शनिबार, वैशाख १५, २०८१

के पाठ सिक्नुपर्छ कोरियाली न्यायालयबाट ?

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ २ गते १३:३०

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई उच्च अदालतले २२ वर्षका लागि जेल सजाय सुनाएपछि विश्व राजनीतिमा एक किसिमको हलचल आएको थियो । उनले भ्रष्टाचार मुद्दामा जेल सजाय पाएकी हुन् । विश्व राजनीतिमा कोरियाको लोकतन्त्रले धेरै राम्रो पाठ सिकाएको छ । राष्ट्रपतिले पनि जेल सजाय पाउनु समृद्ध लोकतन्त्रको उदाहरण हो । उच्च पदमा रहेर पनि नराम्रो काम गरेबापत लोकतन्त्रमा आफूले गरेको अपराधको भागिदार आाफैं हुनुपर्ने लोकतन्त्रको उच्च मर्यादा हामीकहाँ कहिले शुरु होला भन्ने प्रश्नहरुको उत्तर अझै पाउन सकिएको छैन । हुन त हाम्रोमा कतिपय लोकतन्त्रको मसिहा भनिएकाहरु नै बाल लोकतन्त्रको घाँटी निमोठ्नमा व्यस्त छन् ।

पार्कलाई बिहीबार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन जरिवाना तिर्नुपर्ने निर्णयसहित २२ वर्षको जेल सजाय सुनायो । यस्तो निर्णयले अदालतप्रति जनताको भरोसा तल्लोमा पनि उही हो र माथिल्लोमा पनि उही हो भन्ने रहन गयो । शक्तिले न्यालय किन्न नसकिने उदाहरणीय नजीर कोरियाली लोकतन्त्रले विश्वलाई सिकाई रहेको छ । न्याय निसाफ भनेको सर्वजनहिताय हुनुपर्ने र भेदभावरहित हुने कुरालाई पार्कलाई जेल पठाइनुले जनाउँछ ।

पार्क दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति हुन् । कार्यकारी शक्ति राष्ट्रपतिको हातमा हुने कोरियामा महिला अधिकार ज्यादै उँचो छ । यद्यपी, हामी कहाँ जस्तो महिला अधिकारको पासो थापेर पार्कलाई बचाउन महिलाहरु सडकमा आएनन् । गरेका कर्महरुको लाभ हानीको कारक व्यक्ति स्वयं हुने र त्यसको फल स्वयंले भोग्नुपर्ने चेतनाको यस्तो उठान कोरियाली महिलाहरुको सान हो । गीता अध्ययन नगरे पनि नैतिकता र व्यवहारले गीताको महान् ज्ञान अवश्यमेव भोक्तव्यम् कृतं कर्म शुभाशुभम् कोरियाली महिलाहरुले पार्कको समर्थनमा नारा जुलुस नगरेर प्रमाणित गरिदिए । यसबाट नेपाली जनताले सकारात्मक पाठ सिक्नुपर्दछ ।

सन् २०१७ मा भ्रष्टाचारको अभियोग लागेसँगै पार्क जेलमा नै छन् । गएको जुलाई महिनामा उच्च अदालतले अफ्नो अधिकारको दुरुपयोग गरेको अभियोगमा पार्कलाई १५ वर्ष जेल सजाय सुनाएको थियो । पार्कमाथि सन् २०१९ को डिसेम्बरसम्ममा भ्रष्टाचार र पदीय दुरुपयोगको दुई वटा मुद्दा चलेको थियो । उच्च अदालतले दुईटै मुद्दालाई एउटैमा गाभेर विश्लेषण तथा मुद्दाको सुनुवाई गरिरहेको थियो । पार्कले आफ्नो साथी चोइ सुन सिललाई लगभग ७७ मिलियन वन चोइ फाउण्डेसनमा दिन कोरियाली ठूला कम्पनीहरुलाई बाध्य पारेकी थिइन् । त्यस्तै उनीमाथि तात्कालीन समयमा सेन्युरी पार्र्टीमा विभिन्न पदमा मनोनयन गर्दा असंवैधानिक तरिकाले हस्तक्षेप गरेको अभियोगसमेत लागेको थियो । सो मुद्दामा समेत पार्कले दुई वर्ष जेल सजाए पाएकी छन् । राष्ट्रपति कार्यालयमा यौन उत्तेजनाबर्धक औषधि भियग्रा भेटेपछि त उनीमाथि कोरियाली जनता अझै खनिएका थिए । त्यसपछि संसद्ले उनलाई महाअभियोग लगाएको थियो । महाअभियोगपछि उच्च अदालतलाई अनुसन्धानको बाटो खुलेको थियो । पार्कलाई हालसम्म तोकिएको जेल सजाय २२ वर्षको हो । पार्कका पिता तेस्रा राष्ट्रपति पार्क जङ ह्युई हुन् । जङ ह्युई कोरियाली विकासका आधारशीलाका रुपमा चिनिन्छन् ।

पिताले गरेको राम्रो कामको समेत आफैंले जस लिने नेपाली राजनैतिक दलहरुले यसबाट पाठ सिक्नुपर्छ । नश्लवादले घेरिएको नेपाली राजनीति त पिता, पतिको थोरै राम्रो कामका कारण पनि आफूले राम्रो पद र शक्ति पाउनु पर्ने माग गरिरहेको हुन्छ । पद र शक्ति हातमा आएपछि त्यसको दुरुपयोगमा मदहोश हुनुपुग्छ । त्यस्तो समयमा अदालतले पनि उसलाई लछारपटार लगाउन सक्दैन । यो विडम्बना हामी कहाँ छँदै छ । हामी कहाँ कहिले हुन्छ भ्रष्टाचारीलाई जेल ? कहिले हुन्छ अपराध स्वीकार्ने परिपाटी ?

केहि हप्ता अघि प्रहरीको फरार सूचीमा रहेका पूर्वमाओवादी लडाकु कमाण्डर कालिबहादुर खामले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमै भेटे । उनी शान्ति प्रक्रियापछि विभिन्न अपराधका मुद्दामा फरार थिए । प्रहरीले अपराधीको रुपमा राखेको व्यक्तिलाई प्रधानमन्त्रीले भेट्ने कारण के हो ? धेरै प्रश्नहरु उदाएका छन् । खामलाई भेटेपछि एक कार्यक्रममा प्रधानमन्त्रीले कालिबहादुर खाम अहिले प्रचण्डलाई चाहिएन भनेका थिए । दर्जनौं अपराधका मुद्दामा प्रहरीले खोजी गरिरहेको खाम ओलीको किन प्रिय भए ? ओलीको विश्वासपात्र बनेर धनगढीमा ओलीको कार्यक्रम गर्ने जिम्मेवारीसमेत लिएर खुलेआम डुलिरहेका छन्, उनी । खाम तात्कालीन चितवनको शक्तिखोर शिविरमा डिभिजन कमाण्डर थिए । त्यसबेला चितवनका व्यापारी रामहरि श्रेष्ठको हत्यामा उनी प्रत्यक्ष संलग्न थिए । खामले सरकारी छाप किर्ते, दस्तखत किर्ते, चोरी डकैती र हातहतियार तथा खरखजनासम्बन्धी मुद्दालगायतका दर्जनौं आपरधिक मुद्दा खेपिरहेको कुरा कसैबाट छिपेको छैन । प्रहरीको फरार सूचिमा रहेका अपराधीलाई प्रधानमन्त्रीले अँगालो हाल्न सक्ने लोकतन्त्र मेरै देशमा छ भन्नुपर्दा दुख लाग्छ । यस्ता अपराधीसँग प्रधानमन्त्रीले सहयोगको भीख माग्छन् भने हामी कस्तो शून्य सहनशीलताको डोरीले बाँधिएका छौं भन्ने प्रष्टै छ ।

लोकतन्त्रको महिमागान गर्दैमा लोकतन्त्र समृद्ध बन्दैन । लोकतन्त्र समृद्ध हुन त नियम र कानुन सबैलाई बराबर हुनुपर्दछ । अपराध गर्ने राष्ट्रपति नै भए पनि जेल हाल्न सक्ने दक्षिण कोरियाको जस्तो न्यायालय हुनुपर्दछ । जसले लोकतन्त्रको प्रत्याभूति दिलाओस् । स–साना घटनामा पनि हिंसा प्रतिहिंसा साँध्ने र एक अर्कालाई आरोप लगाउने अदालत सक्रिय भएर मुद्दा छिनोफानो गर्न लागे त्यसलाई प्रभावित बनाउन अनेक हर्कत गर्ने राजनैतिक संस्कार भएको हाम्रो मुलुकले अपराधीलाई विना कुनै प्रभाव सजाय दिने परिपाटीको सुरुवात कहिले गर्छ होला त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया