शुक्रबार, वैशाख १४, २०८१

भिडियो गेमका कारण बढिरहेको बाल दुर्व्यसन

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ पुष ८ गते ७:००

टेक्नोलोजी विकाससँगै बच्चाहरुको दुर्व्यसनको प्रकार पनि बदलिँदो छ । त्यसै मध्ये एक हो भिडियो गेम दुर्व्यसन । टेक्नोलोजीले हामीलाई धेरै सुविधा त दिएको छ तर त्यसले थपिदिएको चुनौति पनि कम पीडादायी छैन । कुनै पनि अभिभावकले यो चाहँदैनन् कि आफ्नो बच्चा कुनै कुलतमा फसोस् तर समस्या आउनुपूर्व त्यसलाई व्यवस्थापन गर्न नसक्दा समस्याहरु थपिइरहेका छन् । भिडियो गेमहरुको लत बस्नुपूर्वको अवस्थाका बारेमा केहि चर्चा गरौं अनि विषय प्रवेश गरौंला ।

बच्चा निकै सानो हुँदा अभिभावकले मोबााइल बजाएर बच्चाको हेरचाह गर्दछन् । त्यसपछिका दिनहरुमा बच्चाको मन पर्ने गीत नबजाई बच्चाले भात खाँदैन जसरी हुन्छ त्यो गीत बजाइदिनै पर्दछ । अलिक ठूलो भएपछि खाना खाने बेला बच्चाले आफैं मोबाइलमार्फत गीत बजाउन चाहान्छ त्यो दिइन्छ । यो बेला बच्चाले मोबाइल चलाउन राम्ररी सिक्दछ । अभिभावकले नसिकेका कुरा पनि बच्चाले मोबाइल मार्फत सिक्दछ । अभिभावकको पनि खुशीको सीमा रहँदैन । बिस्तारै मोबाइलको लत बच्चामा यसरी लाग्दछ कि अब त्यो लत छुटाउन नसक्ने अवस्थामा पुग्दछ । साथीहरु मार्फत बच्चाले विभिन्न भिडियो गेमहरुबारे थाहा पाउँछ र सुरु हुन्छ दुर्व्यसन । अब त्यो दुर्व्यसन छुटाउन भने निकै अप्ठेरो हुन जान्छ ।

वर्तमान समयमा त्यस्ता दुर्व्यसनमा फस्ने भिडियो गेमहरुमा प्लेयर अननोन ब्याटलग्राउन्ड (२०१७), क्यान्डीक्रस(२०१२), कल अफ ड्यूटी(२०१९),माइनक्राफ्ट (२००९),फोर्ट नाइट(२०१७), क्लास अफ क्लान्स(२०१२), क्लास रोयल (२०१६), हार्थ स्टोन (२०१४), ग्रेना फ्रि फायर (२०१७), एङ्ग्री बर्ड्स(२०१८), टेम्पल रन (२०११) जस्ता गेमहरु रहेका छन् । यी भिडियो गेमहरुले समय बर्बादमात्र गर्दैन अपितु हिंसा प्रतिहिंसातर्फ आकर्षित गर्दछन् । यस्ता गेमहरुले बच्चाहरुको सीर्जनशीलतालाई समेत नष्ट गर्नुका साथै स्वास्थ्यमा नकारात्मक असर पर्न गएको धेरै अभिभावकको गुनासोहरु सुन्नमा आएको छ । बच्चाहरु यो लतमा फसिसकेपछि त्यसबाट निकाल्न निकै अप्ठेरो हुने गर्दछ ।

मस्तिष्कलाई एकोहोरो बनाउने यस्ता गेम खेल खेलिँरहँदा बच्चाको हातबाट मोबाइल खोसिदिने हो भने हिंसामा उत्रने खतरा त छँदै छ रोईकराईको चिच्याहटलाई कम गर्न पुनः मोबाइल फिर्ता दिनुको कुनै विकल्प रहँदैन । त्यस्ता बालबलिकाहरु बचपनका सीर्जनशीलताहरु सकिनाले किशोर अवस्थामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुन सक्छन् । त्यो व्यक्ति अभिभावक ,समाज र सुध्रने अवस्था नरहेमा कालान्तरमा राष्ट्रकै समस्याको रुपमा खडा हुन सक्छ । जस्तो द्वन्द्वकालमा माओवादी छापामार भएका बालबालिकाहरु निकै लामो समयसम्म देशको समस्या बनिरहे । आजसम्म पनि त्यो समाधान भइसकेको छैन । विभिन्न हातहतियारको समेत जानकारी त्यस्ता भिडियो गेममा हुने हुँदा बच्चाहरु त्यसबाट मनोरञ्जन मात्र गर्दैनन् बरु त्यसबाट हातहतियारको प्रयोग सम्बधि प्रशस्त जानकारी लिन्छन् जो बच्चाले पाउनुपर्ने ज्ञानको विषय कदापि होइन । कानुनतः पनि यो अपराध हो ।

यस्ता भिडियो गेम खेल्नाले एकोहोरो हुने, भोक नलाग्ने, निद्रा नलाग्ने, चिन्ताले सताउने, एकलोपन बढ्ने, छिटो रिसाउने जस्ता समस्या आउँछन् त्यो एकप्रकारको बिमारी नै हो । सन् २०१८मा विश्व स्वस्थ्य संगठनले डिजिटल साधनमा खेलिने खेलबाट हुने स्वास्थ्य समस्यालाई पनि स्वास्थ्य समस्याको रुपमा व्याख्या गरेको भए तापनि त्यसबाट हुने हानी नोक्सानी उपर त्यस्ता गेम बनाउने कम्पनीलाई के कस्ता जरिवाना गर्ने भन्ने कानुन नबन्दा ठूलो समस्या खडा भएको छ । यो हाम्रो देशको मात्र समस्या नभएर सम्पूर्ण विश्वको समस्या हो ।

केही पहिले पोकेमोन नामको एक खेलको कारण समस्या भयावह बन्न पुगेको थियो र त्यसको समाधानको लागि कतिपय राष्ट्रहरुले सो खेललाई प्रतिबन्ध पनि लगाएका थिए । त्यस्तै प्लेयर अननोन ब्याटलग्रउण्ड (पब्जी) नामको खेलले पनि विश्व भरिका अभिभावकलाई आतङ्कित बनायो । नेपाल सरकारले पनि समस्या निराकरण गर्न सो खेलमाथि प्रतिबन्ध लगाउने निर्णय लिएकोमा नेपालको सर्वोच्च अदालतले भने सो निर्णयलाई बदर गरिदियो । न्यायालयको सो निर्णयबाट खेल खेल्नेहरु खुशी भए तापनि अभिभावकहरु भने दुःखी भएका छन् ।

हामीकहाँ समस्याको गम्भीरतालाई निकै पछि मात्र महसुस गर्ने चलन छ । भारतको हरियाणामा पब्जी मथि प्रतिबन्ध लगाउँदा नेपालमा पनि त्यो मुद्दा तात्यो तर केहि समयपछि त्यस मुद्दा उपर छलफल गर्न र बहस चलाउनु व्यर्थ झैं मानिएको छ तर समस्या निराकरण भएको छैन । लकडाउका कारण स्कुल जान नपर्ने भएपछि विद्यार्थी भाइ बहिनीहरु यस्ता गेमका सिकार भइरहेका छन् । दिनभरको क्रियाकलाप यस्तै गेमहरु हुने गरेको पाइएको छ । शारीरिक व्यायामका खेलहरु खेल्न भिडभाड गर्नुपर्ने र कोभिडको डरले पनि अभिभावक आफ्ना बच्चा यस्ता भिडियो गेमको लतमा फस्दासमेत मौन बस्नु परेको छ । कोठामा थुनेर राखिएको थुनुवालाई अन्य कुरामा बन्देज लगाउँदा बच्चाको विद्रोह सामना गर्न गाह्रो हुने हुँदा अभिभावक किंकर्तव्यविमूढ अवस्थामा छन् ।

यस्ता दुर्व्यसनबाट बचाउन बच्चाहरुलाई अभिभावकले सुरुदेखि नै निगरानी गर्ने ,बच्चाले रुचि लिएको भिडियो गेम कस्तो गतिविधिको हो त्यसको बारेमा जानकारी राख्ने , दिमागलाई फाइदा पुग्ने गेमहरु के के हुन सक्छन् तिनको खोजी गर्ने, दिमाग बढाउने गेमहरुप्रति अभिरुचि बढाइदिने, बच्चाले खेल्ने गेममा हिंसा प्रतिहिंसा रहे नरहेको कुरामा सचेत रहनुपर्छ र बच्चाको सहयोगी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यसले बच्चाको सिर्जनशीलता मर्न दिँदैन र बच्चाहरुको भविष्य उज्वल हुन जान्छ ।

प्रतिक्रिया