मंगलबार, वैशाख ११, २०८१

अधार्मिक बमजनको धार्मिक दुश्साहस

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ ६ गते १०:४९

रामबहादुर बमजन बाराको रतनपुरीमा १० महिना तपस्याका नाममा एउटा सेतो च्यादर ओढेर ध्यान आसनमा बसेका थिए । त्यतिबेला उनले ध्यान होइन ढोङ रचेका थिए भन्ने कुरा हालका उनको हर्कतहरुले प्रमाणित गरेका छन् । उनी कति तपस्या बसे, कति निराहार बसे, त्यो विवादास्पद पाटो यथावत् कायमै छ । त्यहाँ उनलाई सघाउने भित्री घेरामा उनका परिवारका सदस्य मात्र थिए जेठा दाइ, भाइहरु र मामाका छोरा । यथार्थ त उनीहरूले मात्र भन्न सक्छन्, तर तिनको मुख पैसाले छोपिएको छ या त मायाको कारण बन्द भएको छ, भित्री यथार्थ कसैले बताउँदैनन् । तसर्थ उनी धर्मका नाममा सोझासाझा मानिसहरुलाई मूर्ख बनाइरहेका छन्, यो नै वास्तविकता हो ।

आनीहरूमाथि यौन हिंसा, बेपत्ता पारेको र हत्या गरेको भन्दै बमजनविरुद्ध सर्लाही, मकवानपुर र नुवाकोटमा किटानी जाहेरी परेको थियो, यो समाचारहरुमा आइसकेको कुरा हो । आश्रमबाट सर्लाहीकी रीता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी चिनीमाया रुम्बालाई बमजनले नै बेपत्ता पारेको उजुरी प्रहरीमा परेको थियो । यस्तै, बाराका सुरेश आले मगर, मकवानपुरका सञ्चमान वाइवा सिन्धुली आश्रमबाट बेपत्ता भएको परिवारजनले प्रहरीमा उजुरी दिएका थिए । पछिल्लो समय सर्लाहीमा एक नाबालिकालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा प्रहरीले बमजनलाई पक्राउ गर्न जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो । सोही आधारमा सिन्धुली आश्रममा प्रहरीले बमजन पक्रिन दुई पटकसम्म छापा मारेको थियो, तर बमजन जङ्गलमा लुकेका छन् । सिन्धुलीमा ४२ बिघामा फैलिएको जङ्गलै जङ्गलको आश्रममा उनी लुक्नु सामान्य कुरा हो । उनको आश्रमले सामुदायिक वनको १८ बिघा जग्गासमेत कब्जा गरेर काँडे तार लगाएको छ । समुदायको सम्पत्ति अधिग्रहण गरेर आफ्नो बनाउने अपराध पनि एक धार्मिक मानवले कहिल्यै गर्न सक्दैन ।

भौतिक, सांसारिक रूपमा देखिने आवासमा उहाँ हुनुहुन्न । जङ्गलतिर कता हुनुहुन्छ भनी प्रहरीलाई उनका चेलाचपेटाले छल्ने काम गरेका छन् । बमजन साँच्चै आध्यात्मिक मानव हुन् भने उनले प्रहरीलाई सहयोग गर्न सक्ने थिए । जङ्गलमा भाग्दै हिँड्ने भगौडालाई आध्यात्मिक गुरु मान्न सकिएला त ? बमजनभन्दा त बरु घरमा नै बसेर आफ्ना बालबच्चा र परिवारको रेखदेख गरिकन श्रद्धाले कर्महरु सम्पादन गरिरहेका गृहस्थहरु आध्यात्मिक छन् । बमजनले रीता वोट हराएपछि रीताका परिवारलाई प्रहरीमा खबर नगर्नु भनेर भनेका थिए । त्यसबाट के प्रमाणित हुन्छ भने कुनै पनि धार्मिक मान्छे प्रहरीबाट त्यतिविघ्न डराउँदैन । किनकी ऊ त काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यबाट माथि उठ्ने शक्तिशाली बिचारबाट प्रेरित हुन्छ । त्यस्तो बिचार बोक्ने उसलाई के को डर ? भनिएको नै छ तत्र को मोहः के शोकः ? अर्थात् त्यहाँ के शोक हुन्छ, के मोह हुन्छ ?

बमजन घटनालाई विश्लेषण गर्दैगर्दा हामीले छिमेकी मुलुक भारतमा भएका विभिन्न धर्मगुरु भनिएकाहरुको उत्ताउला कार्यहरुलाई बिर्सन हुँदैन । त्यस्ता बाबा माताहरुमा राम रहिम, आशाराम, रामपाल, नित्यानन्द, भिमानन्द, परमानन्द र सुखविन्दर कौर राधे माँको नाम अग्रपंक्तिमा आउँछ । धर्मका नाममा भएका यस्ता पाखण्डहरुले कहिलेकाँही धर्मप्रति नै श्रद्धालुहरुको आस्था घट्न जान्छ तर यी पाखण्डहरुको उजागर हुनाले नै धर्मप्रतिको विश्वास र आस्था मजबुत हुन जान्छ भन्ने कुरा पनि हामीले बिर्सन हुँदैन ।

हिलोमा फक्रिएको कमलको निन्दा नभए जस्तै साँच्चै सिद्ध र महापुरुष छन् भने तिनको कहिले पनि निन्दा हुँदैन । त्यस्ता धेरै सिद्ध महापुरुषहरुको उदाहरणीय कर्म र आचरणहरु पनि हाम्रै अघिल्तिर छँदै छन् । नेपालकै त्यस्ता सिद्ध सन्तहरुमा गोरखनाथ, स्वर्गद्वारी महाप्रभू, खप्तड बाबा, गलेश्वर बाबा, योगी नरहरिनाथ आदिको नाम अविस्मरणीय छन् । उहाँहरुको सत्कर्म र बिचारहरुले हामीलाई जीवनदायिनी संजीवनी जिउने प्रेरणा मिलिरहेको छ । धर्मको सुवास उहाँँहारुले दिनुभएको बिचारहरुले चारैतिर फैलिरहेको छ । यो तथ्यलाई पनि हामीले कदापि बिर्सन हुँदैन ।

बीबीसीले रामबहादुरलाई लिटिल बुद्धको पगरी भिराउन हतार गरेको थियो । उसले पहिलेको बुद्धको आमाको नाम पनि मायावती र अहिलेको बुद्धको आमाको नाम पनि मायावती भनेर नचाहिँदो भ्रम फैलाएको थियो । त्यसको आत्मालोचना अहिले उसले गरिरहेकै छ । बुद्ध हुनु सामान्य कुरा होइन । बुद्ध हुनु त प्रबुद्ध हुनु हो, महामानव हुनु हो, चेतन हुनु हो । बमजनलाई त्यसै बुद्धको उपाधि दिइयो । त्यसले सिद्धार्थ गौतमलाई समेत अपमान गरेको छ । ज्ञान प्राप्त गरेपछि सिद्धार्थ गौतमले विश्व कल्याणलाई आफ्नो अभिष्ट बनाए । घरमा खाने चामल नभएका रामबहादुरले दुनियाँले बुद्ध घोषणा गरिदिनाले त्यसलाई रोजगारको माध्यम बनाए । त्यतिले मात्र नभएर उनी बलात्कार र हत्याहरुमा समेत संलग्न रहे । उनका भक्तहरुले प्रहरीलाई सहयोग गरेर अनुसन्धानको मार्ग प्रसस्त गरिदिनुको साटो बमजनलाई लुकाएर झन् अपराधलाई बढावा दिई रहेका छन् । बमजन साँच्चै सिद्ध हुन् भने उनलाई जेल जान पनि डर लाग्दैन थियो, किनकी उनलाई जेलमा पनि आफ्नो साधना गर्न कसैले छेक्दैन थियो । एउटा साधकलाई मान अपमान र सम्मानकोे खासै महत्व हुँदैन । साधकको शरीर यहीँ रहे पनि ऊ परमार्थको चिन्तक हुनाले उसको चित्त त परमार्थमा रहन्छ । उसले दुनियाँको आँखा छलेर भागी हिँड्नु आवश्यक रहँदैन । धर्म त सार्वभौम सत्य हो । धर्म सधैँ सत्यसँग सम्बन्धित हुन्छ । धर्मले पापको मार्ग समात्नै सक्दैन । धर्म र पाप एक अर्काका विपरितार्थक हुनाले बमजन फगत् एक अपराधी हुन् । उनको मुकुण्डो उतारिनु जरुरी छ । संसारको आँखा छल्ने कुचेष्टा उसैलाई हुन्छ जो अपराधी हुन्छ ।

प्रतिक्रिया