सोमबार, वैशाख १०, २०८१

तस्विरमा गिरिजाबाबुको त्यो दिन

चन्द्रशेखर कार्की २०७९ चैत ७ गते १४:००

मलाई खुल्दुली भैरहन्थ्यो सधैं व्यस्त रहने गिरिजा प्रसाद कोइरालाको एकदिन कसरी बित्दो हो भनेर। बिहान उठे देखि साँझ शयन कक्षमा नजाँदासम्म उनी एक्लै बसेको देखेकै थिईन। घर होस् कि सिंहदबार या निवास होस् कि पार्टी कार्यालय नै किन नहोस् कोइराला मानिसहरुबाट घेरिएरै बसेका देखिन्थे। तिनै गतिविधिका तस्बीर खिच्दैआएको मलाई कोइरालाको एकदिन तस्वीरमा उतार्ने हुट्हुटी चल्यो। यसो सोची हेरें, मौका पाए कसो उनको एकदिन क्यामेरामा कैद गर्न नपाईएला त हँ ! 

इच्छा गर्दैमा त्यो पूरा पनि हुन्छ भन्ने त कुनै निश्चित हुँदैन। तैपनि त्यो इच्छा पूरा हुन्छ कसरी भनेर सम्भावित उपायहरुले मनमा बुर्कुसी मार्न थाले। जहाँ इच्छा त्यहाँ उपाय भनेको ठीकै रहेछ, एकदिन त मेरो त्यो इच्छा पूरा हुने अवसर आई नै छाड्यो।

देशमा गणतन्त्र आइसकेको र संविधानसभाको चुनाव पश्चात नयाँ सरकार बनेपछि सत्ताको बागडोर छाडेका गणतन्त्रका नायक गिरिजा प्रसाद कोइराला महाराजगञ्जमा दैनिकी बिताइ रहेका थिए । चार पटक देशको प्रधानमन्त्री र एक पटक कार्यकारी राष्ट्र प्रमुख समेत भइसकेका कोइरालाको एक दिन कसरी बित्दै छ भन्ने उत्सुकताले तस्वीर लिन अनुरोध गरेपछि समय पाएँ। त्यही एकदिनका तस्वीरहरु मध्येका केही हुन् यी।

मैले कोइराला बिहान उठे देखि सुत्दासम्मका केही क्षणहरुलाई क्यामेरामा कैद गर्न पाएको थिएँ। मलाई अचम्म के लाग्यो भने जब उनको शयन कक्ष र बैठक कोठामा पसें देशको पूर्व प्रधानमन्त्री र कार्यकारी प्रमुख भइसकेको व्यक्तिको बसाई पत्याउनै नसकिने स्तरको देखियो। आजका नेताको बैठक कक्ष, भान्सा कोठमा र लाखौंका खाटको तुलनामा दाँज्नै नमिल्ने अति सामान्य थिए कोइरालाको निजी कोठाहरु। एउटा सुत्ने कोठा र अर्को भेटघाट गर्ने कोठामा सीमित थियो उनको दैनिकी । बिहान देखि बेलुकीसम्म व्यस्त रहन्थे । सरकारमा नहुँदा पनि उनको व्यस्तता र सक्रियतामा कुनै कमि देखिँदैन थियो । 

बिहानै उठेर सरसफाई गरिसक्दानसक्दै सुर्जु (सूर्य उराव, तीन दशकदेखि कोइरालाका निजी भान्साका सहयोगी)ले चिया र नास्ता तयार गरिसकेका हुन्थे। कोइराला वाथरुम पसेपछि आफूलाई मन परेको कुनै गीत गुन्गुनाउँथे तर उनको प्रिय गीत के थियो त्यो त कसैले पनि चालपाउन सकेनन् न त सुर्जुले नै पनि। नित्यकर्म सकेपछि चियानास्ता खाने गर्थे उनी। त्यसपछि भेटघाट र राजनीतिक परामर्शमा नेता कोइरालाको दिन बित्ने गथ्र्यो। कहिलेकाँही भेटघाटकालागि बाहिरफेर पनि जाने गर्दथे। साँझ परेपछि नर्स आएर सामान्य स्वास्थ्य जाँच हुन्थ्यो। त्यसपछि टेलिभिजनको समाचार सँगै साँझको खाना खाएर दबाई खाएपछि उनको दैनिकी सकिन्थ्यो।

पार्टीका पुराना साथीभाईलाई सम्झी सम्झी फोन गर्नु, भेट्नै आईपुगेका सामान्य तहका कार्यकर्तालाई यथायोग्य सहयोग गर्नु, जिल्ला जिल्लामा फोन गरेर हालखबर सोधपुछ गर्नु नेता कोइरालाको दैनिकी भएको थाहा पाउँदा मलाई निकै आश्चर्य लाग्यो। उनको इच्छा शक्ति र आत्मबल वास्तवमै अनुशरणयोग्य ठाने मैले। मैले उनको बिहानदेखि साँझसम्मका निजी गतिविधि समेत क्यामेरामा कैद गर्दा कोइरालाले बडो सह्रदयतापूर्वक गरेको व्यवहार म आज पर्यन्त बिर्सन सकिरहेको छुइन।

गिरिजा प्रसाद पनि मानिस नै थिए, कमजोरी उनका नभएका होइनन्। तर एउटा नेतामा हुनुपर्ने अनेक गुण थिए कोइरालासँग। आज मलाई लाग्छ, हाम्रा नेताहरुले असल गुणहरु त गिरिजाप्रसादबाट पनि अनुशरण गरे हुने नि ! हार्दिक श्रध्दाञ्जलि छ ती जोदाहा नेतालाई !

(गत वर्ष प्रकाशित यो सामग्री हामीले सहयोगी दृश्य टिभिबाट लिएका हौं ।)

प्रतिक्रिया