निर्वाचनको विरोधमा नउभिन पौडेललाई देउवाको आग्रह

नेपालखोज २०७७ माघ ६ गते १०:०५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा सशक्त आवाज उठाउँदै आएका वरिष्ठ नेता पौडेललाई सभापति देउवाले सोमबार उनकै निवास बोहोराटारमा पुगेर भेटवार्ता गरेका हुन् ।

भेटमा देउवाले पौडेललाई अदालतलाई जोडेर निर्वाचनको विरोधमा नउभिन आग्रह गरेका छन् । पौडेलसँगको करिब एक घण्टा कुराकानी गरेपछि देउवाले केन्द्रीय कार्यसमितिको बैठकसमेत माघ १३ गतेलाई सारेका छन् ।

यसअघि पुस २७ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) आर्थत् माघ ६ गते बोलाइएको थियो ।

पछिल्ला दिनमा पार्टी नेतृत्वको भूमिकाको समेत चर्को आलोचना गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्दै आएका पौडेललाई देउवाले ‘न्युट्रल’ राख्ने प्रयास गरेको स्रोतले बतायो । यसअघि महामन्त्री शशांक कोइरालालाई दुईपटक निवासमै बोलाएर निर्वाचनको विरोध नगर्न आग्रह गरेका थिए ।

देउवाले पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्ने तर निर्वाचनको विरोध गर्न नहुने बताएका थिए ।

माघ ३ गतेको पार्टीको विरोध प्रदर्शनका क्रममा चितवन पुगेर पौडेलले नेतृत्वलाई चुनाव–चुनाव नभन्न आग्रह गर्दै प्रतिनिधिसभा पुनर्स्स्थापनाको विकल्प नभएको बताएका थिए । देउवासँगको भेटमा पनि पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाकै लाइन पार्टीले लिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया