बुधबार, पुष २, २०८२

सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन

नेपालखोज २०७७ पुष ६ गते १०:४६

ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको ६ महिनामा रु ३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मङ्सिर महिनामा मात्रै रु १ लाख ७ हजार ५ सय राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो ।

पछिल्लो ६ महिनामा ४८३ वटा सवारी साधनका चालक कारबाहीमा पर्दा रु ३ लाख ८ हजार ५ सय राजस्व जम्मा भएको हो । उक्त अवधिमा १२ ट्रक, ५० ट्र्याक्टर, ३०३ मोटरसाइकल र १४ अटोका चालक कारबाहीमा परेका छन् । बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन् । अघिल्लो आवमा रु ६ लाख ९४ हजार ५०० राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा यो वर्ष बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।

यस्तै पछिल्लो ६ महिनाको अवधिमा ७ वटा दुर्घटना भएका छन् । ट्र्याक्टर ३, जीप ३ र एउटा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २ पुरुषको ज्यान गएको ७ जना घाइते भएको बताइएको छ ।

प्रतिक्रिया