शुक्रबार, वैशाख ७, २०८१

‘विकासको काममा नगरवासीको सहयोग उत्कृष्ट’

नेपालखोज २०७८ साउन ६ गते ९:५५

विकास निर्माणका कामहरू नगरवासीकै सहयोगमा सम्पन्न भएका हुन् ।

हाइलाइट्स :

– नगरपालिका सबै नगरवासीको साथमा छ भनेर विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका संक्रमितहरूको मनोबल उच्च बनायौं ।
– कोराना संक्रमणको पिकआवरका बेला आवश्यकता परेकालाई घरघरमा अक्सिजन पठाएर सहयोग गरेका छौं ।
– ग्रिन सिटी अस्पतालमा २८ संक्रमितलाई तत्काल अक्सिजन आवश्यकता परेको चिकित्सकले सूचना दिए । रातको १२ बजे अक्सिजनको व्यवस्था गरेर उनीहरूको जीवन बचाएका छौं ।
– नगरवासीको जोड पहिले पूर्वाधारको विकासमा छ । नगरवासीकै अपेक्षाअनुसार काम भइरहेको छ । मैले चुनावी घोषणापत्रमा प्रतिबद्धता गरिएका बुँदाहरू ४ वर्षसम्ममा शतप्रतिशत पूरा गरेको छु ।
– नगरपालिकाको विकाससम्बन्धी कामलाई तीन चरणमा विभाजन गरेको छु । पहिलो चरणको योजनाअन्तर्गत पाँच वर्षको अवधिमा ५० प्रतिशत काम सकिनेछ । दोस्रो चरणको पाँच वर्षे योजनामा ७५ प्रतिशत र अर्को पाँचवर्षे योजनामा शतप्रतिशत विकासको काम सक्ने नगरपालिकाले लक्ष्य लिएको छ ।
– ‘मेयर उज्यालो कार्यक्रम’ अनुसार टोखाका सबै मुख्यसडक तथा चोकमा उज्यालो बत्ती बालिएको छ ।
– वडा १, २ र ३ मा डुबानको समस्या समाधान गर्न साढे ३ किलोमिटर ढल निर्माण सम्पन्न गरिएको छ । अहिले धापासी र गोंगबु क्षेत्रमा डुबानको समस्या छैन ।
– चुनावी घोषणापत्रमा एक वडा एक स्वास्थ्यचौकी र एक वडा एक प्रशासनिक कार्यकक्ष बनाउने प्रतिबद्धता जनाएको थिएँ । अहिले ११ वटै वडामा निर्माण कार्य सकिएको छ । नगरपालिकाको नगर भवन बनाउने चुनावी प्रतिबद्धता पनि चाँडै पूरा हुँदै छ । अहिलेसम्म नगर क्षेत्रमा ७५ प्रतिशत सडक निर्माण कार्य पूरा भएका छन् । आगामी वर्षहरूमा बाँकी २५ प्रतिशत काम सक्नेछौं ।
– गोंगबु र धापासी क्षेत्रमा मेलम्चीको पाइप बिछ्याउने काम भइरहेको छ । पाइप बिछ्याउन संघ र प्रदेश सरकारसँग बारम्बार ध्यानाकर्षण गराएको थिएँ ।
– नगरवासीमा खानेपानीको पहुँच पुर्‍याउन उत्तरतिरको प्राकृतिक स्रोत उपयोग गरेर १२ करोडसम्मको ठेक्कामा काम अघि बढ्ने चरणमा छ ।
– अन्तर्राष्ट्रिय ग्रान्डी अस्पताल रहेको टोखामा ४ वर्षभित्रै प्रदेश अस्पताल पनि निर्माण सम्पन्न हुनेछ । टोखा नगरपालिकामा पर्ने साबिकका पाँचवटा गाविसको विकासका लागि विशेष ध्यान दिएका छौं । विकासको सम्भावना हेरेर काम भइरहेको छ ।
– टोखा नगरपालिकामा मेयर भएर आउनुअघि सडकमा ढल बग्थ्यो, दिसापिसाब बग्थ्यो । नगरबासी मुख्य चोक र सडकमा दिसापिसाबमै टेकेर हिँड्न बाध्य थिए । हजारौंको घरमा जुत्ताचप्पलबाट दिसाजन्य फोहोर पुग्थ्यो । यस्ता गुनासो नगरवासीले सामाजिक सन्जालमै हाल्थे । चुनाव जितेपछि समस्या समाधान गर्नुपर्छ भनेर दबाब आयो । समस्या समाधान गर्छु भनेर संकल्प गरेँ ,अहिले त्यो समाधान भएको छ ।
– टोखालाई सांस्कृतिक क्षेत्र बनाउने घोषणा गरिएअनुसार सोही किसिमले विकास निर्माणको कामलाई अगाडि बढाइएको छ । साथै बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिन उत्तरी क्षेत्रमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माणकार्य जारी छ ।
– निर्वाचन क्षेत्र विकास क्षेत्र कार्यक्रमअनुसार ४० करोडको लागतमा विकास निर्माणका काम गर्ने गरी टेन्डर प्रक्रिया भइरहेको छ ।
– विकास आफूबाटै सम्भव छ । संघ र प्रदेश सरकारबाट सहयोग प्राप्त गर्न धेरै संघर्ष गरेको छु । संघ र प्रदेश सरकारबाट सहयोग भएन भनेर हात बाँधेको भए विकास सम्भव हुँदैनथ्यो ।
– पहिले नगरपालिकाको कार्यालयमा विकास योजनाका मागपत्र र गुनासो लिएर आउनेको भिड लाग्थ्यो । आजभोलि विकासको माग र गुनासो लिएर आउनेको संख्या तुलनात्मक घटेका छन् ।
– शपथ खाने बेलामा खुसी थिएँ, काम गर्न सकिँदैन कि भनेर चिन्तित पनि थिएँ । मैले जनसमुदाय र जनप्रतिनिधिसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएअनुसारै विकास निर्माणको काममा सफल भएको छु ।
– निर्वाचित भएर आएदेखि कर्मचारीवर्ग र सबै राजनीतिक दलबाट काम गर्ने वातावरण पाएको छु । स्थानीय तहमा विकास गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच उचित समन्वय हुन आवश्यक पर्छ । तीनवटै तहवीच समन्वय गर्न सकेकाले टोखाको विकास सम्भव भएको छ ।
– सुशासन कायम गर्न सफ्टवेयर सिस्टमको विकास गरिएको छ । कसैले लगेको बजेट र योजना नगरवासीले तत्काल थाहा पाउन सक्नेछन् । जनतालाई चाँडोभन्दा चाँडो सूचना दिन नगरपालिका प्रयासरत छ ।
– विकास निर्माणको ५८ प्रतिशत काम चार वर्षको अवधिमा सकिएको छ । कोभिड संक्रमणको प्रभाव नपरेको भए ५८ वटा विकास आयोजनाको काम सुरु गरिन्थ्यो । अधुरा कामलाई पूरा गर्नतिर लागिएको छ । २०७९ साल विकासको वर्ष हुनेछ भनेर घोषणा गरेअनुसार युद्धस्तरमा काम भइरहेको छ । काम गर्ने प्रविधिकलाई हौसला दिएका छौं ।
– असारे विकाससम्बन्धी नगरवासीको गुनासो हटाउन असारमा गरिने सडक निर्माणको कामलाई मंसिरमा सारेको छु ।
– मेरो बिदाई हुने बेलासम्म पूर्वाधार विकासका उदाहरणीय कामहरू भिडियो खिच्दै देख्न र देखाउन सक्नुहुनेछ ।
– टोखामा ९५ प्रतिशत मानिस आर्थिक रुपमा सक्षम छन् । युवाहरूको विदेश पलायन रोक्न दक्ष जनशक्ति उत्पादन गर्ने किसिमका तालिमहरू सञ्‍चालन गरिरहेका छौं ।

टोखा नगरपालिकामा म मेयर भएर आउनुअघि सडकमै ढल बग्थ्यो । नगरवासी मुख्य चोक र सडकमा दिसापिसाब टेकेर हिँड्नुपर्ने बाध्यतामा थिए । चुनाव जितेपछि यो समस्या समाधान गर्नुपर्छ भनेर चौतर्फी दबाब आयो । समस्या समाधान गर्छु भनेर संकल्प गरें, अहिले यो समाधान भएको छ ।


– एक वडा एक पार्कको अवधारणा ल्याइएको छ । सीसी क्यामेरा प्रत्येक चोक र सडकमा राख्ने योजना छ । यस्तै पहिलोपटक नगरपालिकाको प्रशासनिक भवन निर्माण भइरहेको छ । मेयर उज्यालो कार्यक्रमअन्तर्गत सडकमा बत्ती राखिएका छन् । प्रदेश अस्पतालको निर्माण कार्य पनि मेरै कार्यकालमा सुरु भएको छ ।
यी कामहरू टोखाको इतिहासमा रहनेछन् ।
– मेरो कार्यकालका विकास निर्माणका कामहरू नगरवासीको सहयोगमा सम्पन्न भएका हुन् । म नगरवासीले विकास निर्माणमा गरेको सहयोग मरेपछि चिता रहेका बेला पनि सम्झिनेछु ।

(नेपालखोजको ‘मेयरका कुरा’ मा हामी विभिन्न नगरपालिकाका मेयरहरुसँग समसामयिक विषयमा कुरा गर्छौं । कार्यक्रममा हामी नगरभित्रका समस्या, त्यसको समाधानमा मेयरको भूमिका तथा प्रयास, आगामी योजनालगायतका विषयहरु पाठक तथा दर्शकसामु प्रस्तुत गर्छौं । ‘मेयरका कुरा’ हरेक बुधबार नेपालखोजमा पढ्न र हेर्न सकिन्छ । यसपटक ‘मेयरका कुरा’ मा हामीले टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीसँग कुराकानी गरेका छौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं ।)

प्रतिक्रिया