सोमबार, वैशाख ८, २०८२

महामारीका कारण ४६ प्रतिशत उद्योग अझै बन्द, साढे १२ प्रतिशत मजदुर तलबविहीन

नेपालखोज २०७७ माघ ६ गते ११:०८

काठमाडौं । महामारीका कारण बन्द भएका ४६ प्रतिशत उद्योगहरु अझै पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । गत असारमा ४ प्रतिशत मात्रै उद्योग पूर्ण सञ्चालनमा रहेकोमा भने अहिले सुधार आएको छ । तर, बजार जबरजस्त चलेको देखिएपनि व्यवसाय भने अझै महामारीको अघिको अवस्थामा फर्कन सकेको छैन ।

५४ प्रतिशत उद्योग तथा व्यवसाय मात्रै पूर्ण रुपमा सञ्चालनमा आएको देखिन्छ । तर, अझै पनि ९.१ प्रतिशत उद्योग तथा व्यवसायहरु त सञ्चालनमा नै आउन नसकेको देखिन्छ ।

उद्योेग व्यवसायमा सुधार आउन नसक्दा त्यसमा आश्रित झण्डै १२ प्रतिशत अहिलेसम्म रोजगारीमा जान सकेका छैनन् । महामारीका कारण बिदामा पठाइएका उनिहरुलाई उद्योगधन्दाले अहिलेसम्म काममा बोलाउन सकेका छैनन् ।

गत असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएतापनि कोभिड महामारी अगाडिको अवस्थामा भने पुग्न सकेको छैन ।

कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले मंसिरमा ८७.५ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ । मझौला उद्योगहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ ।

मझौला उद्योगमा पनि होटल तथा रेष्टुरेन्ट क्षेत्रका उद्योग/व्यवसायहरुले रोजगारी दिन नसकेका हुन् ।

असारको तुलनामा रोजगारी भने बढेको छ । किनभने पछिल्लो समय उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकको एक अध्ययनका अनुसार कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्च घटेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट भन्छन् ‘गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिन्छ । तर, साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगहरुको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको छैन ।’

गत असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा भने केही सुधार आएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसत करिब २९ प्रतिशत मात्र उत्पादन रहेकोमा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसत ५० प्रतिशतभन्दा बढी पुगेको छ ।

त्यस्तै २०७७ असारको तुलनामा मंसिरमा उद्योग/व्यवसाय सञ्चालनमा सुधार आएको राष्ट्र बैंक बताउँछ । साथै असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको छ । तर, कोभिड–१९ पूर्वको अवस्थामा उद्योग/व्यवसायहरु सञ्चालन हुन भने सकेका छैनन् ।

अहिले उद्योगीहरु बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाई भएको तथा बैंकबाट थप कर्जा प्राप्त गर्न समस्या भएको बताउँछन् ।

०७७ असारमा राष्ट्र बैंकले महामारीका कारण उद्योगधन्दामा परेको असर सम्बन्धि एक अध्ययन गरेको थियो । जसमा देखिएको नतिजामा भन्दा भने अहिले उद्योगहरुको उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको हो ।

समग्रमा कोभिड पूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति अहिले ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधारआई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ । तर, अझ रोजगारी तथा उत्पादन बढाउनका लागि सरकारले निजी क्षेत्रलाई थप सहयोग गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया