टोखाले तीन हजार व्यक्तिको ‘एन्टीजिन परीक्षण’ गर्ने

काठमाडौं । टोखा नगरपालिकाले तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा आगामी हप्ता तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्न लागेको हो ।
स्वास्थ्य मन्त्रालयको विज्ञ टोलीसँग बसेको बैठकले आगामी आइतबारदेखि ‘एन्टीजिन परीक्षण’ शुरु गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले राससलाई जानकारी दिए। बढी भीडभाड हुने क्षेत्रमा गर्न लागिएको परीक्षणको नतिजा आधा घण्टाभित्रै आउनेछ । एकैपटक ५०० भन्दा बढी व्यक्तिलाई ‘एन्टीजिन परीक्षण’ गर्न सकिने नगरपालिकाले जनाएको छ । ‘एन्टीजिन परीक्षण’का लागि पनि कोभिड–१९ को परीक्षण जस्तै स्वाब सङ्कलन गरिने प्रवक्ता बस्यालले बताए ।
‘एन्टीजिन परिक्षण’ कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर परीक्षणभन्दा सस्तो हुने नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकाले हालसम्म ६ हजार ७२२ जनाको कोभिड–१९ को परीक्षण सम्पन्न गरिसकेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । काठमाडौँ महानगरपछि सबैभन्दा धेरै सङ्क्रमित टोखामा रहेका छन् । उक्त नगरपालिकामा हालसम्म तीन हजार ७५२ सङ्क्रमित भइसकेका छन् । सङ्क्रमितमध्ये ९७.२८ प्रतिशत निको भएको टोखा नगरपालिकाले जनाएको छ ।
त्यस्तै टोखामा कोरोना सङ्क्रमणबाट १० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै टोखामा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि ५४ श्यया छुट्याएर कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएको छ । जसमा हालसम्म ४२३ सङ्क्रमितले उपचार पाइसकेको अस्पतालका सहनिर्देशक डा विनोद बिजुक्छेले जानकारी दिए ।

प्रतिक्रिया