शनिबार, वैशाख १३, २०८२

पृथ्वीनारायण शाहलाई सम्मान गर्दा राजतन्त्रको दास भइन्छ ?

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ पुष २७ गते १२:१८

काठमाडौं । पुस २७ लाई नेपालमा राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिन्छ । आज (सोमबार) पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कार्यक्रमहरु गरेर सो दिवस मनाईंदै छ । पहिले यस दिवसलाई पृथ्वीनारायण जयन्तीको रुपमा, एकीकरण दिवसको रुपमा र हाल राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरिएको छ । जे–जे रुपमा मनाइए तापनि मूलतः यो दिवस पृथ्वी जयन्ती नै हो ।

मुलुकको कतिपय मैं हुँ भन्ने नेताहरुले पृथ्वी जयन्तीलाई मनाउने गरेका छैनन् । तिनले पृथ्वीनारायण शाहलाई थोरै सम्मान गर्दा राजतन्त्रको दास भएको अनुभूति गर्दछन् । यस्तो अनुभूति गर्ने नेताहरुमा प्रचण्ड र बाबुराम पर्दछन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालसम्म पृथ्वीनारायण शाहको विरुद्धमा नबोले तापनि बाब्रामजी राष्ट्र निर्माता पृथ्वीनारायणलाई टोले गुण्डाको रुपमा तौलिन तयार हुन्छन् । यिनले पृथ्वीनारायण शाहले एकीकरण नगरिदिएको भए कुन देशमा राजनीति गर्थे होला ? सायद् विहारको कुनै क्षेत्रका भयङ्कर राजनीतिज्ञको रुपमा यिनी चिनिएका हुने थिए कि ? नेपाल विहारमै रहेको भए दक्षिणका प्रभुहरुले यिनलाई अलिक ठूलो भाग दिने थिए कि ? कि वा नेपाल–भारतमा नभएकोमा यिनको टाउको दुखेको छ ?

खैर जे होस् पृथ्वीनारायण शाहलाई कसैले टोले गुण्डाको रुपमा अवचित्रण गर्न चाहे पनि त्यस्तो चित्रण गर्न अब असम्भव भइसकेको छ । उनलाई राष्ट्रनिर्माताको ट्याग दिँदा कसैलाई हानी नोक्सानी हुने छैन । टुक्रा टुक्रामा विभाजित राज्यहरुलाई एउटा सिङ्गो राष्ट्रको रुप दिनमा उनले दिएको योगदानलााई हामी नेपालीले आत्मगौरवको रुपमा लिनु पर्दछ । हो, राज्य एकीकरण गर्दा कयौं मानिस हताहत भए अनेकौं मानिसहरु अपाङ्ग भए त्यसैलााई आधार बनाएर जनयुद्धको नाममा हजारौं मानिस मार्नेहरुले त्यो अपराधबाट भाग्न पृथ्वी नारायण शाहलाई अपमान गरेका हुन् नभए उनलाई अपमान गर्नुको कुनै तुक छैन ।

कहिले पनि विदेशी उपनिवेशमा नरहेको हाम्रो मुलुकको कुनै स्वतन्त्रता दिवस छैन । विदेशीहरुले स्वतन्त्रता दिवस मनाए जस्तै हामीले पनि टुक्रिएका राज्यहरुलाई एउटा सिङ्गो राष्ट्र बनाएर दिने पृथ्वी नारायण शाहको सम्मानमा पृथ्वी जयन्तीको रुपमा वा राष्ट्रिय एकता दिवसको रुपमा राज्यले नै मनाउँदा फरक पर्दैन त्यो इतिहासप्रति सम्मान हुनेछ । आज नेपाललाई विभिन्न राजनैतिक मुद्दाका आधारमा स–साना टुक्रामा विभाजन गर्ने कोसिस भइरहँदा हामीले पृथ्वी जयन्ती एवं राष्ट्र एकीकरण गर्ने पृथ्वी नारायणलाई सम्मान गर्न सिक्यौं भने मात्र राष्ट्रिय एकता दिवसको औचित्य रहन्छ । आखीर इतिहास भनेको ‘इति ह आस’ अर्थात् यस्तो सत्य बताइएको छ नै हो ।

हामीले विदेशी इतिहासलाई बढी सम्मान र आफ्नो मौलिक इतिहासलाई तुच्छ ठान्यौं भने सत्य टाढा हुँदै जान्छ र हाम्रो मौलिकता मर्दै जान्छ । कसैको पनि इतिहाससँग हाम्रो मिल्दैन । यो राष्ट्रको इतिहास हाम्रो आफ्नै मौलिकताले भरिएको छ । कसैको पेवा वा दाइजोको रुपमा पनि यो राष्ट्र प्राप्त भएको होइन् । तसर्थ राष्ट्रको ऐतिहासिक महत्वलाई भुलेर हामी कुनै पनि विशेष स्थानमा पुग्न सक्दैनौं ।

राष्ट्रिय एकता दिवसले सबै भाषा धर्म लिङ्ग र जात जातिलाई एकताको सूत्रमा बाँध्न सकोस् भन्ने बहुसंख्यक नेपालीको चाहना रही आएको छ । तदनुरुप यसको औचित्य साकार रहोस् भन्नेमा हामी सम्पूर्ण नेपालीको इच्छा रहनुपर्दछ । मोहन बन्जाडेले एकपटक भन्नु भएको थियो कि पृथ्वी नारायणको दिव्योपदेशलाई एक दुई कुरा काटिदिने हो भने सम्पूर्ण देशको परराष्ट्र नीतिको रुपमा प्रयोग गर्न सकिने बताएका थिए । यसले उनको राष्ट्र हितमा उनको दूरदर्शी नीति आज पनि कति उपयोगी रहेछ भन्ने कुरा प्रमाणित हुन्छ ।

एउटा शासक सम्पूर्ण रुपमा भगवान् कदापि होइनन् । मानवीय गुण दोषबाट कोही पनि पर भाग्न नसके तापनि उनकोे गुणबाट सकारात्मक उर्जा लिएर अगाडि बढ्नु नै मुलुकको अग्रगमनको बाटो हुनेछ भन्ने कुरामा कुनै शंका रहेन । जस्तो कि बहुगुण सम्पन्न सर्वौषधिराज लसुनलाई कहिलेकाँहि दुर्गन्धको कारण निन्दा गरिन्छ त्यस्तै अवगुणहरुलााई त्यागेर उनको गुणहरुको मूल्याङ्कन र कार्यदिशा अवलम्बन गर्न पछि पर्न हुँदैन ।

प्रतिक्रिया