शनिबार, वैशाख १३, २०८२

बिजुली हाकिम हितेन्द्रजीकाे चार महिने हाकिमी

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ पुष १९ गते ११:५३

प्राधिकरणको नयाँ नेतृत्व खासै सफल छैन । हजुरहरुले बिचार गनुभएको नै होला कि बेला न कुबेला झ्याप्प विद्युत् काटिई रहेको छ आजभोलि । यसरी विद्युत् काटिनुलाई वर्तमान नेतृत्वमा रहेका व्यक्तिहरुले लोड व्यवस्थापन भन्ने नाम दिएका छन् । यो भन्दा पहिले कसैले यो नाम सुनेको जस्तो मलाई लाग्दैन । अचानक यो लोड व्यवस्थापन भन्ने शब्द सुन्नुपर्दा कताकता काउकुती जस्तो कतै मुटुमा च्वास्स दुखे जस्तो भइरहेको छ ।

अहिले प्राधिकरणमा नेतृत्व सम्हालेका मित्रलाई यस्तो लोड व्यवस्थापन भन्ने शब्द सुनाउँदा कस्तो लाग्छ कुन्नि तर आम उपभोक्तालाई यस्तो शब्द सुन्दा वाक्क दिक्क प्याक्क लाग्नु अस्वाभविक हैन ।

चार वर्ष पहिले हामी लोडसेडिङले हप्याक थियौं । आज लोडसेडिङ कुन चराको नाम भइसकेको थियो तर कुलमानको बहिर्गमनको चार महिना भएको छैन नयाँ नाम लोड व्यवस्थापन भन्ने आएको छ । कतिपय प्राधिकरणकै कर्मचारीले लोड व्यवस्थापन भनेको घुमाउरो भाषामा लोडसेडिङ नै हो भनी भन्दछन् । के चार महिनामा नयाँ नेतृत्व चार वर्ष पछाडि फर्किसकेको हो त ? नत्र यो लोड व्यवस्थापन के का लागि ?

काठमाडौं नयाँ बानेश्वरको लोड व्यवस्थापन भन्दै विद्युत् प्राधिकरणले लतिपुरका विभिन्न ठाँउमा त विद्य्त् कटौती हुने टाइम सेडुल नै निकाली सकेको छ । यसरी तालिका नै प्राप्त गर्ने ठाउँहरुमा ललितपुरका हरिसिद्धि, खुमलटारस्थित रेडियो नेपाल फिडर एक, र चापागाँउ आदि रहेका छन् । सो ठाउँहरुमा लोड व्यवस्थापनको नाममा तीन घण्टासम्म बिजुली बन्द हुने प्राधिकरणले सूचना जारी गरेको छ । लोड व्यवस्थापन भने पनि औपचारिक रुपमै विद्युत् काटिने भएपछि त्यो लोडसेडिङ नै हो ।

विभिन्न निर्माण कार्य भन्दै अनावश्यक बिजुली काट्नुभन्दा औजारको प्रयोग राम्ररी गरेर पुनर्निमाण गर्न सकिने सजिला विकल्प हुँदाहुँदै त्यसको बहानामा अघोषित रुपमा विद्युत् रोकी त्यसको लाभ हत्याउने काम हुनु अत्यन्तै निर्लज्ज काम हो ।

विद्युत् नआउँदा प्राधिकरणमा फोन गरेर सोध्यो भने कति छिटो उताबाट उत्तर आउँछ लोड व्यवस्थापन हो, समय लाग्न सक्छ । तपाईंलाई थाहै छ । नाफामा रहेको संस्थाले पुननिर्माण गर्दा चाहिने औजार किन्न नसक्ने होइन । विदेशमा पनि विद्युत् पुनर्निमाण नहुने होइन तर त्यहाँ पुननिर्माणको नाममा यसरी विद्युत् आपूर्ति रोकिँदैन । कुलमान रहँदा पनि यसरी रोकिँदैन थियो तर आज हरेक दिन एक दुई घण्टा विद्युत् आपूर्ति रोकिई रहेको हुन्छ आखिर किन र के प्रयोजनको लागि ? पुनर्निर्माण गर्न विद्युत् अवागमन नरोकिने सामग्री किन्नु पर्ने भए चार महिनासम्म ऊ किन किन्दैन त ? प्राधिकरणसँग पैसा छैन त ? किन लाचार भएका छन् हितेन्द्र ? कसले प्रयोग गरेको छ त ? अनगिन्ती प्रश्नहरु अनुत्तरित छन् ।

हितेन्द्रलाई प्राधिकरण जिम्मा लगाउँदै गर्दा प्रम ओलीले अब जोसुकैले नेतृत्व लिए पनि लोडसेडिङ नहुने दाबी गरेका थिए त्यो दाबी चार महिनामै देखिई सकेको छ । हितेन्द्र शाक्यको आगमनसँगै उनले व्यवस्थापनको सम्पूर्ण टोली र चिजबिजलाई भताभुङ्ग पारेको प्राधिकरणकै कर्मचारीहरुले समेत गुनासो पोख्दै आएका छन् । गलत मान्छेलाई साँचो बुझाउनाले हामी पछुताउनु पर्ने हो कि भन्ने अर्को भय पनि जिँउदै छ । हुन त त्यतिबेला कुलमानलाई अरु चार वर्ष विद्युत् प्राधिकरणको जिम्मेवारी दिन जन स्तरबाट दबाब नआएको पनि होइन तर आफ्नो सालोलाई सेटिङ मिलाई सकेका ओलीले कहाँ टेर्थे र ? उनको बलमिच्याईंको अगाडि कसैको केहि लागेन ।

योग्यलाई पाखा आफ्नालाई काखा गर्ने हाम्रो जस्तो मुलुकमा सबै निकायमा ओली महाराजकै जस्तो सिङौरी खेलेर फरियावादमा अल्झे पछि विधि विपरित काम गर्न सजिलो हुने रहेछ ।

हितेन्द्र सरजी नपत्याउँदो ढङ्गले लोडसेडिङ उन्मुख छन् । उनको काम गराईमा कताकता माफियाको गन्ध डुङडुङती आइरहेको छ । कतैकतै टेलिकमबाट डाटा प्रयोग गराउन भइरहेको खड्यन्त्रको गन्ध, कतै लुट मच्चाउन गराइएको अन्धकारको गन्ध, कतै पुरानै व्याट्री र इन्भटरवाला माफिया सक्रिय भएको गन्ध, र कतै बिजुलीको हाकिम बनाइदिने प्रभूहरुलाई रिझाउन गरिएको प्रपञ्चको गन्ध जस्ता दुर्गन्धले हितेन्द्र सर्जीको चार महिना बितिसकेको छ ।

हामीलाई अन्याय सहने बानी परिसकेको छ अथवा भनौं हामी यस्तै त हो नि ब्रोको तालमा नाच्न अभ्यस्त भइसकेका छौं । हितेन्जीको काम गराईलाई बेलैमा आवाज नउठाउने हो भने यिनले आगामी दिनमा रुनु न हाँस्नु बनाउने कुरामा शङ्का छैन । यी बिजुलीका हाकिमलाई कुकर्मबाट रोक्न खबरदारी गरिराख्नु पर्छ नत्र बिँत्यास पर्न सक्छ ।

ढाँटेको कुरा काटे पनि मिल्दैन
यस वर्ष हामी तीन सय साठी देखि सत्तरी मेगावाट मात्र विद्युत् खपत गरिरहेका छौं गत वर्ष भने चार सय पचास मेगावाट सम्मको विद्युत् खपत गरेका थियौं । गत वर्षको तुलनामा हामी कम्तीमा पनि साठी मेगावाट कम विद्युत् खपत गरिरहेका छौं भने त्यति धेरै बिजुली व्यवस्थापन गर्न सकेको प्रणालीले यो प्रणलीलाई धान्न नसक्ने कुरै भएन । यो त झुट बोले कोवा काटे भने जस्तो भएन र भन्या ? बानेश्वरको लोड व्यवस्थापन गर्न हरिसिद्धिमा बिजुली काटिएको भन्ने हितेन्द्र ब्रोको तर्कमा कुनै दम रह्यो त ? ए ब्रो ! झुट पनि अलिक मिलाएर बोल्नुस् है नत्र इज्जत उत्रिएला नि !

प्रतिक्रिया