बिहीबार, वैशाख १३, २०८१

खुकुरी देखाउँदै विप्लव समूहका कार्यकर्ताद्वारा यात्रुबाहक बस तोडफोड

नेपालखोज २०७७ माघ १० गते १४:२३

झापा । जिल्लामा घरेलु हतियारसहित आएका नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले यात्रुबाहक बसमा तोडफोड गरेका छन् ।

खुकुरीसहित आएका विप्लव समूहले धरात जाँदै गरेको बा४ख८८९७ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित किराँत चोकमा रोकेर तोडफोड गरेका हुन् ।

उनीहरूले बस रोकेर तोडफोड गर्नुका साथै बसको सिट समेत काटेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको तोडफोडबाट बसको अगाडिको भागको सिसा समेत फुटेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

मट्टितेल छर्केर उक्त बसलाई आगजनीको प्रयास समेत गरेका थिए । तर, बसमा रहेका यात्रुहरु चिच्याएका कारण आगजानीबाट जोगिएको प्रहरीले जनाएको छ ।

विप्लव समूहले आह्वान गरेको बन्दका बाबजुद झापामा सार्वजनिक यातायातका साधन बिहानैदेखि सञ्चालनमा आएका थिए । समूहमा आएका युवाले बन्दका दिन बस चलाएर किन उल्लंघन गरेको भन्दै बसको सिसा फुटाइदिएको यातायात मजदुरको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

यता घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तर, पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार र्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिबार सो समूहले आज (शनिबार) नेपाल बन्दको घोषणा गरेको छ।

प्रतिक्रिया