कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि बेलायतमा फेरि लकडाउन

नेपालखोज २०७७ पुष २१ गते ९:०८

एजेन्सी । नयाँ स्वरुपको कोरोना भाइरस तीव्र रुपमा फैलिन लागेपछि बेलायतमा फेरी लकडाउन भएकाे छ । मंगलबारदेखि बेलायत सरकारले फेरि देशव्यापी लकडाउन घोषणा गरेको हाे।

सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा लकडाउन घोषणा गरेका हुन्। बेलायतमा देशव्यापी लकडाउन गरिएको यो तेस्रोपटक हो। पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन ३ महिनाभन्दा लामो समय कायम राखिएको थियो। दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो। डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो।

नयाँ लकडाउन घोषणाका क्रममा प्रधानमन्त्री जोन्सनले अत्यावश्यक क्षेत्रमा कार्यरत र निर्माण क्षेत्रमा कार्यरत कामदारबाहेक अरु सबैलाई घरबाटै काम गर्न आव्हान गरेका छन्।

खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको सहयोग गर्न, उपचार वा कोभिड परीक्षण गर्न बाहेकका अवस्थामा घर नछोड्न प्रधानमन्त्रीले आग्रह गरेका छन्।

प्रतिक्रिया