बिहीबार, वैशाख १३, २०८१

द्वन्द्वात्मक भौतिकवादभन्दा परिष्कारवाद जीवनोपयोगी

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ १३ गते ११:३५

द्वन्द्वात्मक भौतिकवादी मान्यताले जीवन र जगतमा हुने सबै वस्तु, घटना र घटना प्रक्रियाहरूको उत्पत्ति, विकास र परिवर्तनको मूल कारण नै भौतिक तत्वको द्वन्द्वात्मक गतिमा निर्भर हुन्छ भन्ने मान्दछ । संसारका सबै जैविक–अजैविक वस्तु, घटना, घटना प्रक्रिया, संघर्ष र आन्दोलनहरू निरन्तर गति र परिवर्तनको प्रक्रियामा हुने गर्छ भन्ने मान्यता पनि यो सिद्धान्तले बोकेको छ । यही पद्धतिलाई नै द्वन्द्वात्मक भौतिकवाद भनिएको हो । यसका सत्यता र असत्यतामा धेरै वादविवाद अद्यापि रहँदै आएको छ । यो माक्र्स र एंगेल्सको लेखनमा आधारित विज्ञान तथा प्रकृतिको दर्शन हो भनी आजसम्म व्याख्या एवं विवेचना हुँदै आएको छ । वस्तु वा समाज परिवर्तन निरन्तर ऐतिहासिक प्रक्रियाको रूपमा हुने मान्यतलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादले स्वीकार्दछ । यो नै यस दर्शनको परिचय एवं मूल मान्यता हो । यो भौतिकवादी दर्शनले ईश्वरको सत्तालाई अस्वीकार गर्दछ । यसले गरिबी र भोक द्वन्द्वका माध्यमले समाधान हुने मान्यतालाई अघि सारेको छ । साथै निरन्तर वर्ग संघर्षका माध्यमले गरिबी र समस्याबाट मुक्ति हुने शक्ति संघर्षणात्मक विश्वासमा यो दर्शन जीवित छ । आज यो दर्शन कम्युनिष्ट सिद्धान्तको मूल दर्शनको रुपमासमेत देखा पर्दछ ।

परिष्कारवाद चाहिँ अंग्रेजी क्लासिजमको नेपाली रूपान्तरण हो । यो सिद्धान्त हामी कहाँ परापूर्वक कालदेखि नै प्रचलित छ । परिष्कारवाद शास्त्रप्रधानवाद भएको कारण यसलाई शास्त्रीयतावादको रुपमा बुझ्नु जरुरी छ । यसलाई शास्त्रीयतावादको नाम परिष्कृत शास्त्रहरुको सारले जीवन र दर्शनको व्याख्या एवं विवेचना गर्ने कारण दिइएको हो । यो सिद्धान्त पूर्वीय र पश्चिमी मुलुकहरुको सम्भ्रान्त परिवारहरुले हृदयतः स्वीकार एवं आत्मसात गरेका पाइन्छ । परिष्कारवादी बिचारधाराको ऐतिहासिक सन्दर्भलाई खोज्दै जाने हो भने इसापूर्व द्वितीय शताब्दीसम्म पुग्नै पर्ने हुन्छ । क्लासिकल शब्दको सर्वप्रथम प्रयोग ल्याटिन भाषाका लेखक कोनिलियस फ्रोनोले गरेको भए पनि पूर्वमा शास्त्रीयतावादको प्रयोग वैदिक कालमै सुरु भएको थियो । पूर्वमा यस सिद्धान्तको खोज गर्न वैदिक कालसम्म पुग्नुपर्ने हुन्छ । पश्चिममा सुरुवाती चरणमा यसलाई अभिजात्य वर्गका निम्ति लेखिने साहित्यको रुपमा परिष्कारवादी साहित्य भनी नमाकरण गरिए पनि पछि आएर सहज, स्पष्ट, सुव्यवस्थित, अनुशासित, बौद्धिक, संयमित, नियन्त्रित आदि गुण वा विशेषता पाइने सिद्धान्तलाई परिष्कारवाद वा शास्त्रीयतावादको रुपमा विवेचना गरिएको हो । यस सिद्धान्तका पश्चिमाहरु प्रतिपादक होरेसलाई मान्दछन् भने हामी हाम्रा वैदिक ऋषिकल्पहरुलाई मान्दछौं ।

यी दुई दर्शनले एक अर्थमा एक अर्कामा विपरित बिचार बोकेका छन् भन्नेमा अत्युक्ति हुँदैन । परिष्कारले अनुशासन, स्पष्टता, व्यवस्थितता, बौद्धिकता, ईश्वरको सत्ता र संयमतालाई आफ्नो मूल मान्यताको रुपमा स्वीकार गर्दछ भने द्वन्द्वात्मक भौतिकवादले यी कुराहरुलाई पूर्णतया अस्वीकार गर्दछ । नेपालका कम्युनिष्ट पार्टीहरुको मूल मान्यता द्वन्द्वात्मक भौतिकवाद हो । कम्युनिष्ट सिद्धान्तको जरो दर्शन द्वन्द्वात्मक भौतिकवाद नै हो । परिष्कारवाद चाहिँ मूलतः धनी वर्गहरुले र परम्परदेखि आफ्नो कुल परम्परा र ईश्वरको सत्तालाई स्वीकार गरेका आम मान्छेहरुले मान्दै आएको जीवन दर्शन हो । यो वेद वैदिक विश्वास, पूर्वजन्म पराजन्म विश्वास, ईश्वरको सत्ता र मूर्ति पूजन, गुरुजनमा विश्वास, शास्त्रकाप्रति सम्मान र कुलका ऐतिहासिक परम्पराको रक्षा एवं आ–आफ्ना जातजाति, भाषा संस्कृति र मान्यताको रक्षाको लागि कटिबद्ध आम मान्छेको जीवशैलीको उदात्त भावनामा आधारित छ ।

मूलभूत रुपमा भौतिकताबाट वाक्क–दिक्क भएका मानिसहरुले र सृष्टि सञ्चालनमा कुनै न कुनै विशेष अदृष्ट शक्ति छ भन्ने मान्यतालाई विश्वास गर्दछन् । भौतिक सुखले आत्मिक शान्ति कदापि दिनै सक्दैन । यो सत्यलाई परिष्कारवादीले महशुुस गर्दछन् । अर्कोतर्फ कला र सहित्यमा परिष्कारवादीहरु फोहोर रचाउँदैन् । सफा, शुद्ध, स्पष्टता र कलात्मकता चाहनु यिनको विशेषता नै हो । नेपालका टुँडाल, थान्का, मिथिला चित्रकला र लोक संकृतिहरु परिष्कारवादका परिचायक हुन् । हाम्रो मुलुकको पर्यटकले हेर्न मनपराउने तमाम मौलिक सिर्जनाहरु परिष्कारवादकै देन हो । यी सम्पूर्ण मौलिकताहरुमा हामी नेपाली वैभवशाली छौं । ईश्वरको सत्ता नमान्ने भौतिकवादको उदयपूर्व नै हामी हाम्रा संस्कृतिहरुले निकै धनी भइसकेका थियौं । आयातित भौतिकवादी सिद्धान्तले आज देशको यो जर्जर अवस्था भइसकेको छ । परिष्कार हाम्रो जीवन पद्धति हो, जरोकिलो हो र हो समृद्धिको परिचायक समेत । कुनै सिद्धान्तको विरोधमा उत्रिएर समय खेर फाल्नुभन्दा पनि हामीले हाम्रा धरोहर र मौलिकताको रक्षा गर्न परिष्कारको सम्वद्र्धन गर्नु जरुरी छ ।

भौतिकवादी दर्शनलाई आफ्नो जीवन पद्धति बनाएका देशका प्रधानमन्त्रीलाई पनि भौतिक सुखसयलले वाक्क दिक्क लागेछ या भनौं द्वन्द्वात्मक भौतिकवादी दर्शमाथि विश्वास उडेछ । त्यसैले उनले सोमबार भगवान् पशुपतिनाथको पूजा आराधना गरे । यो उनको भौतिकतावादी माक्र्सवादको त्याग हो वा आगामी चुनावमा भोट माग्ने स्वार्थी दाउपेच मात्र ? जीवनमा कहिल्यै भगवानको नाम नलिने, सपथ खाँदा पनि ईश्वरको नाम लिन मन नपराउने यी नास्तिकलाई कुनै विशेष इष्ट सिद्धिको लागि भगवानप्रति आस्था जागेको हो भने पनि ठिकै छ ।

मान्छे गरिब रहँदासम्म भौतिक सुखसयलको अभिलासा गर्छ, त्यसको लागि मरिहत्ते गर्छ जब त्यो प्राप्त हुन्छ तब पनि उसमा आत्मिक सुखानुभूति हुन सक्दैन । आत्मिक सुखानुभूति भौतिक पदार्थको लाभ या हानीसँग जोडिएको छैन भन्ने अनुभव उसले पदार्थ र विषयको भोगबाट थाहा पाउँछ । सिद्धार्थ गौतमको ज्ञान मार्गप्रतिको आकर्षण त्यसको एउटा महत्पूर्ण उदाहरण हो । धन, सम्पत्ति र वैभवले मान्छेलाई स्वाभाविक रुपमै परिष्कारतर्फ आकर्षित गर्दछ । शुद्धता, अनुशासन, बौद्धिकता, ईश्वरीय, सत्ता र संययमताको खोजी अध्ययन एवं समृद्धिले स्वस्फूर्त रुपमा चाहाना गर्नु नौलो होइन । तसर्थ द्वन्द्वात्मक भौतिकवादी बिचारको तुलनामा शास्त्रीयतावादी बिचार शक्तिशाली र जीवनोपयोगी छ भन्नमा कुनै संकोच मान्न पर्दैन ।

प्रतिक्रिया