एमबिबिएस शुल्क ८ लाख बढाउन सिफारिस

नेपालखोज २०७७ माघ १० गते १६:३५

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबिबिएस शुल्क ८ लाख रुपैयाँ बढाउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । आयोगले शनिबार शैक्षिक सत्र ०७७–०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख बढाउनुपर्ने प्रस्ताव पेश गरेको हो ।

शनिबार पाचौं बैठकमा सिफारिस समितिले शुल्क बढाउने प्रस्ताव राखेको हो । शिक्षा मन्त्रालयका अनुसार आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको छ ।

समितिले बिडिएस, एमडिएमएस, एमडिएस साइन्स,एमडी आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको छ ।

त्यस्तै बिडिएसमा करिब एक लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ । एमडिएमएस क्लिनिकल र एमडिएस क्लिनिकलमा यथावत् राख्न सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

यता शुल्कको विषयमा विश्लेषण गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यदल बनाउने निर्णय भएको छ ।

कार्यदलमा सहअध्यक्ष एवम् स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य(शिक्षा) डा. उषा झा, आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेल रहनेछन् । सो समितिले सिफारिस गरेको आधारमा शुल्क निर्धारण हुनेछ ।

प्रतिक्रिया