प्रतिनिधि सभाको चुनाव तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री ओली

नेपालखोज २०७७ पुष १९ गते १८:३५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा घोषित चुनाव नरोकिने बताएका छन् । काठमाडौंमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) को आफू निकटको भेलामा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा संसद् पुनर्स्थापना हुन नसक्ने र चुनाव भएरै छाड्ने दाबी गरेका छन् ।

कतिपयले चुनाव हुँदैन भनेर भ्रम फैलाइरहेको भन्दै उनले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने बताए । प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गरेकाछन् । प्रतिनिधि सभाको चुनाव नेपाली नागरिक र देशको आवश्यकता भएकाले चुनाव तोकिएकै समयमा हुने उनको भनाइ छ ।

देशलाई अलमलमा बस्न नदिन चुनाव आवश्यक रहेको उनको भनाइ छ । पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेको तथा संविधान संशोधन भएको बहानामा गुटबन्दी गरेकाले सङ्गठन गतिशील नभएको प्रधानमन्त्री ओलीले बताए ।

पार्टीभित्रै बसेर आन्दोलनको बदनाम गरेको र सरकारको कामको बदनाम गराउन मात्रै समय बरबाद गरेकाले प्रतिनिधि सभा भङ्ग गर्नुपरेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आजै सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन गर्नुपरेको कारणको जवाफ पठाएकोसमेत बताए ।

प्रधानमन्त्री ओलीले पार्टीको चुनाव चिह्न सूर्य आफूहरूले नै पाउने बताएका छन् । उनले नेपालको विदेश नीति सन्तुलित हुने र भौगोलिक अखण्डताको रक्षा गर्दै राष्ट्रिय हितलाई सुरक्षित गर्न अघि बढ्ने पनि बताए । त्यस्तै ओलीले पार्टी फुटाउन र आफूमाथि खनिन खुमलटारमा मात्रै दुई सय ८० पटक बैठक बसेको बताए । उनले प्रचण्ड–नेपाल समूहलाई आफ्नो समूहमा आए अपराध माफ गरिदिनेसमेत बताए ।

आफूले प्रचण्डलाई अध्यक्ष पद कायमै राखेर कार्यकारी अधिकार मात्रै हटाएको भन्दै उनले अरू वरिष्ठ नेताहरू पनि जस्ताको त्यस्तै पदमा रहेका र आफ्नो समूहको बैठकमा सहभागी हुन आग्रह गरे ।

प्रतिक्रिया