न्याय मरेकै हो ?
गंगामायाले पुनः आइसोलेसनबाटै सत्याग्रह सुरु गरेकी हुन्
काठमाडौं । छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न पटक–पटक अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारी पछिल्लो पटक अनसन बसेको आज (मंगलबार) २३औँ दिन पुगेको छ । कोभिडको महामारी सुरु भएपछि वीर अस्पतालको ट्रमा सेन्टरको सातौं तलामा आइसोलेसनमा राखिएकी ६१ वर्षीया गंगामायाले आइसोलेसन बेडबाटै सत्याग्रह सुरु गरेकी हुन् ।
सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही माग गर्दै अधिकारी पटक–पटक अनसन बस्दै आएकी छन् । उनका छोरा कृष्णप्रसाद अधिकारीलाई चितवनमा २०६१ साल जेठ २४ मा हत्याभएको थियो । हत्याको जिम्मा तत्काली विद्रोही समुह मओवादीले लिए पनि हत्यमा संलग्नलाई कारबाहि हुन सकेको छैन ।
गंगामाया र उनक पति नन्दप्रसाद अधिकारीले राज्यका हरेक निकायमा पुगेर छोराको हत्यामा संलग्नलाई कानुनअनुसार कारबाही गरिपाऊँ भनी निवेदन दिएका थिए । तर, कतैपनि सुनुवाइ नभएपछि उनीहरु काठमाडौं आएर २०७० साउनदेखि प्रधानमन्त्री कार्यालय बालुवाटार अगाडि सडकमै अनसन बस्न सुरु गरे ।
सत्याग्रहमा बस्दाबस्दै अवस्था नाजुक भएपछि सरकारले अधिकारी दम्पतीलाई वीर अस्पतालमा लगेर राखेको थियो । अस्पतालमै पनि दुवैले सत्याग्रह जारी राखेका थिए । सत्याग्रहको ३ सय ३४ औं दिन २०७१ असोज ६ गते नन्दप्रसादको अस्पतालमै मृत्यु भएको थियो । त्यसपछि केही समय तोडिएको अनसन विभिन्न समयमा गंगामायाले जारी राख्दै आएकी थिइन् । उनले हत्यामा संलग्नलाई कारबाही नगरेसम्म पतिको सदगद नगर्ने अडान राखेकाले अहिलेसम्म पनि नन्दप्रसादको शव शिक्षण अस्पतालको शवगृहमै छ ।
त्यसबेला गंगामाया अधिकारीले २०७१ कात्तिक १ गते ३५८ दिन लामो आमरण अनसन तोडेकी थिइन् । उक्त समय अनशन तोडे पनि न्यायकालागि संघर्ष जारी रहने अधिकारीले बताएकी थिइन् ।
गंगामाया र शान्ति तथा पुनर्निर्माण मन्त्रालयबीच भएको सम्झौता पत्रमा उनलाई छोरा कृष्णप्रसादको हत्यारालाई कारवाही गर्ने भनिएता पनि हालसम्म राज्य पक्षबाट पर्याप्त पहल नभएको उनको गुनासो छ ।
तत्कालीन सरकारले आफूहरूको माग प्रतिचासो नदेखाउँदा र छोराको हत्यारालाई पक्राउ नगर्दा अनशनका क्रममा नन्दप्रसादको ज्यान गएको उनको भनाइ छ । सरकारको बेवास्ताका कारण नन्दप्रसादले मृत्युवरण गरेको भन्दै त्यसबेलाका सरकार प्रमुखलाई कारवाही हुनुपर्ने उनको माग छ । यता सरकारले भने यो द्वन्द्वकालीन मुद्दा भएकाले त्यसैअनुसार कारवाही हुने बताउँदै आएको छ ।
अधिकारी दम्पत्ति अनशन बसेपछि २०७० साउनबाट प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरी सोही वर्ष चैतमा चितवन जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
१३ जनालाई विपक्षी बनाइ दायर यस मुद्दाका अभियुक्तहरूले जिल्ला अदालतबाट सफाइ पाइसकेका छन् । तर, राज्यले नै मुद्दा कमजोर बनाएको र प्रत्यक्षदर्शीलाई उपस्थित गराउन अदालतमै निवेदन दिँदासमेत नझिकाइ दिएको गंगामायाको आरोप छ । यस अघि २०७१ असोज अन्तिममा उनले अनसन तोड्दा उनीसँग गरिएको सम्झौता कार्यान्वयन नभएको गंगामायाको भनाइ छ ।
पतिको मृत्यपछि पनि आमरण अनसन बसेकी गंगामायाको हालत सिकिस्त भएपछि सरकारले प्रमुख प्रतिवादी छविलाल पौडेललगायतलाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, चितवन जिल्ला अदालतले फरार अभियुक्त रुद्र आचार्य बाहेकलाई २०७५ भदौमा सफाइ दियो । त्यसविरुद्ध गंगामायाले उच्च अदालत हेटौंडामा पुनरावेदन दिएकी छन् जसको छिनोफानो हालसम्म भएको छैन ।
प्रतिक्रिया