नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक हैदरावादमा शुरु हुँदै

काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आजबाट भारतको नयाँदिल्लीमा शुरु हुँदैछ ।
शुक्रबार बिहान साढे ११ बजे हैदरावाद हाउसमा शुरु हुने बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्ने छन् ।
तीन दिनसम्म चल्ने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार नै नयाँदिल्ली गएका थिए । बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
परराष्ट्रमन्त्री ज्ञवाली भारतमा जानुभन्दा अगाडि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीमासम्बन्धी विषयमा पनि बैठकमा छलफल हुने उल्लेख थियो । तर, भारतले सो सीमा सम्बन्धी विषय र संयुक्त बैठक फरक रहेको कारण छलफल नगर्ने संकेत गरेको छ ।
भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तव भने, ‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’
भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण रहँदै आएको पृष्ठभूमिमा भएको मन्त्री ज्ञवालीको भ्रमणलाई नेपालमा मात्र नभएर भारतमा समेत विशेष महत्त्वका साथ हेरिएको छ ।
त्यसमाथि नेपालमा एक्कासि भएको प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालगायत राजनीतिक घटनाक्रममा दिल्लीलाई समेत जोडेर हेरिएकाले पनि यो भ्रमण थप चासोको विषय बनेको छ ।
भारतमा रहँदा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्ने चर्चा चले पनि त्यसबारे अहिलेसम्म केही सार्वजनिक गरिएको छैन ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया