बुधबार, असार १८, २०८२

प्रधानमन्त्रीज्यू, तराई–मधेशमा कठ्याङग्रिएर कसैको ज्यान गएको छैन

नेपालखोज २०७७ माघ ७ गते ७:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष अघि तराई–मधेशमा शीतलहरका कारण कठ्यांग्रिएर कोही नागरिक मर्नु नपर्ने बताएका थिए ।

९७औं पृथ्वी जयन्तीको अवसर पारेर दुई वर्षअघि ०७५ पुस २६ गते प्रधानमन्त्री ओलीले भनेका थिए–‘अब एउटा कम्बल ओढ्न नपाएर तराईमा शीतलहरका कारण तड्पिएर कोही नागरिक मर्दैन, सरकार छ यहाँ ।’

त्यसको एक वर्षपछि पुनः प्रधानमन्त्री ओलीले सोही करा संसद् भवनमा दोहोर्‍याएका थिए । ०७६ फागुन ३ गते संसद् भवनमै प्रधानमन्त्री ओलीले पछिल्लो दुई वर्षमा कोही नागरिक जाडोले कठ्यांग्रिएर मर्नु नपरेको दाबी नै गरे ।

सरकारका उपलब्धि बताउने क्रममा उनले तराई–मधेशमा जाडो तथा शीतलहरका कारण कोही पनि मृत्युको मुखमा नपुगेको जिकिर गरेका थिए ।

‘शीतलहरले वर्षेनी दर्जनौं मानिस मर्थे, तर दुई वर्षमा जाडो र शीतलहरबाट कोही मरेका छैनन् । यो अनुभूति हो,’ उनले भनेका थिए ।

जब कि ०७६ पुस ११ मा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ घर भएकी ४८ वर्षीया अनितादेवी कापडको चिसोका कारण मृत्यु भइसकेको थियो । त्यस्तै, आगो ताप्ने क्रममा ९ जना गम्भीर घाइते भएका थिए । त्यसयता पनि तराई–मधेशका आमनागरिकको चिसोका कारण ज्यान गुमाउने क्रम भने रोकिएको छैन ।

पहिलो कार्यकालमा राष्ट्रियतासँगै समृद्धिको नारा दिएर लोकप्रियताको शिखरमा पुगेका प्रधानमन्त्री ओलीको नजरमा भने जाडोले कठ्यांग्रिएर तराई–मधेशमा कोही पनि मर्नुपरेको छैन ।

त्यसोत पछिल्लो समय तराई–मधेशमा एक्कासी बढ्दै गएको हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । तीन–चार दिनदेखि एक्कासी वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहर बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो ।

तीन–चार दिनदेखि तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले मानव जीवनसँगै गाईगोरु, खसीबाख्रा, भैँसी जस्ता घरपालुवा जनावरलाई पनि थप असर परेका कारण कष्टकर देखिएको छ । तराईवासीले केही दिनदेखि घाम नउदाउँदा सूर्यका किरण देख्न समेत पाएका छैनन् । सध्याकालदेखि बिहान ९–१० बजेसम्म बाक्लो कुहिरो लाग्ने गरेको छ ।

पछिल्लो डेढ सातामा मात्रै सिराहामा चिसोले कठ्यांग्रिएर चार जनाको मृत्यु भइसकेको छ । चिसो बढ्ने क्रम बल्ल शुरु भएकाले यस वर्षको मानवीय क्षति अझ धेरै हुने अनुमान गरिएको छ । चिसोबाट जोगिन घुर ताप्ने क्रममा पनि पाँचजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका– ५ जिझौलका २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका– ११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका– ३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र वडा नम्बर १ का नाम खुल्न नसकेका ५० वर्षीय पुरुष रहेका छन् ।

सिराहाको भगवानपुर गाउँपालिका–१ देवनाथका उदयकुमार यादव, कविताकुमारी यादव, सिर्जनाकुमारी यादव र अनुष्का यादव तथा सुखीपुर नगरपालिका– ५ की पिंकी मण्डल घुर ताप्ने क्रममा आगोबाट जलेर घाइते भएको जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले चिसो तथा शीतलहरका कारण कठ्यांग्रिने क्रम शुरु भएकाले नागरिकलाई जोगाउन स्थानीय तहहरूले सचेतनामा जोड दिनुपर्ने बताए ।

यता बाजुरा सदरमुकाम मार्तडीमा पनि चिसोले कठ्यांग्रिएर ३७ वर्षीय लालबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरको भुइँतलामा सुतेका विक मृत अवस्थामा फेला परेका थिए । चिसोका कारण उनको मृत्यु भएको प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए ।

त्यस्तै शीतलहरले जनजीवन प्रभावित भएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले दाउरा वितरण गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिशङ्कर आचार्यको नेतृत्वमा गजेन्द्रनारायण सिंह अस्पताल, गजेन्द्र चोक, अदालत अगाडि, रुपनी मोड र खानेपानी चोकमा सुकेका दाउरा बाल्न व्यवस्था मिलाएको सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले जानकारी दिए ।

दाउराको व्यवस्था गरिएकाले शीतलहरबाट बच्न सदरमुकाम आउने मानिसलाई समेत केही राहत हुने स्थानीय प्रशासनको भनाइ छ ।

प्रतिक्रिया