शुक्रबार, वैशाख १४, २०८१

माघे संक्रान्तीको महत्व

नेपालखोज २०७७ माघ १ गते ९:५३

आज माघे संक्रान्ती अर्थात् माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिनामा पर्दछ । आजकै दिनबाट सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् । आजको दिनलाई माघे सक्रान्ती, तिलुवा संक्रान्ती या मकर संक्रान्ती या माघीका रुपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाइन्छ ।

सनातन धर्ममा तिलको विशेष महत्व हुन्छ होम गर्नलाई चरुको रुपमा या पूजा गर्दा अनि दान गर्दा या कुनै पितृकर्म अनि शुभकार्यमा तिल अत्यन्तै आवश्यक पर्दछ । माघे संक्रान्ती तिलान्नका लागि अत्यन्तै प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डु यस पर्वको विशेष परिकारमा पर्दछ । त्यसकारण पनि माघे संक्रान्तीलाई तिलुवा संक्रान्ती पनि भनिएको छ । यसका साथै चाकु, तरुल, पिँडालु, खिचडी र पापड आदि परिकारका लागि पनि माघी प्रसिद्ध छ । जाडो याममा यी खाने कुराले शरीरलाई फाइदा गर्नुको साथै तातो राख्न पनि मद्दत गर्दछ ।

महाभारतकालमा ईच्छा मृत्युको वरदान पाएका भिष्म पितामहले उत्तरायण नलागेसम्म शरीर नत्याग्ने कसम खाएका थिए । रगत बगाएर उनी आफ्नो मृत्युको लागि उत्तरायण कुरेर बसे । माघमा उत्तरायण लागेपछि उनले इच्छाधीन मृत्यु वरण गरेको कुरा महाभारतमा बताइएको छ । उत्तरायणमा मृत्यु हुनेले मोक्ष प्राप्त गर्ने कुरा धार्मिक ग्रन्थहरुमा बताइएको छ ।

आजको दिन विभिन्न घाट, नदी अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड रहन्छ । तनहुँको देवघाट, सुनसरीको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ । देवघाटमा भने यसवर्ष कोरोनाका कारण मेला आयोजना नगरिने गलेश्वर आश्रम देवघाटका पीठाधीश अनन्त श्री विभूषित स्वामी आत्मानन्द गिरीले जानकारी दिएका छन् । साथै, आफ्नो सुरक्षा अपनाएर स्नान गर्न भने छुट गरेको पनि उनले बताए । अन्य क्षेत्रमा पनि कोभिडका कारण सामान्य रुपमा मात्र मेला आयोजना गरिएको छ ।

माघे संक्रान्ती पर्व सम्पूर्ण नेपालीहरुलाई एकतामा बाँध्ने पर्व समेत हो । यो पर्व हिमाल, पहाड र तराई तिनै क्षेत्रका सम्पूर्ण जातजातिले विभिन्न रुपमा मनाउने गर्दछन् । विभिन्न फरक संस्कृतिका बीच यसरी सबै नेपालीको साझा भएका कारण यो पर्वलाई नेपालीहरुको साझा पर्व भनेर पनि सम्बोधन गर्ने गरिन्छ । माघ महिनामा तीर्थस्थलहरुमा गएर स्नान गर्नाले धेरै पूण्य प्राप्त गर्न सकिन्छ । ‘अन्यक्षेत्रे कृतं पापं तीर्थक्षेत्रे विनश्यति’ अर्थात् तीर्थ क्षेत्रमा गएर स्नान गर्नाले अन्य स्थानमा गरिएका पापहरु पनि नाश हुन्छन् भनी शास्त्रमा उल्लेख छ ।

माघ महिनाको पहिलो दिनबाट नै दिनहरु लामा हुँदै जान्छन् । भगीरथले लामो समय आफ्ना पितृहरुको मोक्षार्थ तपस्या गरेको कुरा सर्वविदितै छ । उनको भगीरथ तपस्याले परमपावनी माता गङ्गा माघको संक्रान्तीकै दिन धर्तीमा अवतरण गरेकी थिइन् । माघे संक्रान्तीमा खाइने कन्दमुलहरुबाट स्वस्थ रहन पनि मद्दत गर्दछ । यसले जाडो महिनामा मानिसहरुलाई स्वस्थ राख्ने अनेक विधिहरुमा हाम्रा पूर्वजहरु जानकार रहेको देखाउँछ ।

प्रतिक्रिया