भारत सरकारसँग विरोध प्रकट गर्न कमल थापाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सोमबार भएको कञ्चनपुर घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा एक नेपालीलाई गोली प्रहार गरी घाइते बनाएको घटनाप्रति घोर भत्सर्ना गरेका छन् ।
उनले घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यान आकर्षित गरेका छन् ।
उनले भनेका छन् ‘कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार साँझ १६ वर्षीय नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु । घटनाको छानबिन गर्न, भारत सरकारसँग विरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान आकर्षित गर्दछु ।’
सोमबार साझँ भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका थिए।
भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको बुझिएको छ ।


प्रतिक्रिया