला र ? कालान्तरमा त्यही राष्ट्रवादका कारण जर्मनीले ठूलो क्षति व्यहो¥यो । गणतन्त्र र संघीयता खारेज गर यो नारा भने क्रान्तिकारी छ । यसैलाई देखेर होला समाजिक सञ्जालमा ठूलै रोईकराई देख्न पाइयो । खेल खेलाउनेहरु पनि सक्रिय भैसकेका छन् कि भन्ने यो नाराले सन्देश दिएको छ । राष्ट्रिय शक्ति नेपालले भने यसलाई अस्वीकार गर्दै यो स्वस्पूmर्त आन्दोलन रहेको बतायो ।

गोल नभएसम्म खेलको परिणाम बराबरीमा रोकिए जस्तै अहिलेलाई यो मुद्दा बराबरीमै रोकियो भनौं । नेपालको गणतन्त्र आयातित थियो भन्ने कुरा छर्लंग छ । अब राजा फर्किएर आए पनि राजा आयातित हुने कुरा पक्का छ । खेललाई कार्यदिशा जसले दिन्छ त्यही शक्तिको भक्तिमा राजतन्त्र मौलाउने हो । नेपाली जनताको भागमा आलु मात्र पर्ने हो । त्यो आलुलाई हामीले कुन स्वदमा चाख्ने भन्नेमात्र हो । कट्टर गणतन्त्रवादीलाई अलिनो आलु पर्ला र राजावादीलाई नुनिलो मसालेदार ।

प्रतिक्रिया