बालुवाटारमा प्रधानमन्त्री र बादलबीच एक घन्टा छलफल

नेपालखोज २०७७ पुष ८ गते १४:१२

काठमाडौं । राजनीतिक रूपले विभाजन भइसकेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग झन्डै एक घन्टा छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बिहान प्रधानमन्त्री ओली र बादलबीच कुराकानी भएको हो । पूर्वमाओवादी समूहका बादलले विभाजनपछि आफू कुन कित्तामा उभिने भन्ने अहिलेसम्म निर्णय गरेका छैनन्।

यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार र मंगलबार मन्त्रीक्वार्टर पुल्चोकमा पुगेर बादललाई आफ्नो समूहमा आउन अनुरोध गरेका थिए । बादल मंगलबार भएको प्रचण्ड र माधवकुमार नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा सहभागी भएनन् ।

बबरमहलमा उक्त समूहको बैठक चलिरहेका बेला बादल उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्न उनको निवास भैंसेपाटी गएका थिए । वामदेवले पनि अब कुन समूहमा जाने भन्ने खुलाएका छैनन् ।

प्रधानमन्त्री ओली र बादलबीच आजको भेटमा के(के कुराकानी भयो भन्ने खुलाइएको छैन । बादलनिकट स्रोतहरूले भने उनले आज अब कुन समूहमा जाने भन्नेबारे निर्णय गर्ने बताएको छ ।

प्रतिक्रिया