नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ सार्वजनिक

काठमाडौ । केन्द्रिय तथ्यांक बिभागले नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ सार्वजनिक गरेको छ । बिभागले आज सोमबार तेस्रो पटक नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ सार्वजनिक गरेको हो ।
नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरू उपलब्ध गराउने प्रमुख उद्देश्य अनुरूप सर्वेक्षण सार्वजनिक गरिएको बिभागले जानकारी दिएको छ ।
यसबाट स्थानीय तहमा हुने योजना तर्जुमा, नीति निर्माण तथा विकास कार्यहरूको अनुगमनको लागि आवश्यक पर्ने तथ्याकंहरूको अपर्याप्ततालाई न्यून पार्नुका साथै अन्तर्राष्ट्रिय घोषणाहरू तथा दिगो विकास लक्ष्यका सूचकहरूको अनुगमन गर्न ठोस योगदान पुग्ने विश्वास गरिएको छ । यो सर्वेक्षणको कार्यान्वयन छैटौं विश्वव्यापी बहुसूचक सर्वेक्षणको श्रृंखलाका रूपमा संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा नेपाल सरकारले गरेको हो ।
सर्वेक्षणमा तथ्याङ्क संकलनको लागि नेपाल भर ५१२ क्लष्टर (गणना क्षेत्र) हरूमध्ये शहरी क्षेत्रबाट २९० क्लष्टर र ग्रामीण क्षेत्रबाट २२२ क्लष्टर तथ्यांकीय विधिबाट छनौट गरी हरेक क्लष्टरबाट गणनाको लागि २५ वटा परिवारहरू छानिएका थिए । यसरी छानिएका जम्मा १२ हजार आठ सय परिवारहरूबाट पारिवारिक विवरण संकलन गरिएको थियो । साथै प्रत्येक परिवारमा भएका १५ देखि ४९ वर्ष उमेर समूहका महिला, १५ देखि ४९ वर्ष उमेर समूहका पुरुष, ५ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाहरूको विवरण संकलन गर्नुका साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको बिभागले जनाएको छ ।
तथ्यांक संकलनका लागि पारिवारिक प्रश्नावली, १५ देखि ४९ वर्ष उमेर समूहका महिला तथा पुरुषको व्यक्तिगत प्रश्नावली, ५ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाको व्यक्तिगत प्रश्नावली छुट्टा छुट्टै भरिएको थियो । साथै छनौटमा परेका परिवारहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने पिउने पानीमा रहेका हानिकारक जीवाणु, आर्सेनिक परीक्षण गर्ने कार्यक्रम पनि रहेको थियो । पारिवारिक प्रश्नावली अन्तर्गतका मोड्युलहरूमा परिवार सदस्य सूचीकरण लगत, शिक्षा, पारिवारिक विशेषता, सामाजिक सुरक्षा कार्यक्रम, परिवारमा प्रयोग भएको इन्धन, खानेपानी र सरसफाइ, हातधुने व्यवस्था तथा पानीको गुणस्तर परीक्षण सम्बन्धी विवरण संकलन गरिएको थियो भने महिलाको व्यक्तिगत प्रश्नावली अन्तर्गतका मोड्युलहरूमा पृष्ठभूमि, आम सञ्चार र सूचना सञ्चार प्रविधिको उपयोग, विवाहरसँगै बसेका, प्रजनन् र जन्म इतिहास, पछिल्लो बच्चा जन्माउँदाको चाहना, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुत्केरीपछिको आमा रनवजात शिशुको स्याहार, गर्भनिरोध, अपरिपूर्त माग, घरेलु हिंसाप्रति धारणा, मानव बेचबिखन, वयस्कको कार्यात्मक क्षमता, एचआइभी र एड्स्, सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवन रजीवन सन्तुष्टि सम्बन्धी विवरण संकलन गरिएको थियो । त्यसै गरी पुरुषको व्यक्तिगत प्रश्नावली अन्तर्गतका मोड्युलहरूमा पृष्ठभूमि, आम सञ्चार र सूचना सञ्चार प्रविधिको उपयोग, विवाहरसँगै बसेका, प्रजनन्, घरेलु हिंसाप्रति धारणा, मानव बेचबिखन, वयस्कको कार्यात्मक क्षमता, एच्आइभीरएड्स्, सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवन र जीवन सन्तुष्टि सम्बन्धी विवरण संकलन गरिएको थियो ।
पाँच वर्षमुनिका बालबालिकाको व्यक्तिगत प्रश्नावली अन्तर्गतका मोड्युलहरूमा उमेर, जन्मदर्ता, प्रारम्भिक बाल्यकाल विकास, बाल अनुशासन, बालबालिकाको कार्यात्मक क्षमता, स्तनपान र शिशु स्याहार, खोपको विवरण रबिसञ्चो हुँदाको स्याहार तथा तौलरउचाई मापन विवरण संकलन गरिएको थियो । त्यसैगरी ५ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको व्यक्तिगत प्रश्नावली अन्तर्गत मोड्युलहरूमा उमेर, बाल अनुशासन, बालबालिकाको कार्यात्मक क्षमता, अभिभावकको संलग्नता, आधारभूत सिकाइ सम्बन्धी सीपहरू विवरण संकलन गरिएको थियो ।
बाल मृत्यु घट्यो

बिभागका अनुसार बि.सं. २०७१ सालमा प्रति एक हजार जीवित जन्मेका शिशुहरूमध्ये एक वर्ष उमेर नपुग्दै ३३ जना शिशु मृत्यु भएको थियो भन्ने हालको सर्वेक्षण (२०७६) अनुसार सो घटेर २५ जनामा झरेको छ । सोही अवधिमा पाँच वर्षमुनिका बालबाललिकाको मृत्युदर पनि प्रति एक हजार जीवित जन्मेका बालबालिकामध्ये पाँच वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको छ । त्यसै गरी प्रति हजार जीवित जन्मेका नवजात शिशुहरूमध्ये एक महिना उमेर नपुग्दै २३ जना नवजात शिशु मृत्युबाट झरेर १६ जनामा रहेको देखिन्छ ।
प्रदेशगत अनुसार नवजात शिशु मृत्यु दर सवैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा प्रति एक हजार जन्ममा २५ जना छ भने सवैभन्दा घटी बाग्मती प्रदेशमा नौ जना रहेको छ भने प्रति एक हजार जन्ममा सवैभन्दा बढी शिशुमृत्यु दर ३५ जना लुम्बिनी प्रदेशमा रहेको र सवैभन्दा कम प्रदेश २ मा १५ जना रहेको देखिन्छ । त्यसै गरी प्रति एक हजार जन्ममा सवैभन्दा बढी पाँच वर्ष मुनिकाबालबालिका बालमृत्यु दर ४० जना लुम्बिनी प्रदेशमा रहेको छ भने सवैभन्दा कम प्रदेश २ र बागमती प्रदेशमा १९ जना रहेको देखिन्छ ।
८९.९ प्रतिशत घरिपरिवामा विद्युत तथा टेलिफोनमा पहुँच
नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार ८९ दसमलव नौ प्रतिशत घरपरिवारमा विद्युत सेवाको पहुँच पुगेको छ भने प्रदेशगत आधारमा हेर्दा सबैभन्दा धेरै गण्डकी प्रदेश (९८ दसमलव नौ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेश (४४ दसमलव दुई प्रतिशत) रहेको छ ।
नेपालमा ९६ दसमलव दुुई प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोवाइल फोन) सुविधाको पहुँच रहेको छ भने प्रदेशगत आधार अनुसार सबैभन्दा धेरै बागमती प्रदेश (९८ प्रतिशत) र सबैभन्दा कममा कर्णाली प्रदेश (९३ दसमलव छ प्रतिशत) रहेको छ ।
आमसञ्चार र सूचना सञ्चार प्रविधिमा पहुँचमा बृद्धि
नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरूले हप्तामा कम्तीमा एकपटक तीनवटै प्रकारका आमसञ्चार पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने गरेको चार दसमलव एक प्रतिशतले पाइयो भने सोही उमेर समूहका १२ दसमलव नौ प्रतिशत पुरुषले गर्ने गरेको देखिन्छ । प्रत्येक दुई जनामध्ये एक जना (५१ दसमलव एक प्रतिशत) घरपरिवारसँग इन्टरनेटको पहुँचमा कुनै उपकरणको माध्यमद्वारा प्रयोग गरेको पाइयो ।
१५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७९ दसमलव तीन प्रतिशत महिलाहरूसँग आफ्नै माोबाइल फोन रहेको छ भने ९२ दसमलव चार प्रतिशत महिलाहरूले गत तीन महिनामा मोबाइल प्रयोग गरेको देखिन्छ । त्यसै गरी १५ देखि ४९ वर्ष उमेर समूहका पुरुषहरूमध्ये ९१ दसमलव चार प्रतिशत पुरुषहरूसँग आफ्नै माोबाइल फोन रहेको छ भने गत तीन महिनामा ९६ दसमलव आठ प्रतिशत पुरुषहरूले मोबाइल प्रयोग गरेको देखिन्छ ।
सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवनमा कमी
नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार नेपालमा छ दसमलव एक प्रतिशत तथा ४५ दसमलव दुुई प्रतिशत क्रमशः १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरू तथा पुरुषहरूले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइयो । पाँच दसमलव पाँच प्रतिशत पुरुष र दुुई दसमलव दुुई प्रतिशत महिलाले १५ वर्षअगाडि नै एक पूरा चुरोट सेवन गरेको पाइएको छ ।
सर्वेक्षेण अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाहरूले कम्तीमा एक पटक एक महिनाको कुनै दिनमा मदिराजन्य पदार्थ सेवनगर्ने गरेको थियो भने सोही समूहका ४० दसमलव छ प्रतिशत पुरुषहरूले मदिराजन्य पदार्थसेवन गरेको पाइएको छ । १५ देखि ४९ वर्ष उमेर समूहका सात दसमलव नौ प्रतिशत पुरुष र पाँच दसमलव एक प्रतिशत महिलाले १५ वर्षअगाडि नै पहिलो पटक मदिराजन्य पदार्थ सेवन गरेको पाइएको छ ।
प्रजनन् तथा मातृत्व स्वास्थ्यमा सुधार
नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार कूल प्रजनन्दर प्रति महिला (१५ देखि ४९) वर्ष उमेर समूहले दुुई जीवित बच्चा जन्माएका पाइएको छ । १५ देखि १९ वर्ष उमेर समूहको किशोरीको प्रजजन् दर प्रति एक हजार किशोरीहरूले ६३ जीवित बच्चा जन्माएका पाइयो भने छ जना महिलामध्ये एक जना (१३ दसमलव आठ प्रतिशत), २० देखि २४ वर्ष उमेर समूहका महिलाहरूले १८ वर्षअगाडि नै जीवित बच्चा जन्माउने गरेको पाईएको छ ।
सर्वेक्षेण अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका हालै विवाहित महिलाहरूमध्ये प्रत्येक दुुई जनामध्ये एक जना (४६ दसमलव सात प्रतिशत) विवाहित महिलाले परिवार नियोजनको उपाय तथा साधनहरू (परम्परागत वा आधुनिक विधि) को प्रयोग गरेको देखिन्छ भन्ने सोही उमेर समूहका पाँच जनामध्ये तीन जना (६१ दसमलव नौ प्रतिशत) महिलाहरूले आधुनिक परिवार नियोजनका साधन र सेवाहरूको आफ्नो माग अनुसार प्रयोगमा सन्तुष्टि रहेको देखिन्छ ।
सर्वेक्षणभन्दा दुुई वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरूमध्ये ७७ दसमलव आठ प्रतिशतले सिफारिश भए बमोजिम कुनै स्वास्थ्यकर्मीसँग कम्तिमा चार पटक पूर्वप्रसूति जाँच गराएको देखिन्छ । सर्वेक्षणभन्दा दुुई वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरूमध्ये ७७ दसमलव पाँच प्रतिशतले स्वास्थ्य संस्थामा, ७७ दसमालव दुई प्रतिशतले दक्ष प्रसूतीकर्मीबाट र १५ दसमलव तीन प्रतिशतले सल्यक्रियाको माध्यमबाट प्रसूती गराएको थियो ।
बाल स्वास्थ्य, पोषण तथा विकासमा सुधार

नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार सर्वेक्षणको पाँच वर्ष अवधिमा पाँच वर्षमुनिका बालबालिकाहरूको पोषण स्थितिमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरू (लिखुरे), उमेर अनुसार उचाई कम भएका बालबालिकाहरू (पुड्को) बि.सं.२०७१ मा क्रमशः ३० दसमलव एक प्रतिशत र ३७ दसमलव पाँच प्रतिशतबाट घटेर बि.सं.२०७६ मा क्रमशः २४ दसमलव तीन प्रतिशत र ३१ दसमलव पाँच प्रतिशत भएको पाइएको छ । त्यसै गरी उचाई अनुसार तौल कम भएका बालबालिकाहरू (ख्याउटे) र उचाई अनुसार तौल बढी भएको बालबालिकाहरू बि.सं. २०७१ र बि.सं. २०७६ मा खासै भिन्नता नभएको पाइएको छ । उमेर अनुसारको तौल कमी भएका बालबालिकाहरू (लिखुरे) सबैभन्दा बढी ३७ दसमलव चार प्रतिशत कर्णाली प्रदेशमा र सबैभन्दा कम ११ दसमलव एक प्रतिशत बागमती प्रदेशमा देखिएको छ ।

सर्वेक्षण अनुसार पाँच जना आमाहरू मध्ये तीन जना (६२ दसमलव एक प्रतिशत) ले आफ्नो बच्चालाई जन्मेको छ महिनासम्म आफ्नो दुध मात्र खुवाउने गरेको पाइयो । प्रदेशगत आधारमा हेर्दा, सबैभन्दा बढी (६९ दसमलव नौ प्रतिशत) प्रदेश २ मा, त्यसपछि क्रमशः कर्णाली प्रदेशमा (६८ दसमलव तीन प्रतिशत) र लुम्बिनी प्रदेशमा (६३ दसमलव दुुई प्रतिशत) देखिन्छ भने सबैभन्दा कम बागमती प्रदेशमा (५१ दसमलव एक प्रतिशत) रहेको पाइएको छ ।
नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार नेपालमा बि.सं. २०७१ देखि बि.सं. २०७६ को पाँच वर्ष अवधिमा १२ देखि २३ महिनासम्मका बालबालिकाहरूमध्ये ७० दमसलव दुई प्रतिशत बालबालिकाहरूले मात्र पहिलो वर्षमा सबैखोप पूर्णमात्रामा लिएको देखिएको छ ।
सर्वेक्षणभन्दा दुुई हप्ताअघिसम्मको अवधिमा झाडापखाला लागेका पाँच वर्षमुनिका बालबालिकाहरू नौ दसमलव सात प्रतिशत रहेको थियो भने २८ दसमलव नौ प्रतिशत बालबालिकाहरूलाई मात्र पुनर्जलीय झोलका साथै जिंक चक्की पनि खुवाएको पाइएको छ । ३६ देखि ५९ महिनाका बालबालिकाहरूमध्ये ६१ दसमलव नौ प्रतिशत बालबालिकाले सर्वेक्षणको अवधिमा प्रारम्भिक बाल्यकाल शिक्षा कार्यक्रममा जाने गरेको पाइयो भने समग्रमा, प्रारम्भिक बाल विकास सूचकांक ६५ दसमलव दुुई प्रतिशत रहेको देखिएको छ ।
१५ प्रतिशत बालबालिका बिद्यालय बाहिर
नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार प्राथमिक विद्यालय (१ देखि ५ कक्षा) मा पाँच दसमलव छ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६ देखि ८ कक्षा) मा चार दसमालव तीन प्रतिशत र माध्यमिक विद्यालय (९ देखि १२) मा १५ दसमलव एक प्रतिशत विद्यालय बाहिर रहेको बालबालिका देखिएको छ । प्राथमिक विद्यालय (१ देखि ५ कक्षा) को १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिकाहरू ३९ दसमलव आठ प्रतिशत रहेको पाइएको छ । प्राथमिक विद्यालय (१ देखि ५ कक्षा) मा ८१ दसमलव आठ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६ देखि ८ कक्षा) मा ७३ दसमलव एक प्रतिशत, माध्यमिक विद्यालय (९ देखि १२) मा २७ दसमलव दुुई प्रतिशत बालबालिकाहरूले पूरा कक्षा उतीर्णगरेको देखिएको छ ।
८९ दसमलव आठ प्रतिशतलाई जन्मदर्ताको बारेमा जानकारी
नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार पाँच वर्षमुनिका बालबालिकाका आमा र स्याहारसुसार गर्ने व्यक्तिहरूमध्ये ८९ दसमलव आठ प्रतिशतले नेपालमा जन्मदर्ता कसरी गर्ने भन्ने थाहा भएको पाइएको छ । त्यसैगरी पाँच वर्षमुनिका बालबालिकाहरूको जन्मदर्ता ७७ दसमलव दुुई प्रतिशत रहेको पाइएको छ । प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी (८९ दसमलव दुुई प्रतिशत) पाँच वर्षमुनिका बालबालिकाहरूको जन्मदर्ता सुदूरपश्चिम प्रदेशमा रहेको थियो भने सबैभन्दा कम (७० दसमलव आठ प्रतिशत ) बागमती प्रदेशमा देखिएको छ ।
पाँच प्रतिशतले मात्र गरे स्वास्थ्य बीमा

नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिला (पाँच दसमलव आठ प्रतिशत) तथा पुरुष (पाँच दसमलव दुुई प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाइएको छ । त्यसै गरी पाँच देखि १७ वर्ष उमेर समूहका बालबालिका (चार दसमलव चार प्रतिशत) तथा पाँच वर्षमुनि बालबालिका (तीन दसमलव सात प्रतिशत) ले स्वास्थ्य बीमा गरेको पाईएको छ ।
१५ देखि ४९ बर्षका महिला सबै भन्दा बढी खुुसी
नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरू (६२ दसमलव चार प्रतिशत) तथा सोही उमेर समूहका पुरुषहरू (६४ दसमलव सात प्रतिशत) ले ज्यादै खुशी वा केही हदसम्म खुशीव्यक्त गरेका पाईएको छ । त्यसैगरी १५ देखि २४ वर्ष उमेर समूहका युवतीहरू (६८ प्रतिशत) तथा सोही उमेर समूहका युवाहरू (६९ दसमलव छ प्रतिशत) ले ज्यादै खुशी वा केही हदसम्म खुशी व्यक्त गरिएको पाइएको छ ।
सर्वेक्षेण अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका महिला (४५ दसमलव चार प्रतिशत) तथा सोही उमेर समूहका पुरुष (५२ दसमलव पाँच प्रतिशत) ले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तरमा सुधार हुने अपेक्षा व्यक्त गरेको पाइयो भने १५ देखि २४ वर्ष उमेर समूहका युवतीहरू (५० दसमलव एक प्रतिशत) तथा सोही उमेर समूहका युवाहरू (५६ दसमलव छ प्रतिशत) ले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गरेको पाइएको छ ।
प्रतिक्रिया