शुक्रबार, वैशाख ७, २०८१

पहिचानका खोजीमा झापाको ‘भक्का’

नेपालखोज २०७७ माघ ४ गते १४:०५

काठमाडौं । हात कक्रक्क पार्ने माघको ठिहीमा हरेक बिहान झापाका गाउँ शहरतिर बाफमा पकाइएको भक्का खान चोकचोकमा घुइँचो लाग्ने गर्छ ।
चटनी वा चियासँग भक्का खाँदा न्यानो मात्र हुँदैन, यसबाट प्राप्त स्वाद र सन्तुष्टिले आनन्द दिन्छ । आदिबासी राजवंशी समुदायले परापूर्वकालदेखि खाँदै आएका भक्का अहिले पूर्वी तराईको साझा परिकार बनेको छ । भोक मेटिने र अनुपम स्वाद भेटिने हुँदा बच्चादेखि पाकासम्मका लागि बिहानी खाजाका रुपमा भक्का लोकप्रिय बनेको छ ।

चामललाई पीठो बनाएर माटाको हण्डी भाडामा पकाइने बटुका आकारको सुख्खा परिकार भक्का हो । राजवंशी भाषामा यसलाई ‘भाक्का’ भनिन्छ । पहिलेपहिले बाफ उड्दै गरेको तात्तातो भक्का ढकीमा बोकेर राजवंशी महिला गाउँतिर बेच्न लैजान्थे । आफूले बाल्यकालमा केराको पातमा राखेर भक्का खाएको सम्झना आइरहने नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले बताए ।

अहिले व्यावसायिकरुपमा भक्काको उत्पादन हुन थालेको छ । ठूला होटल र रेस्टुराँमा यसको बिक्री बढेको छ । यसको इतिहास, परम्परा र पहिचानका लागि भक्काको गहन खोज तथा अनुसन्धान जरुरी भएको पत्रकार काजीको धारणा छ । अनुसन्धान भएपछि भक्कालाई राजवंशी जातिको नेपाली परिकारका रुपमा अन्तरराष्ट्रिय पहिचान दिलाउन सहज हुने उनले बताए ।


गीतकार ज्ञानु राजवंशीले विदेशी खाद्य परिकारले बजारमा कब्जा गरिरहेको अवस्थामा आदिवासी राजवंशी समुदायको भक्का, मुरीलगायतका नेपाली मौलिक परिकार ओझेलमा परेको गुनासो गरे । आज भाक्का राजवंशीको भान्साभित्र मात्र सीमित छैन गैर आदिवासी पनि भक्काको स्वादमा रमाउने गरेकोमा उनले खुशी व्यक्त गरे । सरकारले पनि यसलाई पहिचान दिलाउन र प्रबर्धन गर्न मद्दत गर्नुपर्दछ भन्ने उनको धारणा छ ।

प्रतिक्रिया