अर्घाखाँचीका ६ कार्यालय प्रमुखसहित ६१ कर्मचारी छड्केमा

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा सरकारी कार्यालयका ६ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार १०:१५ देखि ११ बजेसम्म सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा अनुगमन गर्दा ६१ कर्मचारी बिदा तथा काज स्वीकृत नगरीकनै कार्यलयमा अनुपस्थित रहेको भेटिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए।
चौध कर्मचारी बिनापोशाक कार्यालयमा उपस्थित भएको भेटिएका छन् । अर्घाखाँची अस्पतालका २७, स्वास्थ्य कार्यालयका ७, जिल्ला आयोजना कार्यालय एकाइका ५, शिक्षा विकास तथा समन्वय एकाइका ४, कृषि ज्ञान केन्द्रका ४, सन्धिखर्क सबडिभिजन कार्यालयका ४ र डिभिजन वन कार्यलयका २ कर्मचारी बिनाजानकारी अनुपस्थित देखिएका छन् ।
त्यस्तै सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाका एक, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका एक, विशेष नापी कार्यालयका एक र कोष तथा लेखा नियन्त्रक कार्यालयका एक गरी ६१ कर्मचारी बिदा स्वीकृत तथा काज स्वीकृत नगरीकनै कार्यालयमा अनुपस्थित भएको भेटिएका हुन् ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँची ३, स्वास्थ्य कार्यालय अर्घाखाँचीका ३, मालपोत कार्यालय अर्घाखाँचीका १, जिल्ला आयोजना कार्यालय एकाइका एक, शिक्षा विकास तथा समन्वय एकाइका २, सडक पूर्वाधार विकास कार्यालयका २, सिँचाइ विकास डिभिजन कार्यालयका १ र अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रका एक गरी १४ कर्मचारीले पोशाक नलगाएको भेटिएको प्रजिअ पौडेलले बताए ।








प्रतिक्रिया