शनिबार, वैशाख १३, २०८२

काजीसापको नैतिकतामाथि प्रश्न !

हरिकृष्ण खतिवडा (अपरुष) २०७७ मंसिर २९ गते २०:२०

पूर्व सांसद एवं दक्षिण कोरियाका पूर्व राजदूत कमानसिंह लामा को कोभिड १९का कारण मृत्यु भएसँगै नेपालको गणतन्त्र नेपालमा हर्ताकर्ता मानिएका राजनीतिज्ञको पछिल्लो पटक चरित्र उदाङ्गो भएको छ । अनुशाशन र नैतिकताको ढोङ रच्ने पाखण्डीको मुकुण्डो यसरी उदाङ्गिएको छ कि लाजले मुख मात्र छोप्न सकिएको छैन । कोरोनाको माक्सले त्यो लाज नछोपिने रहेछ के गर्नु ? के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो चरित्रहीनता छताछुल्ल हुँदा पनि ती मनुख्ये लाज फिटिक्कै मान्दैनन् र आफ्ना पाल्तुहरुलाई प्रधानमन्त्री हुन लागेकोले यसरी चत्रिहत्या गरिएको भनेर छापामा भँगेरा टाउके अक्षरमा लेख्न लगाउँछन् र झन् लाज लागेर आउँछ ।

कुनै एक व्यक्तिलाई लिएर फाल्तु टिप्पणी गरौं भन्ने लागेको त होइन तर सामाजिक मर्यादा र अनुशासनको मर्यादा उल्लङ्घन हुँदा कहिलेकाँहि व्यक्तिगत चरित्रमा पनि लेख्नुपर्ने हुँदो रहेछ । यस लेखको उद्देश्य भने व्यक्तिको चरित्रमा गएर टिकाटिप्पणी गर्ने नहोस् भन्नेमा सचेत रहनेछु । पञ्चायतकालीन काजी चरित्र गणतन्त्रसम्म रही रहँदा हामी मुक दर्शक बन्न पुगेका छौं र पो गडगडाउन मन लागेको त महाशय !

कमानसिंहले आफू मर्दामर्दै बडो साहित्यिक भाषाले राजनीतिको आवरणमा हुने मनीवाद र युवतीवादलाई प्रस्तुत गर्दै नाम नतोकी नारायण काजीतर्फ तोप सोझ्याएका छन् । इन्द्रमाया(कमानकी पत्नी), नारायणकाजी र सुसन(काजीसापको स्वकीय सचिव) कथाका खलपात्र हुन् भने कमानसिंह कथाको सूत्रधार । कमानसिंले लगाएको आरोप भ्रम मात्र नभएर भिडियो समेत लिक भएपछि एकाएक यो प्रकरणले नयाँ रुप लियो । कमानसिंहले आफ्नी कान्छी श्रीमति इन्द्रमाया र भाइ इमानलाई आफ्नो काजक्रियामा उपस्थित नहुन समेत फेसबुक स्टाटसमार्फत् आग्रह गरेका छन् । माया गरेकी श्रीमतीले अन्तै माया मोडेको कमानले स्टाटसमा भन्नू र अडियोमा काजी सापले आफ्नै मान्छे भन्नू संयोग मात्र नभएर आकस्मिक उजागर मानौं ।

एउटा राजनैतिक व्यक्तित्वबाट जनताले पक्कै पनि दलालकारिता चाँहदैनन् तर हामीकँहा जति ठूलो नेता त्यति ठूलो दलाल भने जस्तो भएको छ । काजी साप एउटा राजनैतिक व्यक्तित्व भएर आफ्नो स्वकीय सचिवको लागि हाइड्रो पावरको सेयरको लागि एजेन्ट बन्नू वा भनौं दलाल बन्नू दलालकारिता नै हो । गत वर्ष सञ्चारमन्त्री अडियो प्रकरणमा प्रधानमन्त्रीले भ्रष्टाचार नै गरेको जसरी प्रचार गरेका छन् भन्नू अत्यन्तै निर्लज्जताको उदाहरण थियो । भ्रष्टाचार गर्न र गराउन तालमेल मिलाउन खौज्नु नै ‘घ्राणं अर्धभक्षणम्’(सुँघ्नु नै आधा खानु हो) भने जस्तो भ्रष्टाचारलाई प्रशय दिनु हो । त्यसले वर्तमान राजनैतिक परिवेशमा जति ठूलो राजनैतिक पद त्यति ठूलो दलालको सिद्धान्तलाई चरितार्थ गर्छ । राजनैतिक पद अनुसार दलालको श्रेणी विभाजन गरिदिने हो भने जनताले बुझ्न सजिलो हुने थियो कि ! औंलामा गन्न सकिने केहि नेताहरुको नैतिकता र इमानदारिता बाँकी नै भए तापनि तिनी पनि सँगै उठबस गर्दा दलालै बन्लान् कि भन्ने चिन्ता लाग्छ ।

राजनीति पैसा, शक्ति, अहङ्कार, भष्ट्राचार र वेश्यावृत्तिको उन्मादले चलिरहँदा मजदुर वर्ग श्रम नपाएर भौंतारिई रहेको छ । आज मुलुकको जर्जर अवस्था देख्दा जो कोही स्वाभिमानी नेपालीलाई चोट पुग्नु स्वाभाविकै हो । कतिपय मिडियाहरु समेत काजी पक्षमा लागेर अत्याचारलाई बढावा दिन्छन् अनि झन् दुःख लाग्छ । प्रधानमन्त्रीको कुर्सीमा बस्न लागेको बेला काजी सापमाथि षड्यन्त्र गरी फसाउन लागिएको सम्मका तर्क वितर्कहरु हाँस्यास्पद मात्र छैनन् यी फगत् गैर जिम्मेवार तर्कहरु हुन् किनभने प्रधानमन्त्रीको कुर्सी कुनै म्युजिकल चियरको कुर्सी पक्कै होइन जुन कुर्सीमा बस्न मादलको ताल रोकिने बित्तिकै हारालुछ हओस् ।

कमानसिंहको भाषामा उनकी श्रीमती इन्द्रमाया काजी सापको हालकी पे्रमिका तथा हाइड्रोपावरको काजी साप एजेन्ट भए । मर्नुपूर्वको यो उद्गारले छापाहरु तरङ्गित भइरहँदा हाइड्रोपावर र इन्द्रमायाले काजी सापको चरित्रहत्या गर्न खोजेको आरोप लगाएका छन् । बलात्कार मुद्दा खेपेका सभामुखलाई घटनाकी नायिकाले हामी त बाबु छोरी हौं भने जस्तै कताकता नमीठो गन्ध आइरहेको हुँदा पहिलेकै घटनाको पुनर्नवीकरण मानौं । आखिर नेपाली राजनीति राणाकाल, पञ्चायत प्रजातन्त्र या गणतन्त्र जे भनौं केटीवाद मनीवादमै रुमल्लिरहेको त हो ।

राजनीतिको नाममा षड्यन्त्र भएको भन्ने हास्यास्पद तर्क दिएर जग हसाँउनुभन्दा समयमै नैतिकता देखाउने हो भने बरु नैतिकवान् बनिन्थ्यो कि ! पूर्व कानुनमन्त्री रहेका शेरबहादुर तमाङ्गले विदेशमा पढ्न गएका नेपाली चेलीहरुलाई अपशब्दहरु प्रयोग गर्दा उनले नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिए । काजी सापलाई बल्लबल्ल अथक प्रयासले पाएको पद छोड्न अलिक बढी नै गाह्रो भएर आफ्ना छापावाल नोकरहरुलाई परिचालन गर्नु भएको त होला नि !

वस्तुतः हामीकहाँ अनुशासन र नैतिकताको कमी छ । लाज, सरम, घीन सबै पचाएर ङिच्च दाह्रा देखाउनु कुनै नौलो कुरा होइन । गल्ती गर्नु ठूलो कुरा होइन तर गल्ती गरिसके पछि पनि भ्रम हो, ममाथि अन्याय गरियो, षड्यन्त्र हो जस्ता शब्दले पानी माथि ओभानो हुन खोज्ने प्रवृत्ति भने ज्यादै घटिया हो । बचपनमा आमालाई सानासाना गल्तीमा ढाँट्दै जाँदा यो झाँगिदै र मौलाउँदै गएको हो । यसले हामी नैतिकता र जीवनका आदर्शहरुबाट बिस्तारै टाढा भागिरहेको सन्देश दिइरहेको छ । झूटका पर्खालहरु बलियो भएर खडा हुन गयो भने सत्य यसरी बिलाउँछ कि मानौं हामी सत्य भन्ने शब्द नै जान्दैनौं । भावी आउने राजनैतिक पुस्ता पनि यही झूटको साहारामा हुर्किरहेकोले डर लाग्छ कि खेती अनुसारको मुला गुरु अनुसारको चेला होला भनेर ।

प्रतिक्रिया