शनिबार, वैशाख १५, २०८१

मनोहरामा निःशुल्क गुर्जोको औषधि र चिया

नेपालखोज २०७७ माघ ४ गते १५:१७

काठमाडौं मनोहरामा सफाई अभियानका अभियानकर्मीलाई बहुउपयोगी वनस्पति गुर्जोबाट बनेको धुलो औषधि र चिया निःशुल्क वितरण गरिएको छ ।

देशव्यापी रुपमा निःशुल्क गुर्जो वितरण गर्दै हिँड्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कमलबहादुर राजलवटले अभियानका २०० अभियानकर्मीका लागि निःशुल्क गुर्जोबाट बनेको धुलो औषधि र चियाका प्याकेट वितरण गर्नुभएको हो । अभियानकर्मीलाई २०० प्याकेट चिया र २०० प्याकेट धुलो औषधि वितरण गरिएको उनले बताए ।

राजश्व कार्यालय लाहानमा कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी निवासमा गुर्जो रोपेर कोरोना महामारी फैलन थालेपछि उनी देशव्यापी रुपमा निःशुल्क वितरण गर्दै हिँडेका छन् ।

यसैगरी समाचार संस्था राससमा पनि अभियानकर्मी राजलवटले शनिबार गुर्जोको धुलो र चिया वितरण गरेका छन् । गुर्जोका विषयमा सामान्य जानकारी समेत दिँदै निःशुल्क वितरण गर्ने अभियान गत वैशाखदेखि जारी छ । गुर्जोका बिरुवा भने हाल रोप्न बेमौसम हुने कारणले वितरण गरिएको छैन । फागुनपछि बिरुवासमेत रोप्नका लागि वितरण गरिने जनाइएको छ । निःशुल्क गुर्जो वितरण अभियानमा राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग शिक्षक किशोर जोशी र जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थीलेसमेत साथ दिँदै आएका छन् ।

हालसम्म एक लाख ५० हजार भन्दा बढी गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरिएको राजलवटले बताए । बिरुवासँगै गुर्जोबाट बनेको धुलो औषधि र चियासमेत वितरण गरिएको छ । एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधिको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउँछन् ।

प्रतिक्रिया