देशमा पुरानो व्यवस्था पुनर्स्थापना हुन दिँदैनौँ : माधवकुमार नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुनर्स्थापना हुन नदिने बताएका छन् ।
बुधबार नेकपाको आफ्नो समूहको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशमा सङ्कटकाल लगाउने, अनेक खालका षड्यन्त्र, तानाबाना बुनिएको सुनिरहेको भन्दै यस्ता षड्यन्त्र सफल नहुने उनले बताए।
पुरानो व्यवस्थाको पुनर्स्थापना हुन्छ भन्नेमा कसैले सपना नदेख्न उनको आग्रह छ । पुरानो व्यवस्थाको पुनर्स्थापना हुने कुनै सम्भावना नरहेको र हुन नदिने उनले बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताए । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ । वैशाखमा चुनाव नहुने पनि उनले बताए।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु सधैँभरि अग्रगमनको पक्षमा रहने बताए। प्रतिगमनको पक्षमा नजाने उनको भनाइ छ ।
गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिक दलहरुले यसको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । बुधबार नेकपा प्रचण्ड–माधव पक्षले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राखेका थिए ।
प्रतिनिधि सभा विघटनपछि मध्यावधि चुनावका लागि आउँदो वैशाख १७ र २७ गते मिति तय गरिएको छ । यद्यपि प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया