शुक्रबार, वैशाख १४, २०८१

महाभारतका एक पात्र बर्बरिक, जसको महाभारतमा कुनै उल्लेख छैन

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ ६ गते २०:२५

यिनको प्रसङ्ग स्कन्दपुराणबाट झिकिएको हो । बर्बरिक यदि महाभारतको युद्ध लड्दथे भने बर्बरिकमात्र बाँच्दथे यसमा शंका छैन । यिनी भीमका नाती एवं घटोटकचका छोरा थिए । बाल्यकालदेखि नै बलवान् एवं बुद्धिमान् बर्बरिकको लालनपालन एवं शिक्षादिक्षाको अभिभारा उनकी आमा मौरवी (अहिलवती) तथा हजुरआमा हिडिम्बाले गरेको पाइन्छ । घरमा शिक्षित महिलाहरु हुनाले उनको क्षमता अभिवृद्धि हुनमा कमी रहेन । नारी शिक्षित रहेको घरका बच्चामा अद्भूत क्षमताहरुको विकास हुनु नौलो कुरा थिएन । यिनकी आमा मौरवी अद्भूत युद्धकला एवं ज्ञानका क्षेत्रमा निपूर्ण थिइन् । माैरवीले ठूलाठूला पराक्रमी योद्धाहरुलाई युद्धकलाले एवं विद्वानहरुलाई ज्ञानकलाले पराजित गरेका कुराहरु महाभारतमा वर्णित छ । आफ्नी आमामा भएको क्षमता यिनमा पनि बाल्यकालदेखि नै विकसित भएको थियो । साथै बर्बरिक भगवान् शिव एवं दुर्गाको परमभक्त समेत थिए ।

बर्बरिकले भगवान शिवको घोर तपस्या गरेर तिनलाई प्रसन्न गरेका थिए । आशुतोष भगवान शिव प्रसन्न भएर बर्बरिकलाई तीन अभेध्य बाण दिएका थिए । कतिपय काव्यकारले तिनलाई अभेध्य वाण भगवती दुर्गाले दिएको बताएका छन् । शिव या दुर्गा जसबाट तिनले अभेध्य वाण प्राप्त गरेको भए तापनि उनीसँग अभेध्य वाण रहेको कुरामा कतै पनि विवाद छैन । यसरी अभेध्य तीन वटा वाण प्राप्त गरेका बर्बरिकलाई अनुशासन र ज्ञानका कारण अग्नीदेवले प्रसन्न भएर धनुर्वाण प्रदान गर्नाले यिनी अजेय योद्धा बनेका थिए । विभिन्न प्रसङ्गबाट यो तथ्य बाहिर आएको छ । यिनीसँग भएको यो शक्तिले तीनै लोक विजय गर्न सक्ने मान्यता पनि कतिपय विद्वानहरुले अघि सारेका छन् ।

बर्बरिकको शिर काटियो । टाउको रुखमा झुण्डाइयो । त्यही रुखमा झुण्डिएर उनले महाभारतको युद्ध हेरे । हो, बर्बरिक महाभारतमा वर्णित पात्र हुन् । कृष्णको कुटिल चालका कारण उनले महाभारतको युद्ध लड्न पाएनन् । जो कमजोर छ, त्यतैतिरबाट युद्ध लड्ने बर्बरिकको प्रतिज्ञा थियो । तर, कृष्णले उनलाई युद्ध लड्नबाट रोके । कृष्णले नै उनको शिर क्षेदन गर्ने अवस्था सिर्जना गरे । बर्बरिकले युद्ध लड्न पाएको भए सबैलाई सखाप पारिदिन्थे भन्ने मान्यता छ ।

महाभारतको युद्ध कौरवहरू र पाण्डवहरूका बीचमा अपरिहार्य भइसकेको थियो । पाण्डव र कौरव धर्म र अधर्मका फरक पाटाहरु समाएका बन्धुहरु थिए । धर्मको मार्ग पहिल्याउने पाण्डवलाई कृष्णको समर्थन रहनु असामान्य थिएन । युद्ध अपरिहार्य रहेको समाचार बर्बरीकलाई पनि प्राप्त भयो । तिनको पनि युद्धमा सम्मिलित हुने इच्छा जागृत नहुने कुरै भएन किनकी उनी एक योद्धा थिए, साथै बर्बरिक पाण्डवका नाती थिए । जब उनी आफ्नी आमा मौरवीसँग युद्धको लागि आशीर्वाद प्राप्त गर्न पुगे तब उनले तत्कालीन अवस्थामा कमजोर ठहरिएका पाण्डव नै थिए, तसर्थ उनले आमालाई सधैँ कमजोर पक्षको साथ दिने बचन दिएका थिए । उनको यस्तो बचनका कारण यदि युद्ध लड्दै जाँदा कौरव पक्ष कमजोर ठहरिएमा उनको बचन मुताविक उनले कौरव पक्षबाट लडाईं लड्नुपर्ने हुन सक्थ्यो । यो हेक्का बर्बरिकले राखेकै थिएनन्, तर कृष्ण यस कुराको हेक्का राम्ररी राख्दथे ।

बर्बरिक आफ्नो निलघोडामा तीन बाण र धनुषका साथ कुरूक्षेत्रको रणभूमितर्फ लम्किए । उनको परीक्षा लिनका लागि ब्राह्मण भेषधारी कृष्णले बाटोमा बर्बरिकलाई रोके । तिमी कहाँ जान लागेका हौ, कृष्णको प्रश्न हुन्छ बर्बरिकलाई । बर्बरिकले पाण्डवहरू कमजोर भएकोले सघाउन जान थालेको सहज उत्तर दिन्छन् । सधैँ कमजोरको सहायता गर्ने बर्बरिकको कारण भविष्यमा आउने युद्ध परिणामसँग कृष्ण परिचित थिए तसर्थ बर्बरिकलाई युद्धमा सामेल गराउँदा धर्म र पापको युद्धको विजयश्री भने बर्बरिकको हातमा जानेमा शंका थिएन ।

तसर्थ बर्बरिकका तीन वटा तीरहरु कति अभेध्य छन् भन्नेबारे आफू विश्वस्त नरहेको भन्दै बर्बरिकलाई कृष्णले उत्तेजित गराउँदछन् । तिम्रा यी वाण यदि अभेध्य छन् भने यो पीपलको रुखका सबै पातमा प्वाल पारेर देखाऊ भन्दै कृष्णले उत्तेजित गराइएका बर्बरिकले एउटा वाण सबै पातहरुलाई लक्षित गरी छाडिदिन्छन् । उनका तीरले पीपलका सबै पात छेडेर कृष्णको गोडा वरिपरि घुम्न थाल्छ किनकी कृष्णले एउटा पात आफ्नो खुट्टामुनि लुकाएका थिए । बर्बरिकले भन्छन् कृपया गोडा हटाउनु होस् अन्यथा यसले तपाईंलाई हानी पुर्याउन सक्छ । तर, चतुर कृष्णको चाल अर्कै हुन्छ । आफूलाई बर्बरिकको वाणले घाइते बनाई उनी बर्बरिकसँग वर मागिदिन्छन्, कि म तिम्रो काटिएको शिर चाहान्छु भन्ने । यसरी कृष्णबाट छलिएका बर्बरिकले कृष्णलाई आफ्नो शिर सुम्पिदिए । महाभारत युद्ध हेर्ने चाहना राखेका शिर काटिएका बर्बरिकलाई कृष्णले महाभारत हेर्न सक्ने दिव्यचक्षु दिएको कुरा विभिन्न काव्यहरुबाट जानकारी पाइन्छ ।

उद्योगधन्दाहरु धेरै नभएको हाम्रो मुलुकको सबैभन्दा ठूला उद्योगहरु राजनैतिक पार्टीहरु हुन् । यी उद्योगहरु वस्तुतः बिचारधारा र योजनाहरुले चल्दैनन् । यी उद्योगहरु लालसा, कुण्ठा, हिनता र डरले आक्रान्त छन् । यिनमा आआफ्ना उद्योगहरुले हार्ने चिन्ता मात्र छ । यी उद्योगहरुले लडिरहेको युद्ध स्वयं स्वयंको अहङ्कारको युद्ध मात्र हो । यो युद्धमा विनाकारण मुलुक नामको बर्बरिकको शिर भेदन भइरहेको छ । बर्बरिक बनेको मुलुकको हतभागी मुहार दीनहीन भएको छ यी छली व्यापारी बनेका पार्टीहरुको कारण र विदेशमा भारी भोक्न बाध्य छन् बर्बरिकका सन्तान दरसन्तानहरु । यी छली व्यापारिक पार्टीहरुले ती हतभागी बर्बरिककोे पीडा, पसिना र परिश्रमलाई कहिल्यै बुझ्न सकेनन् ।

अर्कोतर्फ लोकतन्त्रका लागि जीवन उत्सर्जन गरेका हतभागी बर्बरिक बुद्धिजीवी वर्ग रहेका छन् जसको बिचार र भावनासँग यी ठग व्यापारिक पार्टीहरुले छल गरेका छन् । यी ठगहरुले तमाम प्रतिभाशालीहरुलाई बर्बरिकको बाध्यतामा बाँच्न विवश बनाएका छन् ।

प्रतिक्रिया