बुधबार, वैशाख १९, २०८१

लम्पसारवादी प्रचण्डले वकालत गरेको लोकतन्त्र

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ माघ १० गते ८:४५

जनयुद्ध लडेर सार्वजनिक भएका प्रचण्डलाई मन पराउने र उनीबाट देशको भविष्य फेरिने आकांक्षा बहुसंख्यक नेपालीले राखेका थिए । प्रचण्डको जनयुद्धपछि मुखमण्डल अनावरण हुँदै गर्दा नेपालीले देश अब बन्छ भन्ने आशा र भरोसा राखेका थिए । गाउँगाउँमा प्रचण्डको कसैले निन्दो चर्चो गर्यो भने उसको नाक भाँचिन सक्थ्यो । त्यतिबेला नेपालीले उनलाई माया गरेको कारण नै त्यस्तो भएको हो । जनसामान्यले मात्र होइन, उनीप्रति बौद्धिकवर्गले पनि सद्भाव देखाएका थिए । त्यसैको जगमा माओवादी पार्टी ६४ सालको चुनावमा देशकै ठूलो पार्टी बन्न गएको हो ।

वर्षौंदेखि कांग्रेस र एमालेलाई छाती खोलेर चुनावमा भोट हालेकाहरुले पनि त्यो चुनावमा सट्याकसुटुक माओवादीलाई भोट दिएका थिए । त्यसबेलाको प्रचण्डको तेज फ्रान्सेली राज्य क्रान्तिका नायक नेपोलियनको भन्दा कम थिएन, तर निरन्तरको स्वेच्छाचार, परिवारवाद, पलायनवाद र लम्पसारवादले आज प्रचण्ड नुन खाएको कुखुरा जस्तो ओइलाएका छन् । उनमा न त्यसबेलाको तेज छ न त उनीप्रति जनताको उतिबेलाको विश्वास नै छ । सिद्धान्तबाट पनि पतित जनताबाट पनि पतित चरित्र भएका प्रचण्डलाई आफैंप्रति कति घृणा लाग्दो हो त्यो उनैलाई थाहा होला । उनी सिद्धान्त र जनताबाट मात्र पतित भएनन् अपितु उनी त नैतिकरुपमा समेत पतित भएका छन् । जनता उतिबेला उनलाई हेर्न र सुन्न आतुर रहन्थे तर आज तिनै प्रचण्डलाई कोहि सुन्न चाँहदैन । उनी माइतीघरमा म यहाँ छुं भनेर प्रदर्शन गर्ने अवस्थामा पुगेका छन् । वस्तुतः उनी कहाँ छन् सबैलाई थाहा छ । तिनको यो पतन जनताले गराएका होइनन् उनी स्वयंले जनताप्रति गरेको गद्दारीको परिणाम हो ।

०६४ सालमा संविधानसभाको निर्वाचनमा ६०१ स्थानमध्ये माओवादीले प्रत्यक्ष र समानुपातिक गरी २२९ स्थान प्राप्त गरेको थियो । त्यो जनताले माओवादीको लुटपाटबाट आजित भएर दिएको अभिमत मात्र थिएन, प्रचण्डप्रतिको विश्वास र भरोसाको अभिमत थियो । संविधानसभाको पहिलो बैठकले लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्यो र ०६५ साल साउनमा संविधानसभाको बहुमतले प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री चुन्यो । प्रचण्ड प्रधानमन्त्री भएपछि कर्मचारी वृत्त सशंकित, काला व्यापारीहरुको भागाभाग, मेनपावरहरुले अफिसमा पासपोर्टहरु लुकाउने, प्रहरी प्रशासनका खराब आचरण भएका सबै त्रस्त थिए । अब देशमा प्रचण्डले कहाँकहाँ छापा हान्ने हुन् र को–को खोरमा जाकिने हुन् भन्ने भयले त्राहिमाम् मच्चाइरहेको बेला प्रचण्डले तिनै खराब आचरणका मानिसहरुलाई काँखमा च्यापेर जुँगामा ताउ दिए । यसो गरेर प्रचण्डले तमाम देशकोे हित चाहनेहरुलाई निराश बनाए । अनैतिक र भ्रष्टहरुसँगको निरन्तर उठबसले उनी देशका प्रतिष्ठित व्यापारीहरुभन्दा धनी भए । जनताका चाहना र विश्वासलाई खिसी गरेर उनले चाटुकारहरुलाई भ्रष्ट हुन प्रेरित गरे ।

०६८ को चुनावमा कालाबजारीहरुको साथ पाएका प्रचण्डको पार्टी यति धनी भयो कि उनी हेलिकप्टरबाट पर्चा फाल्न सक्ने, हेलिकप्टरबाट भोट माग्ने हैसियतको भइसकेका थिए । वर्गसङ्घर्षको कुरा गर्ने एउटा कम्युनिष्टको यस्तो वैचारिक र नैतिक पतन सायद् विश्वकै आठौं आश्चर्य हुनपुग्यो । भात खानको लागि विदेशीको भरिया बन्नु पर्ने मजदुरवर्गका पार्टीका नेता मानिएका उनको यो लान्छनीय पाटोको जति निन्दा गरे पनि कम हुन्छ ।

जनयुद्धमा होमिएका तमाम मजदुर र गरिबहरुका दुःख उनले आत्मसात् गरेनन् । जनयुद्ध नै पनि के का लागि थियो भनेर प्रश्न गर्यो भने आज हामी त्यसको न्यायोचित उत्तर पाउँदैनौं । हाल प्रचण्डलाई साथ दिने भनेका उनका परिवारका सदस्य मात्र छन् । आज प्रचण्डलगायत प्रचण्डपक्षका पूर्व माओवादीहरु सबै कमाउ धन्दामा लागेर करोडौं अरबौं सम्पत्तिका मालिक भएका छन् । परिवारका सदस्यहरु सबैलाई लाभको पदमा राखेर देश लुट्न लागिपरे, उनी । लुटेराका संरक्षक बनेका प्रचण्डले लोकतन्त्रको महिमागान गर्दा दुनियाँले लाज मान्नु अनौठो होइन ।

माओवादी पार्टीबाट बाहिरिएका बाबुराम एमालेसँग पार्टी एकता गर्न आतुर थिए । बाबुराम एमालेमा गएमा त्यहाँ उनी हिरो हुन सक्ने अनुमान गरेका प्रचण्डले ओलीसँग रातारात बाबुराम नभित्रिने हो भने म एकता गर्न तयार छु भनी भरोसा दिलाए । बाबुरामलाई एकाएक ओलीले प्रचण्डको भरोसामा धोका दिए । पार्टी एकता गरेर प्रचण्ड बयलगाडाको मतियार बन्न तयार भए । अहिले उनलाई बयलगाडाले धोका दिनु पनि अनौठो मान्नु पर्दैन । बयलगाडाको धोकापछि माइतीघर रुँग्न विवश छन्, उनी ।

प्रचण्ड बस्तुतः एक उपभोगवादी निर्लज्ज व्यक्तित्व हुन् । यसमा उनी अभ्यस्त एवं निर्लिप्त हुन फिटिक्कै लाज मान्दैनन् । जे गर्दा सत्ता सुख उपभोग गर्न पाइन्छ, त्यो बाहेक उनले दायाँबायाँ हेर्दैनन् । हिजो उनलाई सत्ता सुखको लागि बयलगाडामा यात्रा गर्न लाज लागेन । गणतन्त्र नेपालको प्रधानमन्त्री हुँदा पनि उनी हतियार उठाउने धम्की दिन पछि परेनन् । यी निर्लज्ज नेताबाट नेपालले अब के अशा राख्नुपर्ने हो ?

गद्दारी र आत्मसमर्पणको अन्तिम अभिव्यक्तिलाई नै लम्पसारवाद भनेर बुझ्नु पर्दछ । वैचारिक रुपमा बिचलनवाद, राजनीतिक रुपमा वर्गीय हितको असुरक्षा, राष्ट्रिय आत्मसमर्पणवाद, दार्शनिक रुपमा भक्तिवाद र सांस्कृतिक रुपमा चाकडीवाद केन्द्रीकृत भई अन्तत्वगत्वा लम्पसारवादको उदय हुने हो । त्यो प्रचण्डको निरन्तरका क्रियाकलापले देखाइसकेका छन् । अन्य अर्थमा सम्पूर्ण ध्येय, उद्देश्य, निष्ठा, आदर्श र मूल्यप्रतिको प्रतिवद्धतामाथि विश्वासघात र गद्दारी गर्दै दुश्मनको बफादार नोकरमा परिणत हुनु र आफ्नो पहिचानसमेत दुश्मनको सेवामा समर्पित गर्नु लम्पसारवाद हो । त्यसकारण लम्पसारवादीहरुको स्वतन्त्र अस्तित्व हुनै सक्दैन । ऊ त प्रभुको बफादार चाकडीबाझ हुन्छ । मालिकको भक्तिमा उसले लज्जा र आत्मसम्मान बेच्छ । सिद्धान्तमा डुङ्ग गन्हाउने अपानवायु छाड्नु उसको मानौं जन्मसिद्ध अधिकार हो । लम्पसारवादीको कुनै देश हुँदैन । उसको लागि सबै चिज पैसा हो ।

प्रचण्डले आफ्नै सिद्धान्तहरुमा दुर्गन्धित छाद छादेका छन् । पूर्णरुपमा सिद्धान्तको तिलाञ्जली दिँदै उनी परिवारवाद र दुश्मनको सेवामा समर्पित एउटा नोकरमा सीमित हुनुले उनलाई लम्पसारवादी व्यक्तित्वको रुपमा चित्रण गर्दा कुनै आपत्ति मान्नुपर्दैन । अब प्रश्न उठ्छ लम्पसारवादी प्रचण्डले वकालत गरेको लोकतन्त्र कुन हो ?

प्रतिक्रिया