शुक्रबार, वैशाख १४, २०८१

एनसेलको ठगी प्रकरण : अर्बौं बढी आम्दानी

नेपालखोज २०७७ माघ ९ गते १४:११

काठमाडौं । एनसेल प्रालि नेपाल दूरसञ्चार प्राधिकरणको अनुसन्धानमा दोषी ठहर भएको नेपालखाेजलाइ जानकारी प्राप्त भएकाे छ । सेवाग्राहीलाई ठगी गरेको आरोपमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि नेपाल दूरसञ्चारले गरेको अनुसन्धानमा एनसेल दोषी ठहर भएको जनाइएकाे छ ।

दूरसञ्चार ऐन २०५३ को दफा १७ (२) बमोजिम प्राधिकरणले निरीक्षण तथा जाँचबुझ गर्न टोली गठन गरेको थियो । टोलीले अनुसन्धानपछि तयार पारेको प्रतिवेदनमा दोषी देखिएको एनसेललाई गत भदौ १९ गते दूरसञ्चार प्राधिकरणले स्पष्टिकरण सोधेको थियो ।

गत असोज २१ गते नेपाल दूरसञ्चार प्राधिकरणको टोलिले प्रतिवेदनको जाँचबुझ गरेको थियो । जाँचबुझ गरी गत पुस २९ गते टोलीले प्रतिवेदन सार्वजनिक गरेको छ ।

के हो एनसेलको ठगी ?
नेपाल दूरसञ्चार प्राधिकरणबाट गठित निरीक्षण तथा जाँचबुझ टोलिका अनुसार एनसेल प्रालिले हुवावे एप ग्यालरी नामको मोवाइल एपमार्फत् विभिन्न शब्दावली प्रयोग गरि सेवाग्राहीलाई झुक्याएको पाइएको छ । यसमा प्रयोग भएको प्याकेजको दररेट सम्बन्धी जानकारी अत्यन्त नदेखिने तवरले राखेको पाईएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी एकपटक प्रयोग गरी सकेपछि पुनः ग्राहकसँग सेवा लिँदा पुनः सञ्चालनको सम्झौता गर्नुपर्ने भएपनि ग्राहकले सेवा बन्द नगरेसम्म एनसेलले सेवा स्वतः नवीकरण गरेको पाईएको छ । यसमा एनसेल प्रतिनिधिहरुसँग स्पष्टिकरण लिँदा स्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालखोजलाई प्राप्त जानकारी अनुसार एनसेलले मूल्य थपिएको सेवा (भिएएस)का विभिन्न प्याकहरुका लागि प्रधिकरणबाट महशुल दररेटको स्वीकृति प्राप्त नगरी २०७५ भदौ १ (१७ जुन २०१८) देखि नै सेवाको प्रचारप्रसार तथा सञ्चालन गरी सेवाग्राहीबाट शुल्क लिएको थियो । दूरसञ्चार प्राधिकरणले ०७५ असोज १४ गते नै थप सेवा स्वतः नवीकरण बन्द गर्न असोज १५ गतेसम्मको समयसीमा दिए पनि एनसेलले बेवास्ता गरी सञ्चालन गरिरहेको प्राधिकरणको प्रतिवेदमा उल्लेख छ । यो सेवा बन्द गर्न ग्राहकले १७१४२ मा एस.एम.एस पठाएको एनसेलले प्राप्त गर्दा समेत सेवा बन्द नभई रकम निरन्तर रुपमा काटिने गरेको थियो । सो सम्बन्धमा प्राधिकरणको प्रश्नमा लिंक डाउन भएर कहिलेकाहीँ समस्या आउन सक्ने भन्ने उत्तरदायित्वहीन जवाफ एनसेलका पदाधिकारीले दिएका थिए ।

प्राधिकरणले थप सेवा स्वतः नवीकरण बन्द गर्न दिएको निर्देशन विपरित विभिन्न प्याकहरु सेवाग्राहीको स्वीकृत बेगर नवीकरण गर्दा एनसेलले कर छुटसहित १२ करोड १ लाख २७ हजार ३२४ रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, प्राधिकरणको निर्देशन विपरित एप ग्यालरीका विभिन्न प्याकहरु स्वतः नवीकरण हुने गरी सञ्चालन गरी सेवाग्राहीको स्वीकृत बेगर स्वतः नवीकरण गर्दा कर बाहेक १ अर्ब २ करोड २ लाख ९९ हजार १५६ रुपैयाँ आम्दानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्राधिकरणकाे निरीक्षण तथा जाँचबुझ टोलिले दूरसञ्चार ऐन, २०५३ को दफा १ र २ बमोजिम कारवाही गर्नुपर्ने बताएको छ ।

के छ दफा १ र २ मा ?
(१) कुनै व्यक्तिले यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियमको उल्लङ्घन गरेमा वा प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो कसूरबाट कसैको हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानीको बिगो वा सो वापत क्षतिपूर्ति समेत भराई दिन सक्नेछ ।

(२) कुनै व्यक्तिले यस ऐन बमोजिम अनुमतिपत्र नलिई वा अनुमतिपत्रमा उल्लेखित शर्तहरुको पालना नगरी दूरसञ्चार सेवा सञ्चालन गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना गरी त्यस्तो काम बन्द समेत गराउन सक्नेछ ।

प्रतिक्रिया