बिहीबार, वैशाख १३, २०८१

कसले रोकेको छ गणेशमान पथ पच्छ्याउन ?

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ ५ गते ७:१५

नेपाली समाजमा कुनै पनि आदरणीय व्यक्तिको निधन भएपछि उनको जन्मजयन्तीमा त्यस व्यक्तिलाई बडो आदरका साथ सम्झने गरिन्छ । त्यसपछि अर्को सालको जन्मजयन्तीमा फेरि सम्झने गरिन्छ, बीचका बाँकी दिनमा तिनले दिएको योगदान र तिनको बिचारको खासै चर्चा हुँदैन । यो नियम हरेक वर्ष श्राद्धको दिन आफ्ना पितृहरुलाई सम्झने र श्राद्ध सकेपछि मतलब नगर्ने बिचारबाट प्रभावित छ । त्यस्तै श्राद्धहरुमा मात्र सम्झिइने र बाँकिका दिनहरुमा वास्ता नगरिएका पात्र हुन् नेपाली काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंह ।

वर्तमान राजनीति मूलतः राजनीति नभएर लाजनीति भएको छ भन्दा फरक नपर्ला । एक अर्कालाई खुइल्याउने तर देशको पक्षमा माखो नमार्ने प्रवृत्ति नेतृत्व वर्गमा छँदै छ । यो प्रवृत्तिको विकास पदको लागि मरिहत्ते गर्ने नेतृत्व वर्गको कारण भएको कुरामा कुनै द्विविधा छैन । वर्तमान राजनीतिका कारण मुलुकले भोगिरहेको पीडालाई मल्हम लगाउने काममा कुनै पनि नेताले त्यागको भावना नराख्नु दुःखको कुरा हो ।

बगरेको पसल अघि एक–दुई टुक्रा मासुकोे पाइन्छ कि भनेर कुर्दै बसेका कुकुरका झुण्डझैं वर्तमान राजनीतिमा हर्ताकर्ता मानिएकाहरु प्रधानमन्त्री पद पाइन्छ कि भनेर ढुकी बसेका छन् । यही नै राजनैतिक अस्थिरको कारक तत्व हो । आधाआधा कार्यकाल प्रधानमन्त्री बन्ने भनेर तमसुक लेखेर निर्वाचनमा होमिएका प्रचण्ड र ओलीको पदका कुरामा मतैक्यता नहुनाले संसद् विघटनसम्मका घटना मुलुकले व्यहोर्नु परेको कुरा घाम जस्तै छर्लङ्ग छ । चुनाव अघि पनि काँग्रेस सभापति र माओवादी केन्द्रका अध्यक्षले नौ–नौ महिनाको तमसुकमा सहि छाप गरी प्रधानमन्त्रीको पद बाँडफाँड गरेको कुरा कसैबाट छिपेको छैन । राजनीतिमा थोरै पनि त्यागी नेता जो गणेशमान जस्ता आज जीवित हुने थिए भने देशले यस्तो चोट पक्कै व्यहोर्नु पर्ने थिएन ।

राजनैतिक सङ्घर्षलाई पदसँग साटासाट गर्न चाहने नेतृत्वले गणेशमानको त्यागलाई हरेक दिन मनन गर्नु आवश्यक छ । गणेशमानको नेतृत्वमा २०४६ सालको आन्दोलन सफल भएपछि राजा विरेन्द्रले उनलाई प्रधानमन्त्रीको पद अफर गरे, तर गणेशमानले त्यो अफर स्वीकारेनन् बरु कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरे । गणेशमानको त्याग आजको राजनैतिक पदलोलुप नेताहरुले जीवनमा उतार्न मात्र होइन मनन गर्न पनि ठूलै त्यागी हुन सक्नुपर्दछ ।

०४६ को आन्दोलनमा आन्दोलनको नेतृत्व गरिरहेका शीर्ष नेताहरुलाई शाही घोषणाले आक्रोशित तुल्याएको थियो । शाही घोषणामा प्रधानमन्त्री फेर्ने कुरा बताइएको थियो । प्रधानमन्त्री फेरेर मात्र देशको समस्या समाधान नहुने कुरा गणेशमालाई उहिल्यै थाहा थियो, तर हामीलाई आजको समस्यामा पनि प्रधानमन्त्री फेरे त समस्या समाधान होला कि जस्तो लागिरहेको छ । गणेशमान सिंहले प्रधानमन्त्री फेर्ने शाही घोषणालाई ‘रामेको ठाउँमा श्यामे ल्याउने’ नाटकको रुपमा अर्थ्याएका थिए । ‘देशव्यापी रुपमा उर्लिराखेको प्रजातान्त्रिक चाहनाको ठाडो उपहास गर्ने धृष्टता शाही घोषणाले गरेको छ भन्दै राजासँग जोरी खेल्ने आँट कसैमा थियो भने त्यो गणेशमा सिंहसँग नै थियो । हाँसी–हाँसी छातीमा गोली थापिरहेका अविचलित भएर अनेकौं प्रकारका शारीरिक एवं मानसिक यन्त्रणालाई खपिरहेका र मुलुकभर खडा गरिएका तथाकथित जेलरुपी यन्त्रणा शिविरहरुमा छटपटिइरहेका नेपालीहरुले रामेको ठाउँमा श्यामेलाई उब्जाउने नाटक हेर्ने अपेक्षा गरेका छैनन् भन्दै वीर अस्पतालबाट जारी वक्तव्यमा योद्धा गणेशमानले पोखेको आक्रोशलाई हाल काँग्रेस सभापति भएका देउवाको मनले सम्झन्छ वा सम्झँदैन ? कि सराद्धेको दिन हठात् याद आउँदो हो ?

उनलाई नेपाली राजनीतिमा फादर अफ डेमोक्रेसी एवं नेपाली काँग्रेसले सर्वमान्य नेता लौहपुरुष आदि नामले सम्मान गर्ने गर्दछ । त्यो सम्मानको हकदार साँच्चै गणेशमान थिए, छन् र रहनेछन् । राणाशासनका विरुद्धको लडाईं, महेन्द्रको ‘कू’ विरुद्धको लडाईंमा गणेशमानले पन्ध्र वर्ष जेल जीवन बिताए । प्रजातन्त्रको लागि पन्ध्र वर्ष उनी निर्वासनमा रहे । बाँकी तीस वर्ष पनि राजनैतिक उतारचढावले गर्दा गणेशमानले चैनले बस्न पाएका थिएनन् । राजाले हातैमा प्रधानमन्त्रीको पदको प्रस्ताव राखिदिएकै थिए अलिकति लालच राखेको भए अरु प्रधानमन्त्रीहरुको भित्तामा फोटो राखिए जस्तै उनको पनि राखिने थियो तर गणेशमानले लालची हुन मानेनन् । उनको निष्ठा र इमानदारितालाई कतिपयले कमजोर र काँतर भनेर लान्छना लगाउँछन् तर गणेशमानले भोगेको जेल र राणाको भाटे कारबाही थापेका ढाडलाई तिनले बिर्सन्छन् । जनता र देशको लागि आफ्नो जीवन दाउमा लगाएका योद्धालाई लगाइने त्यस्ता लान्छनाले पनि तिनको इज्जत र सम्मानमा कमि आउँदैन अपितु अझै सम्मानित बनाउँछ ।

यो देशको दुर्भाग्य नै मान्नुपर्दछ कि कम्युनिष्ट पार्टीमा त त्यस्तो त्याग हुन सम्भवै छैन, तर गणेशमान जस्तो त्यागका प्रतिमूर्तिको पार्टी काँग्रेसका धेरै नेताहरु पनि आज गणेशमानको पद पच्छ्याउन सक्दैनन् । काँग्रेसका सभापति नै प्रधानमन्त्री हुन जुन सुकै मूल्य चुकाउन पछि पर्दैनन् भने गणेशमान पथ पच्छ्याइदिने कसले ? गणेशमानलाई सम्झिदिने कसले ? अरु त अरु तमाम मान्छेहरुले गणेशमानलाई उनको जन्मजयन्तीमा सराद्धे मनाउने हिसाबले सम्झिए जस्तै उनकै पुत्रले पनि उनका बिचारको बाटो पच्छ्याउँदैनन् उही सराद्धेको दिन सम्झन्छन्, कर्मकाण्ड सक्छन्, त्यसपछि तमाम लालचीहरुको जस्तै शुरु हुन्छ दिनचर्या ।

चप्पल लगाएर काठमाडौं छिरेका गरिब दीन हीन नेताहरुलाई पद र प्रतिष्ठाको लोभ हुनु स्वाभाविकै हो । जन्मदैँ सम्भ्रान्त परिवारमा जन्मिएका हिराकाजीलाई नपुग्दो के थियो र तिनले पैसा पद र प्रतिष्ठाको लालसा राखून् ? उनलाई खान पनि पुगेकै थियो दिन पनि पुगेकै थियो त के का लागि लोभ गरुन् ? तुनावाला सस्ता चप्पलवालाहरुले गणेशमानको थोरै पनि त्यागलाई पच्छ्याए भने नेपालले यस्तो दुर्गति भोग्नुपर्ने थिएन ।

प्रतिक्रिया