बिहीबार, वैशाख १३, २०८१

रहेनन् वरिष्ठ गायक जगतमर्दन

नेपालखोज २०७७ मंसिर २२ गते १४:३९

काठमाडौँ । वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । ८५ वर्षीय थापाको सोमबार बिहान १० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनको निधनको पुष्टि उनका छोरा मोहितमर्दनले गरेका छन् ।

कोरोना संक्रमण भएर मुक्त भएका उनी छातीको समस्याका कारण अस्पतालमा उपचारत थिए । वि।सं २०१३ सालबाट नै रेडियो नेपालबाट सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका उनले २०१८ सालमा कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए ।

सञ्चय कोष, कृषि चुन उद्योग जस्ता सरकारी निकायमा रहेर काम गरेका उनको ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’ लगायतका एल्बम आएका छन् । बृद्ध अवस्थामा सम्म पनि संगीत अध्यायलाई निरन्तरता दिएका उनले ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गरेका थिए ।

थापाको निधनप्रति बिभिन्न कलाकर्मीलगायतले दुःख व्यक्त गरेका छन् । थापाका एक छोरा र तीन छोरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया