शनिबार, वैशाख १५, २०८१

वैदिक, पौराणिक काल र वर्तमानमा नारीको स्थानको तुलना

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ ८ गते ७:४०

वैदिक समाज र पौराणिक समाज एवं प्राचीन लौकिक समाजमा नारीको स्थान उद्घाटनका निम्ति वेद, ब्राह्मण, उपनिषद्, रामायण, पुराण, महाभारत, श्रीमद्भगवद् गीता र दुर्गा सप्तशती तथा संस्कृत साहित्यका विभिन्न ग्रन्थहरुको सुक्ष्मतर अध्ययन गर्नु आवश्यक हुन्छ । हिन्दु धर्ममा लक्ष्मीलाई धनकी देवी, सरस्वतीलाई विद्या र कालीलाई तागतको प्रतिकको रुपमा पुराणहरुमा व्याख्या गरिएको पाइन्छ । मस्त्यपुराणमा लगभग दुई सय देवीहरूको वर्णन पाइन्छ । वैदिक कालमा राज्यका शासक नै नारीहरु रहन्थे । पौराणिक नारी पात्रहरु गार्गी, माधवी, मौलवी, हिडिम्बा, राधा, सत्यवती, द्रौपदी आदि पात्रहरु विदुषी थिए । राज्य सञ्चालनमा यी नारीहरुको सल्लाह एवं सुझाव महत्वपूर्ण रहेको थियो, तर त्यसलाई त्यति महत्व दिएर वर्णन गरिएको छैन । यी तथ्यले वैदिक, पौराणिक कालमा नारी शक्तिको स्थान आदरणीय रहेको बुझ्न कठीन छैन ।

यसको विपरित प्राचीन लौकिक पूर्वीय साहित्यमा भने नारीको स्थान त्यति आदरणीय एवं गौरवपूर्ण रहेको देखिँदैन । जस्तो कि कालिदासका नाटकहरुमा माता सीताले समेत प्राकृत भाषामा बोल्लछिन् भने अन्य सैनिक पुरुषले पनि संस्कृत भाषामा संवाद गर्छन् । यसले प्राचीन लौकिक साहित्यको लेखन क्रममा नारीहरु अशिक्षित रहेको तथ्यलाई देखाउँछ । एक सैनिक शिक्षित एवं राजमाता सीतालाई प्राकृत भाषामा बोल्न लगाएर लौकिक साहित्य सर्जकहरुले नारीहरुलाई तात्कालीन सामाजिक नजरले हेरेको कारण यसरी लेखेका हुन् ।

लौकिक साहित्य सिर्जना कालसम्ममा पूर्वमा नारीहरुले पठनपाठन गर्ने संस्कृति पूर्णरुपमा ध्वस्त भइसकेको थियो । त्यसरी नारीहरु पिछडिनुमा अनेक कारणहरु हुन सक्छन् । सम्पूर्ण भारत वर्षमा लगातार विदेशी आक्रमण भइरहनुले पुरुषहरु युद्धमा होमिनुपर्दा नारीहरु विदेशी आक्रान्ताहरुबाट हुने असुरक्षाको डरले बाहिर निस्कने वातावरण नबनेको हुन सक्छ । यस्तो द्वन्द्व लामो समयसम्म चलेको कुरा हामी इतिहासको अध्ययनबाट थाहा पाउछौ । सयौं वर्ष यसरी युद्ध हुँदा नारीहरु घरभित्र पिल्सनु पर्यो । सयौं वर्ष त्यसरी घर भित्र थुनिएका, घरभित्रका काममा अभ्यस्त नारीहरुलाई लामा युद्ध सकिएपछि पनि बाहिर निस्कने र चेतनशील हुने कामबाट पन्छाइयो । किनकी भविष्यमा पनि युद्धका संघर्षहरु हुन सक्ने खतराहरु टरिसकेको नहुन सक्छ । घरभित्रका काम नारीहरुले समालिदिने कारण पुरुषलाई स्वतः बाहिरको कामहरुमा ध्यान दिन प्रशस्त समय मिल्न जान्छ र पुरुषवर्ग र नारीवर्गको एक किसिमको अघोषित सम्झौता हुन जान्छ कि एउटाभित्र र अर्को बाहिर । यसरी नारी शिक्षाको अन्त्य हुन पुगेको हुन सक्ने अड्कलबाजी ऐतिहासिक पुस्तकहरुबाट मिलन जान्छ । त्यसैले प्राचीन लोकिककालमा थोरै सम्भ्रान्त परिवारका नारीहरु मात्र शिक्षित रहेका थिए । राजाका छोरीहरुलाई भने युद्धकला र उचित शिक्षा दिएको कुरा विभिन्न ऐतिहासिक नारी पात्रहरुबाट हामी बुझ्न सक्छौं ।

वैदिक कालीनमा नारीहरु आफूले इच्छा गरेको पुरुषबाट सन्तान उत्पादन गर्न समेत स्वतन्त्र थिए । त्यो शासनमा बच्चाको अभिभावक र अधिकार नारीको नै हुन्थ्यो । वीर्यदान भन्ने शब्दले सन्तानको इच्छा गरेकी नारीलाई पुरुषले नारीको इच्छामुताविक वीर्यको दान दिनुलाई बुझाउँछ । सबै अधिकार पुरुषको हुने भए वीर्यदान शब्द र त्यसको अभिलक्षणा के त ? मातृत्वको पवित्र वात्सल्यबाट सञ्चालित हुनुको कारण त्यो वैदिक नारी सत्तामा पुरुषहरु शोषित थिएनन् । त्यसमा मातृत्व र ममताको बेजोड मिलन थियो ।

आक्रान्ताहरुबाट भारत वर्षमा आक्रमणहरु हुनुअघि पनि नारीहरुको चेतना र राजनैतिक सुझबुझ प्रशंसनीय नै थियो । उनको स्वतन्त्रताहरु माथि पुरुषले हस्तक्षेप गरेका थिएनन् । उदाहरणका लागि पौराणिक पात्र सत्यवतीलाई लिन सकिन्छ । सत्यवतीले आ–आफ्नो जीवनकालमा पाँच वटा राजाहरुको राजमाताको भूमिका निभाइन् । गङ्गापुत्र भिष्म जस्ता योग्य व्यक्ति सत्यवतीको निर्देशनमा चल्दथे । सत्यवतीमा राजनैतिक सुझबुझ भएकाले नै गङ्गापुत्र राज्यको संरक्षकको भूमिकामा समेटिएका हुन् । नारी स्वतन्त्रता थिएन भने अलग अलग पुरुषबाट कुन्तीले जन्माएका बच्चाहरुलाई एउटा राज्यले स्वीकार गथ्र्यो होला त ? यी गम्भीर प्रश्नहरुतर्फ थोरै मानिसहरुले मात्र ध्यान दिएका छन् । यदि आजको चेतना जस्तो चेतना महाभारतकाल मै पनि हुन्थ्यो भने कुन्तीले बाँच्ने अधिकार सायदै पाउँदथिन् । पौराणिक साहित्यलाई सामान्य आँखाले हेर्ने हो भने यी तर्कहरुलाई पन्छाउन मिल्दैन ।

महाभारत युद्धपछि भारतवर्षको इतिहास अर्कै मोडमा पुगेको देखिन्छ । सयौं वर्षको तमाम आक्रान्ताहरुको जर्जर आक्रमणपछि लेखिएका संस्कृत भाषाका पुस्तकहरुमा नारीलाई अवहेलना गर्ने काम भएको शुरु भएको हो । समाजमा नारी जुन रुपमा देखिन्थे त्यहीअनुसारको पौराणिक साहित्यमा पनि लेखिएको हुनसक्छ । मध्यकालमा श्रुतिपरम्परामा जीवित वेद र पुराणहरुमा पनि तात्कालीन समाजको रुप अनुसार वैदिक र पौराणिक कालका सचेत नारीहरुलाई होच्याउने कतिपय शब्द श्लोकहरुलाई तोड्ने, मोड्ने र थप्ने काम भयो । जसले गर्दा पौराणिक एवं वैदिक साहित्य तथा मान्यताहरुलाई कतिपयले हेय भावले हेर्ने गर्दछन् । यो सत्यलाई हामीले बिर्सनु हुँदैन ।

विगत २० वर्षदेखि संयुक्त राष्ट्रसंघले महिला सशक्तीकरणलाई राम्रो राजनैतिक मुद्दा बनाएको छ । नारी सशक्तीकरणको लागि अघि सारिएको यो मुद्दा निकै राम्रो छ । पश्चिमा मुलुकहरुमा नारीहरुको शिक्षा र चेतनाको स्तर एसियाका महिलाको तुलनामा निकै राम्रो छ । यस्तोमा राष्ट्रसंघले नारी सशक्तीकरणको मुद्दा उठाउनु पश्चिमा मुलुकको फाइदाको लागि हो तैपनि त्यसले हाम्रो जस्तो मुलुकलाई पनि फाइदा पुगेको छैन भन्नुचाँहि मुर्खता हुनेछ । एसियाली मुलुकका पुरुषहरुमा पश्चिमा मुलुकका मानिसहरुमा जस्तै राजनैतिक सुझबुझमा कमी छैन । संयुक्त राष्ट्रसंघले यो तथ्यलाई नबुझ्ने कुरा रहेन । यस्तोमा राष्ट्रसंघले गर्ने निर्णयमा एसियाली पुरुष सदस्यहरुले मुद्दाहरुलाई प्रभावित बनाइदिन सक्ने र पश्चिमको डिजाइन असफल हुन सक्ने कारण महिला सदस्य राख्नुपर्ने अनिवार्यताले पश्चिमी मुलुकका सदस्यहरु बढ्न जाने भए । त्यसमा पश्चिमको जितको स्वार्थ छ । खैर मध्यकालदेखि प्रताडित एसियाली नारी जगतले राष्ट्रसंघको यो मुद्दाले शिक्षित र सचेत हुने अधिकारबाट बञ्चित हुनुपरेको छैन । नारीहरुको चेतनाको स्तर वैदिक कालको जस्तो उज्यालो रहोस् भन्नेमा हामी सबैको सदासय रहनुपर्दछ ।

प्रतिक्रिया